सबैले झिल्के ठान्ने उमेर सोह्र

सबैले झिल्के ठान्ने उमेर सोह्र

शायद सोह्र वर्षदेखि जवानी शुरु हुने भएर होला, बुढेशकाल लागेकाहरुले आफ्नो जवानी सम्झन पर्दा यही वर्ष दिमागमा ल्याउँछन् । सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ, अहिले पो बुढो भइयो त भनेका होइनन् । मलाई भने यो जोवन एक वर्षअगाडि नै आएजस्तो भयो । एसएलसीको परीक्षा दिन फाराम भर्दा सोह्र वर्ष पुग्नुपर्ने, पन्ध्र वर्षमै तयार भइयो । त्यहीअनुसार नागरिकता पनि बनाइयो । परीक्षाफल आएर कलेज पुग्दा बल्ल सोह्र टेकियो । 

संसारका धेरै देशमा १६ वर्षलाई धेरै क्षेत्रमा स्वतन्त्र हुने उमेर मानिन्छ । कानुनी उमेरको शुरुवात पनि यही वर्षबाट हुने गर्दछ । मानव जीवनमा १६ वर्षको उमेरलाई विविध कारणले महत्वपूर्ण मानिन्छ । 

बेलायतमा १३ वर्ष पुगेपछि बालबालिकाले सीमित प्रकारका काम शुरु गर्न सक्छन् तर पूर्ण शिक्षामा कुनै दखल नपर्ने गरी । प्रायःजसो बालबालिकाले बिहान–बेलुकी पत्रिका वितरण गर्ने यहाँको जीवनशैली नै हो । तर, अहिले छापा पत्रिका पढ्नेहरुको संख्या अति  न्यून भएकाले यो काममा ह्रास आएको छ । यसबाहेक बालबच्चा कुर्ने, घरपालुवा जनावर रेखदेख गर्ने तथा बुबाआमाले सञ्चालन गरेको व्यवसायमा सहयोग गर्ने पनि हुन सक्छ ।

यिनले विद्यालय खुलेको बेला हप्तामा १२ घण्टा र छुट्टीमा ३५ घण्टासम्म मात्र काम गर्न सक्छन् । १६ वर्ष पुगेपछि बल्ल काम गर्नका लागि अनिवार्य राष्ट्रिय बिमा नम्बर (नेशनल इन्स्योरेन्स नम्बर) प्राप्त हुने गर्छ । यही नम्बरका आधारमा जीवनभर काम गरुञ्जेल कर तिर्ने तथा अवकाशपछि पेन्सन पाउने वा सबै प्रकारका सुविधाहरु प्राप्त हुने गर्दछ ।

यहाँ नागरिकता भनेर छुट्टै प्रमाणपत्र नपाइने भएका कारण जन्मनासाथ पासपोर्ट लिन पाइन्छ । १६ वर्ष लागेसँगै यहाँको अनिवार्य शिक्षा जिसिएससी (जनरल सर्टिफिकेट अफ सेकेण्डरी एजुकेशन) पनि समाप्त हुन्छ । त्यसपछि थप पढाइ गर्न कलेज खोज्ने वा कामसँगै पढाइ गर्ने स्वतन्त्रताको कुरा हो । विवाह गर्न भने १८ वर्ष पुग्नैपर्छ । 

स्कटल्याण्डकाले १६ वर्ष पुगेपछि विवाह गर्न सक्छन् । उत्तरी आयरल्याण्डमा पनि १६ वर्ष पुगेपछि विवाह गर्न छुट छ । इंग्ल्याण्ड र वेल्समा पनि यो कानुन थियो तर सन् २०२२ को फेबु्रअरी २७ देखि १८ वर्ष नपुगेसम्म बाबुआमाको स्वीकृति लिएर पनि विवाह गर्न नपाइने बनाइएको छ । पहिला धनीमानीले नाबालिकासँग पनि विवाह गर्ने चलन थियो । सन् १९२९ बाट बल्ल १६ वर्षको कानुन बनाइएको हो । 

बच्चा जन्मनेबित्तिकै पासपोर्ट प्राप्त गर्न सकिने भए पनि यहाँका झण्डै २० प्रतिशत मानिससँग पासपोर्ट छैन । त्यसो त झण्डै चार जनामध्ये एक जना बेलायती लण्डनसम्म पनि पुगेका छैनन् भन्ने तथ्यांक पनि छ । दैनिक जीवनयापनमा रमाउने र स्थानीय रुपमा मात्र घुमफिर गर्ने भएकाले चारै राज्यका नागरिकहरु अर्को राज्यसम्म पनि नपुगेका उदाहरण छन् ।

आफ्नो नाम मन परेन भने १६ वर्ष उमेर पुगेपछि बाबुआमाको स्वीकृतिबिना पनि नाम फेर्न पाइन्छ । करिब ९० हजार मानिसले यहाँ वार्षिक रुपमा नाम परिवर्तन फेर्ने गरेको पाइन्छ । निर्वाचनमा मत हाल्नुपर्ने बाध्यात्मक कानुन नभएकाले भोटरको संख्या कम हुँदै गएको छ । 

अधिकार पाएजस्तै यो उमेरमा कानुनी दायित्व पनि बोक्नुपर्ने हुन्छ । जघन्य अपराधमा संलग्न हुँदा जेल बस्नुपर्ने हुन सक्छ तर उनीहरुका लागि छुट्टै कारावास हुन्छ । अन्य वयस्क कैदीसँग सम्पर्क राख्न दिइन्न । अहिले बेलायतमा करिब ६ सय जना १६ वर्षका किशोरकिशोरी नियन्त्रणमा छन् । 

यो उमेरमा बच्चाहरुले लिने सबैभन्दा ठूलो दबाब नै शिक्षाको हो । दश बाह्र वर्षससम्म सँगै पढेका साथीहरु विश्वविद्यालय जाने उमेरमा छुट्टिनुपर्ने तथा नयाँ स्थान र परिवेशमा पुनः नयाँ साथी कस्ता हुने हुन् भन्ने सोच पनि यही उमेरमा आउने भएकाले थप असहज हुने नै भयो ।

सानातिना विषयहरुले त खासै ठूलो असर नपार्ला तर ठूला गल्ती बारम्बार गर्ने अनि पाठ सिक्ने भन्दा धेरै ढिला भइसकेको हुनेछ । त्यसैले अब उमेर पुग्यो, सबै आफूले नै गर्नुपर्छ भन्नु र ठान्नु दुवै सही होइन ।
 

टिप्पणीहरू