त्यसोभए चुनाव लड्न किन धुकचुक ?
608 shares

काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनमा एक जना पत्रकारसहित दुई जनाको ज्यान गयो । ज्यान गुमाउनेहरुमा पत्रकार सुरेश रजक र कीर्तिपुरका स्थानीय सविन महर्जन हन् । आक्रमणकारीको निशानामा परेका अर्का पत्रकार दिनेश गौतमको गोडा भाँचिएको छ भने केही सञ्चारगृहमा तोडफोड गरिएको छ ।
लुटपाट, आगलागी र तोडफोड रोक्न तैनाथ सुक्षाकर्मीहरु पनि घाइते भए । राजावादीहरु गैरराजनीतिक तथा अमानवीय तरिकाले ढुंगामुढा र लुटपाटमा उत्रिएपछि प्रहरीले संयमतापूर्वक गोली चलाउनु परेको बताइन्छ । त्यसपछि तितरबितर भएका प्रदर्शनकारीहरुले व्यक्तिको निजी सम्पत्ति तोडफोड तथा आगजनी गरेका थिए । विभिन्न समूहले नेकपा समाजवादीको पार्टी कार्यालयमा आगजनी, कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगो झोसिदिए । यसको चौतर्फी विरोध भइरहेको छ तर अर्बौैंको सम्पत्ति क्षणभरमा खरानी भइसकेको छ ।
त्यसपछि केही राजावादी नेताहरुलाई पक्राउ र केहीलाई नजरबन्दसमेत गरिएको छ । आन्दोलनलाई अझ उग्र बनाउन हौसला दिँदै हिँड्ने दुर्गा प्रसाईं भने प्रहरीको घेरा तोडेर भागेपछि हालसम्म फरार छन् । उनी भारत पुगेको आशंका छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह घटनाको मुख्य दोषी रहेकाले सम्पूर्ण जिम्मेवारी उनले लिनुपर्ने बताएका छन् । केही नेताले ज्ञानेन्द्रलाई राज्यले दिएको सुविधा खोस्नुपर्ने बताइरहेका छन् । यसबीचमा उनको पासपोर्ट खारेजी गर्नुपर्नेसम्मका कुराहरु आइरहेका छन् ।
राजावादीहरुको प्रदर्शनमा जोगी, सन्यासी, पूर्वपञ्च, पूर्वदरबारिया नातागोता, कमल थापा र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, हिन्दू धर्मका अनुयायीहरु, बेरोजगार तथा अराजनीतिक युवा, दलीय भागबण्डामा भाग नपाएका केही व्यक्ति, समूह, घरानिया र सरकारको कार्यशैलीप्रति रुष्ट व्यक्तिहरु थिए । उनीहरुको उपस्थिति गैरराजनीतिक, गैरजिम्मेवार, गुण्डागर्दी, तोडफोड र अराजक थियो । रामवणले लंका जलाए झैँ क्षणभरमा आगजनी गरेका थिए त्यो दिन ।
सरकारले राजावादीहरुको हिंसात्मक घटनामा ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्तिवापत जनही १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यद्यपी मारिएका व्यक्ति पुनः जीवित हुन सक्दैनन् तर पनि यो रकमले मृतकका आश्रित परिवारलाई केही राहतको अनुभूति भने पक्कै हुनेछ । यो नागरिकप्रति सरकारको जिम्मेवारीवोधको एउटा उदाहरण हो ।
यता आन्दोलनका मुख्य नाइके प्रसाईं भने सामाजिक सञ्जालमा विभिन्न भिडियोमार्फत् झुल्किएका छन् । उनलाई सरकारले नै भगाएको प्रतिपक्षी दलका केही नेताले आरोप लगाइरहेका छन् । प्रहरीको भीडबाट गाडी चलाउँदै आन्दोलनकारीहरुलाई हौस्याउँदै फरार भएपछि उनको खोजी तीव्र पारिएको प्रहरीको दाबी छ । प्रसाईंलाई आफूहरुले आन्दोलनको कुनै जिम्मेवारी नदिएको भन्दै ‘पानी माथिको ओभानो’ बन्न राप्रपालगायतका केही राजावादी नेताहरु तम्सिएका छन् । तर घटनाको जिम्मेवारी उनीहरुले लिएका छैनन् ।
प्रतिनिधिसभामा रहेका १४ राजनीतिक दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र राजतन्त्रको पक्षमा देखिन्छ । मधेस केन्द्रितलगायत अन्य सबै दलहरु लोकतान्त्रिक गणतन्त्रकै पक्षमा छन् । लोतकतन्त्रमा सबैले आफूसँग भएका असहमतीहरु निर्धक्क राख्न पाउँछन् । लोकतान्त्रिक व्यवस्थाले नै लोकतन्त्रको विरोध गर्न पाउने अधिकार सुरक्षित गरेको छ । कसैलाई लोकतन्त्र मासेर देशमा पुनः राजतन्त्र ल्याउने इच्छा भए उनीहरुले निर्वाचनमा दुई तिहाई मत जितेर संविधान संशोधन गर्न पाउने अधिकार सबैलाई छ । त्यसो हुँदा पूर्वराजा ज्ञानेन्द्र निर्वाचन लड्ने हिम्मत गर्छन् ? के राजतन्त्रको वकालत गर्ने राप्रपाले पनि पूर्वराजालाई आफ्नो पार्टी अध्यक्ष सुम्पिन सक्छ ?
नेपालको इतिहासमा दुई पटक राजसिंहासनमा बसेर दुर्लभ अवसर र रेकर्ड बनाएका ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका दिन जारी गरेको भिडिओ सन्देशपछि राजावादीहरु हौसिएका थिए । ‘देश जोगाउने हो भने आफूलाई साथ दिन’ अनुरोध गरेपछि राजावादीहरु एकाएक सडकमा आउने क्रम शुरु भएको हो । सन्देशमा उनले ‘देशमा व्यवस्था फेरिए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको’ भन्दै असन्तोष व्यक्त गरेका थिए । आफूले जनताको भलोका लागि पद र सुख सुविधा त्यागेको बताएका पूर्वराजाले त्यसलाई कमजोरी नठान्न चेतावनी दिएका थिए । त्यो सन्देशबाट हौसिएकाहरुले उनलाई पोखराबाट काठमाडौं फर्किने क्रममा भीड बटुलेर नारा जुलुसका साथ फागुनको अन्तिम साता स्वागत गरेका थिए ।
608 shares
टिप्पणीहरू