कमरेडहरु नुवाकोटमा हेरेको हेर्यै

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको नुवाकोट जिल्लामा दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’ भन्ने गीतजस्तै एमालेजन हेरेको हेर्यै भएका छन् । नुवाकोटका अधिकांश सरकारी नियुक्ति र सरुवा बढुवामा कांग्रेस समर्थकले बुर्कुसी मारेपछि यस्तो टिप्पणी गरिएको हो ।
नुवाकोटस्थित जनआस्थाकर्मीका अनुसार जिल्लामा राष्ट्रियस्तरमा जस्तै सत्तारुढ दलको संयन्त्र क्रियाशील भए पनि जताततै कांग्रेसको रजाइँ छ । जस्तैः कांग्रेस कार्यकर्ताका रूपमा चिनिएका उपेन्द्र बुढाथोकीलाई त्रिशूली अस्पताल विकास समितिको अध्यक्ष बनाइएको छ । उनी बागमती प्रदेशको मुख्यमन्त्री बहादुरसिंह लामा तामाङका नजिकका मान्छे हुन् । प्रादेशिक सामाजिक विकास मन्त्रीका रूपमा एमालेका चिरन थापा भए पनि अस्पताल विकास समितिमा भने कांग्रेसले नियुक्ति पाएको अवस्था छ ।
त्यसैगरी, जिल्ला भूमिव्यवस्था आयोगमा हालै नियुक्ति गर्दा पनि एमाले हेरेको हेर्यै भएको छ । सो पद कांग्रेसका अर्जुन न्यौपानेले पाएका छन् । यसै मेसोमा मुख्यमन्त्रीका दाहिने हात भनिने विजय गुरुङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष र दीपक लामा बागमती प्रदेश खेलकुद विकास समितिको सदस्य सचिव बनाइएका छन् । त्यसैगरी प्रदेश सिटिइभिटीको कार्यकारी निर्देशकमा कांग्रेसकै शान्ति लामाले नियुक्ति पाइन् ।
त्यसो त जिल्लास्तरीय सञ्जालमा कांग्रेस सभापति, एमाले अध्यक्ष र जिल्ला सचिव छन् । राजनीतिक नियुक्ति बाँडफाँट गर्ने संयन्त्रमा कांग्रेस जिल्ला सभापति रमेश महत र एमाले अध्यक्ष बद्री मैनाली, केशव पाण्डे, शिव चित्रकारलगायतको बैठक बसे पनि निर्णयविहीन भएपछि कांग्रेसले एकलौटी नियुक्ति गर्दै आएको हो । विरोधमा एमाले जिल्ला अध्यक्ष मैनालीले प्रधानमन्त्री ओली, मुख्यमन्त्री बहादुरसिंह लामा र तालुकदार मन्त्रीहरूलाई पटक–पटक जानकारी गराए पनि आफ्नो कुनै सुनुवाइ नभएको बताएका छन् ।
भूमि आयोग, खेलकुद विकास समितिलगायत सबैजसो नियुक्तिमा कांग्रेसले अध्यक्षसहित बहुमत सदस्य लिएको छ । एकादुई सदस्यमै एमालेले चित्त बुझाएर बस्नुपरेको अध्यक्ष मैनालीको स्वीकारोक्ति छ । कांग्रेसले एमाले सचिव शिवकुमार चित्रकारलाई जिल्ला आयुर्वेद वैकल्पिक चिकित्सालय व्यवस्थापन समितिको अध्यक्ष मात्र छोडेको छ ।
भनिन्छ, नुवाकोट जिल्ला हेर्दा एमालेले कांग्रेससँगको गठबन्धनमा एक थान प्रधानमन्त्रीबाहेक धेरै थोक गुमाएको अवस्था छ । वामपन्थीबीच एकता भएको भए अकण्टक एमालेले धेरै कुरा पाउँथ्यो । तर, आउँदो निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी हुने कांग्रेसलाई बलियो बनाउन र त्यसका समर्थकलाई सबै कुरा दिई आफ्ना कार्यकर्तालाई हेरेको हेर्यै बनाउन एमाले सफल भएको बताइन्छ ।
बलमिच्याइँको नमुनाका रूपमा सदरमुकाम विदुरस्थित पृथ्वी माध्यमिक विद्यालयको हेडमास्टर काण्डलाई पनि लिइएको छ । प्राथमिक तहका शिक्षकको दरबन्दीमा नियुक्त भएका बाबुराम लामिछानेलाई माध्यमिक विद्यालयको हेडमाष्टर बनाइएको छ । तर, गठबन्धनमा जे पनि चल्छ भनेझैँ सदरमुकामकै स्कूलमा लामिछानेलाई कांग्रेस नेता अर्जुननसिंह केसीनिकट भएकै नाताले उक्त जिम्मेवारी सुम्पिएको अवस्था छ । उनलाई गत वर्ष मात्रै गाउँको स्कूलबाट सदरमुकाममा सारिएको हो । स्कूलमा रहेका ३० जना कर्मचारीमध्ये २५ जना हेडमास्टर लामिछानेकै समर्थनमा छन् ।
उनले सहायक हेडमास्टर विश्वराज भट्टराईको प्रशंसा सुनेको ३ घण्टा नबित्दै उनलाई गाउँको स्कूलतिर पठाउन लगाएका थिए । स्रोतका अनुसार एक जना विद्यार्थी एसईईमा अनुत्तीर्ण हुँदा भट्टराईले रिटोटल गराउन सल्लाह दिए । सो सल्लाहबमोजिम निवेदन दिएपछि ती विद्यार्थी उत्तीर्ण भए । त्यसैको खुशीमा ती विद्यार्थीका अभिभावक र विद्यार्थीले सहायक हेडमास्टर भट्टराईको सार्वजनिक कार्यक्रममै गुनगान गरेको ३ घण्टा नबित्दै उनको सरुवा भएको बताइन्छ ।
जिल्लामा राजनीतिको आधार मानिने विद्यार्थीमाझ पनि एमालेले विस्तारै वर्चश्व गुमाउँदै लगेको बताइन्छ । त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघलाई स्ववियुको अध्यक्ष पद छोडेर बाँकी अरु पदमा चित्त बुझाएपछि यस्तो अवस्था देखिएको हो । त्यसो त सदरमुकाम बिदुरस्थित क्याम्पसमा यसअघि नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनले एमाले अखिललाई धुलो चटाएको थियो । त्यसअघि बट्टार क्याम्पसमा जहिले पनि एमाले समर्थित अखिलले अत्यधिक बहुमतले जित्दै आएको थियो ।
यसपटक गुमेको वर्चश्व फिर्ता गर्ने दाउमा रहेको अखिलको दाँतमा ढुंगा अड्केको अवस्था छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित छ । त्यसो त सो क्याम्पस सञ्चालक समितिको अध्यक्षका लागि एमाले नेताहरूले मरिहत्ते गरे पनि केपी ओली प्रधानमन्त्री र एमालेकै विद्या भट्टराई शिक्षामन्त्री हुँदा दाल गलेको छैन ।
कांग्रेसमा डा. रामशरण महत बिरामी भएपछि उनकै भाइ पूर्व मन्त्री डा.प्रकाशशरण महतले राम्रो प्रभाव जमाउन सकेका छैनन् । महत परिवारको दबदबा घटे पनि मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र नेता अर्जुननरसिंह केसीको गुट अस्तित्वमा रहेको र, यी दुवैको गुटभित्र पनि उपगुट चलायमान भएको बताइन्छ । नुवाकोटको किस्तान गाउँपालिका मनकामना घर भएका मुख्यमन्त्री तामाङले २०६४ र २०७० सालको आमनिर्वाचनमा (माओवादी केन्द्र)का नेता पोष्टबहादुर बोगटी, एमालेका नारायण खतिवडाहरूलाई हराइसकेका छन् । भनिन्छ, उनले एमालेकै भोटले एमाले र कांग्रेसलाई चुनाव हराउँदै आएका हुन् । सबै निर्वाचन क्षेत्र र गाउँपालिका तथा नगरपालिकामा एमाले र माओवादीले जितेको बेला पनि कांग्रेसबाट बाजी मार्ने तामाङ एक्ला हुन् ।
टिप्पणीहरू