विधिको प्रवक्ताका रुपमा सुवास नेम्वाङ

विधिको प्रवक्ताका रुपमा सुवास नेम्वाङ

–अधिवक्ता अनन्तराज लुईंटेल 

स्वर्गीय सुभाषचन्द्र नम्वाङ मेरो अति नै आदरणीय गुरु हुनुहुन्थ्यो । नेम्वाङ र मेरोबीचमा कानुनविज्ञ र कानुनको विद्याथी, नेता र शुभेच्छुक, समाचारशुत्र र समाचारदाता तथा गुरु र विद्यार्थीको गरी चौरास्ताको सम्बन्ध थियो ।

स्वर्गीय नेम्वाङ सार्वजनिक व्यक्तित्व भएका कारण नै म विभिन्न विषयमा चासो राख्ने सामान्य व्यक्तिले उंहाप्रति जिज्ञासा र सरोकार राख्नु तथा सम्पर्क गर्ने प्रयास गर्नु स्वाभाविक थियो । कतिपय अवस्थामा सरकारी निर्णय, संसदका निर्णय तथा कानुनी व्यवस्थाको सम्बन्धमा नेम्वाङसंग धेरैले सोधीखोजी गर्ने भएका कारणले नै मैलेपनि उहाँको सानिध्य पाएको थिएं ।

म मात्रै होइन, म जस्ता सयौंको जानकारीको श्रोत, सूचनाको श्रोत र भेरिफिकेशनको श्रोत हुनुहुन्थ्यो नेम्वाङ । खासगरी मिडियामा आवद्ध भएर काम गरेको हाम्रो जमानाका पत्रकार, लेखक तथा कानुनव्यवसायीहरुको  जानकारीको भेरिफिकेशन गर्ने व्यक्तित्व हुनुहुन्थ्यो नेम्वाङ । व्यक्तिगत विषयभन्दा पनि सार्वजनिक सरोकारको विषयका सम्बन्धका हिसाबले नेम्वाङ सबैको जानकारीको पुष्ट्याईंको श्रोत नै हुनुहुन्थ्यो र भरपर्दो आधार हुनुहुन्थ्यो । 

अहिलेको जमानामा कोही कसैले अरु कोही कसैसंग विश्वास गर्न नसक्ने अवस्थामा नेम्वाङमा त्यस्तो एउटा विशेषता थियो कि उहांसंग जोसुकै व्यक्तिपनि आश्वस्त भइहाल्दथ्यो । भेटघाटै नगरेको व्यक्तिले पनि नामै सुनेका भरमा समेत नेम्वाङले कुनै कुरा भन्नुभयो भनेपछि आश्वस्त हुने अवस्था थियो ।

नेम्वाङ राजनेता त हुनुहुथ्यो नै । उहांले नेताको हैसियतले, सभामुखको हैसियतले गरेका धेरै कामले देशको सुदूर भविष्यसम्म प्रभाव पार्नेछन र उहाँलाई सम्झिइरहनेछन् । उहांका विभिन्न पाटो छन् तर मैले भने यस आलेखमा नेम्वाङ कुन स्तरको सूचनाको श्रोत र भेरिफिकेशनको श्रोत हुनुहन्थ्यो भन्ने विषयमा मात्र चर्चा गरेको छु ।

कुनै मिडियामा सरकारी सूचना तथा देशको महत्वपूर्ण विषयका सम्बन्धमा सजिलैसंग पुष्ट्याईं गर्ने शुत्रको रुपमा नेम्वाङलाई लिइन्थ्यो । नेम्वाङले कुनै कुरा हो वा होइन भनेपनि समाज विस्वस्त हुन्थ्यो, त्यसैले नेम्वाङलाई नै कतिपय विषयहरुको भेरिफाइ गर्ने गरिन्थ्यो । उहा“को लिष्टमा भएका व्यक्तिको सहजै फोन उठाउ“ने र स्पष्ट रुपमा बताइदिने भएका कारण उहाँ मिडियाको प्रिय पात्र हुनुहुन्थ्यो । मिडियालाई कतिपय सूचनाको पुष्ट्याई गरिदिने मान्छे नभएर गलत सूचना पनि प्रकाशित हुने गर्छन् जसले त्यो मिडियालाई असफल बनाउंछ ।

कतिपय अवस्थामा नेम्वाङ आफूलाई ‘कोट’ नै गरेर लेख्न भन्नुहुन्थ्यो भने कतिपय गोपनीयताका कारण, अ अर्को पक्षले आफूप्रति असन्तुष्टी जनाउ“ने भयका कारण र अनावश्यक विवादमा पर्नसक्ने भयका कारण आफूलाई उद्धृत नगरी पनि शुत्रको हवाला दिएर लेख्न समेत पत्रकारहरुलाई जानकारी दिने गर्नुहुन्थ्यो । उहा“संग कुनै कुरा सोधनी गरेर उहा“ले त्यसको भेरिफिकेशन गरेपछि त्यस विषयमा ढुक्क हुने वातावरण बन्नु भनेको उहांले सबैको विश्वास जित्नुभएको थियो ।

गलत कुरा भइरहेको थाहा हुंदा समेत नेम्वाङ खुसुक्क ‘क्लु’ बताइदिने ह्विसल ब्लोर समेत हुनुहुन्थ्यो । सभामुखको पदमा बसेकाले उहांलाई धेरै विषय जानकारी हुनु पनि स्वाभाविकै थियो । सार्वजनिक गर्नुपर्ने अवस्था देखिएमा नेम्वाङले पत्रकारहरुलाई एउटा ‘क्लु’ दिएर यो विषयमा खोज्नुहोस् भनेर आग्रह गर्नुहुन्थ्यो । यसबाट पनि नेम्वाङ गलत कुरा ढाकछोप गर्न नचाहने व्यक्तिको रुपमा रहेको पुष्टी हुन्छ । उहां पारदर्शीताको एउटा अनुपम उदाहरण हुनुहुन्थ्यो । नेम्वाङको अभावमा त्यस्तो कार्य सहज छैन । नेम्वाङको यो स्वाभावलाई अर्को कुनै पनि व्यक्तिले पूरा गर्न सक्ने अवस्था नभएकोले उहांको अभावमा अब त्यस्ता कुराहरु भविष्यको गर्तमा भासिन्छन् वा तिनले बाहिर आउन लामो समय कुर्नुपर्ने हुनसक्छ ।

मिडियासंगको मित्रवत  र सुमधुर सम्बन्धकै कारण उहां कहिल्यैपनि विवादमा पर्नुभएन । नेम्वाङलाई दशैंमा टीका लगाएको विषयमा गोरे बहादुर खपाङी लगायतका व्यक्तिबाट र केही व्यक्तिगत पारिवारिक सम्बन्धका विषयमा समेत केहीकेही व्यक्तिहरुबाट विवादमा ल्याउने प्रयास नभएको होइन, तर त्यो विषयमा कहिल्यै ठूलो रुप पनि लिन सकेन र त्यस्तो विषयलाई कहिल्यै मिडियाले उछाल्न पनि चाहेन । नेम्वाङप्रति एउटा राजनीतिक सेक्सनले नरुचाउनु स्वाभाविक थियो । नियुक्तिको अवसर आउ“दा पनि उहा“ले नरुचाएको व्यक्तिलाई अवसर नदिइएको भनेर केही मधुरो स्वरमा उहांको विरोध हुने गरेको थियो । 

मैले त २०५२ साल भाद्र १२ गतेको सर्वोच्च अदालतको फैसलाले स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वको सरकार ढलेपश्चात् मात्रै मैले नेम्वाङलाई चिन्ने मौका पाएको हुं । २०५२ सालमा नेपाल ल क्याम्पसबाट आईएल सक्दैगर्दा नेम्वाङ भने कानुनमन्त्री भइसक्नुभएकोले उहा“ले मलाई औपचारिक शिक्षा दिनुभएको भने होइन । तर, उहाँऔपचारिक शिक्षाको शिक्षक नभएपनि अनौपचारिक शिक्षा उहांबाट पाएकोले मैले उहा“लाई गुरुकै दर्जामा राख्ने गरेको छु । 

मभन्दा अघि विएल गर्ने अग्रजहरुले त उहांसंग औपचारिक शिक्षा नै प्राप्त गर्नुभएको थियो, त्यसैले उहा“हरुले सुभाष सर भन्ने गरेबाट मैले पनि नेम्वाङलाई सुभाष सर नै भन्ने गरेको थिएं । नेम्वाङ मिडियाको लागि, न्यायपालिका सहितको बारको लागि र संसदको लागि एकैचोटी बराबर चाहिने व्यक्तिको रुपमा विकसित हुनुभएको थियो । आफ्नो समयको एक सफल र भव्यताका साथ सफल व्यक्ति बन्नुभएको थियो नेम्वाङ । 

संविधान सभाका अध्यक्ष, पूर्व सभामुख नेम्वाङ कुसल वकिल पनि हुनुहुन्थ्यो । राम्रो वकिल त हुनुहुन्थ्यो नै त्यसैले उहां पैतिस बर्षको उमेरको हाराहारीमै नेपाल बार एशोसिएशनको सचिवमा निर्वाचित भइसक्नुभएको थियो । 

कानुनको राम्रो ज्ञान र मिठासपूर्ण बहस हुने वकिल असफल हुने त कुरै थिएन । नेम्वाङ सभामुख भइसक्नुभएको थियो तरपनि सर्वोच्च अदालतको पूर्ण वैठक (फूल कोर्ट)ले उहांलाई पालो आउ“दा पनि बरिष्ठ अधिवक्ता दिएन । सभामुख भइसकेपश्चात् पनि बरिष्ठको उपाधी पाउनुको छुट्टै महत्व रहेकोमा त्यस अवसरबाट आफूलाई छुटाइएकोमा नेम्वाङलाई चित्त बुझेको रहेनछ । 

उहांले मलाई आफैंले फोन गरेर आफ्नो विचार सहितको समाचार लेखिदिनुस् भन्नुभएकोले मैले अरुपनि दुईतीनजना बरिष्ठका आकांक्षीको भनाइ समेत राखेर समाचार बनाए । द हिमालयन टाइम्समा छापिएको सो समाचार अझैपनि खोज्दा फेला पर्छ । त्यसबाट सर्वोच्चको त्यो बेलाको नेतृत्वले गल्ती भएको महशुस गरेछ । अर्को पाली नेम्वाङ, निलाम्बर आचार्य लगायतलाई बरिष्ठको उपाधीले सर्वोच्चले सुशोभित ग¥यो । नेम्वाङलाई बरिष्ठ अधिवक्ताको उपाधीले सुशोभित गर्दा सर्वोच्च अदालतको निर्णयको समेत महत्व बढेकोमा कुनै विवाद छैन ।

नेम्वाङसंग जोडिएका धेरै प्रसंगहरु छन् । तर तीमध्ये म आफैंसंग सम्बन्धित एउटा विषय भने निकै रोचक र संझनयोग्य छ । 

मलाई एउटा असमन्जसमा पर्दा एकपटक बडो कौशल एवं कुटनीतिक तवरबाट नेम्वाङले बचाइदिनुभएकोले म आफूप्रतिको नेम्वाङको सद्भावलाई जीन्दगीभर भुल्न सक्दिन । संभवतः यो २०६५/०६६ तिरको कुरो हुनुपर्छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश रणबहादुर बम र हरि बहादुर बस्नेत एउटा विवादमा फस्नुभएको थियो ।

ती दुई न्यायाधीशप्रति एउटा मुद्दामा घुस खाएको भन्ने गम्भीर लान्छना लागेका कारण पछि हरि बहादुर बस्नेतले राजीनामा गर्नुभयो भने रण बहादुर बम भने सर्वोच्चमा यत्तिकै विवाद झेलेरै बसिरहनुभएको थियो । 

सभामुख भएका कारण मपनि सार्वजनिक विषयका सन्दर्भमा नेम्वाङलाई भेट्न उहांको कार्यकक्षमा गइरहन्थे । संसदीय मामला र कानुनसंग सम्बन्धी विषयको समेत मिडियामा लामो समय रिपोर्टिङ गरेका कारण नेम्वाङसंग मेरो भेटघाट वा कुराकानी सहजतापूर्वक नै हुन्थ्यो ।  

आफू फसेको विवाद समाधानका लागि सहयोगको याचना गर्दै बम र बस्नेतको दौडधुप हुने क्रममा  न्यायाधीश बम नेम्वाङकोमा पनि पुगेका रहेछन् । र, एकजना कुरो ‘मिलाउन सिपालु’ व्यक्तिले दुईजना पत्रकारको आड्मा सभामुखलाई भेटेको भन्ने चर्चा दिनभरी चलेछ ।

ती ‘कुरो मिलाउन सिपालु’ ले दुईजना पत्रकारको सहयोगमा न्यायाधीश बमलाई सभामुखसंग भेटाइदिएको भन्ने विषय दिनभरी नै विवादको विषय बन्यो । न्यायाधीश त विवादित थिए नै, पत्रकारलाई पनि अनावश्यक मुछ्ने प्रयास गरिएको थियो । ती दुईजना पत्रकारहरु को को हुन भन्ने विषयमा दिनभरी चर्चा चल्यो । मेरो समेत कुभलो चिताउने कुनै एकजना व्यक्तिले लेखक स्वयम् र मेरा मित्र अधिवक्ता विकास भट्टराईको नाम मुछेर हल्ला चलाईदिएछन् । ठूला मिडिया हाउसमा काम गर्ने व्यक्ति भएका कारण हामीलाई फसाइदिने र त्यसबाट फाइदा लिने वा हामीलाई फसाएको मनोरञ्जन गर्ने उद्धेश्यले त्यस्तो हल्ला मच्चाइएको रहेछ । 

कुरो हो कि हो कि भन्ने पार्नलाई पनि हामी दुईजनाको नाम मुछिएको रहेछ । हामी दुवैजना कानुन व्यवसायी पनि भएको र कानुन मामिलामा रिपोर्टिङ गरिआएकोले हामीहरुको नाम मुछ्दा गलत कुरोलाई यथार्थको रंग भर्न सकिन्छ भन्ने उद्धेश्यले हामीहरुको नाम भजाइएको रहेछ । 

अनधिकृत हल्ला चल्दै जांदा आफू कार्यरत द हिमालयन टाइम्समा गाइंगुइं चलेछ । म भने आफू त्यस्तो काममा नलागेकोले ढुक्कै थिए, तर सबै कुरा आफूले सोचेजस्तो हुंदैन । ‘एक कान दुईकान मैदान’ भनेजस्तो गरेर साथीभाईले तपाईंहरुको नाम आएको छ नि भनेर कुरा काट्नसम्म पनि थालिसकेका थिए । आफूले गरेको होइन भनेर के गर्नु, हल्ला पूरै फिजिइसकेको थियो । त्यसपछि मैले आफैंले नेम्वाङलाई फोन गरेर कुरो के हो हजुरले आफैंले स्पष्ट पारिदिनुपर्‍यो, हाम्रो नाम लिएर पूरै हल्ला चलिरहेको छ भनेर आग्रह गरेपछि उहाँले वास्तविकता खोलिदिएर हामीलाई परेको आपतबाट जोगाइदिनुभयो ।

सभामुखले वास्तवमा ती दुई पत्रकार को को हुन् त भन्ने स्पष्ट नपारिदिएको भए हामी दुईजनालाई समेत असर गर्न सक्ने अवस्था थियो । हल्लाखल्ला चल्न थालेपछि मैले नै यो विषय तपाईं बाहेक अरुले स्पष्ट पारेर हुंदैन भन्ने आग्रह गरेको थिएं । 

‘तपाईंहरुले जुनजुन साथीभाईलाई संकेत गर्नुभएको छ, उहांहरुसंग मेरो एकसाताभन्दा बढी समयदेखि भेटघाट भएको छैन, तर जुनजुन साथीभाईले मसंग ती न्यायाधीशलाई भेट गर्न ल्याउनुभएको थियो,उहाँहरु मेरै क्षेत्रका मतदाता पनि र पत्रकार पनि भएका कारण मैले यस्सो के रैछ भन्ने कुरा सम्म सुनिदिऔं न त भनेर भेटघाट गरेको हुं । ती साथीहरु राष्ट्रिय दैनिकमा रहेर राजधानीमा केन्द्रित भई काम गर्ने व्यक्तिहरु होइन ।’ 

नेम्वाङ स्वयम्ले केन्द्रमा कार्यरत पत्रकार नभएको र आफ्नै जिल्लावासी पत्रकारहरुले आफूलाई भेट्न न्यायाधीश बमलाई लिएर आएको भनिदिएपछि हाम्रो नाम भजाएर जजसले हल्ला गरेका थिए उनीहरुले लाजले भुतुक्कै भएका थिए । 

नेम्वाङ आफू मात्रै जोगिने होइन, आफ्ना सुभेक्षुकलाई समेत अनावश्यक विवादमा पर्नबाट जोगाउनुहुन्थ्यो भन्ने यो एउटा राम्रो उदाहरण थियो ।   

नेम्वाङ संविधानसभा विघटन भएपछि कतिपय मुद्दामा बहसमा समेत सर्वोच्च अदालतमा उपस्थित हुने गर्नुहन्थ्यो । जनआस्था साप्ताहिक विरुद्ध सर्वोच्च अदालतले नै दायर गरेको एउटा अवहेलनाको मुद्दामा नेम्वाङसंगै बहस गर्दा उहांले निकै उत्साहित गराउनुभएको थियो । 

सभामुख भएर पनि सधैं एउटा सामान्य र स्वाभाविक वकिलकै दर्जामा आफूलाई ढाल्न सक्ने अद्धितिय क्षमताको हुनुहुन्थ्यो नेम्वाङ । न्यायाधीशद्धय गिरिशचन्द्र लाल र ज्ञानेन्द्र बहादुर कार्कीले गर्नुभएको सो मुद्दाको फैसला निर्णय नं । ९०८० को रुपमा नेपाल कानुन पत्रिकामा समेत प्रकाशित छ । 

नेम्वाङ भेटमा जहिलेसुकै हार्दिकताका साथ आफ्ना सुभेच्छुकहरुमा पेश हुने बानीले समेत लोकप्रिय बनाएको मलाई लाग्छ । कानुन पत्रकारितामा मात्र सिमित नहुनुस् वकालत गर्नुपर्छ भनेर मलाई सधैं नेम्वाङले हौस्याकै परिणामतः अहिले वकालतमा समेत रमाउन पाएको छु । 

राम्रो लेख लेख्दा पाठकबाट जति माया पाइन्छ, न्याय दिदां झनै सन्तुष्टी मिल्छ भन्ने नेम्वाङको भनाइले मलाई बेलाबेलामा आल्हादित बनाउंछ । बार स्वर्णमहोत्सवको सन्दर्भमा नेम्वाङबाट पुरस्कार थाप्दै गरेको घरमा सजाएर राखेको फोटोले  मलाई सधैं सुवास सरको शुभेच्छा बोलीरहेको भान हुन्छ । नेम्वाङको यहि उत्प्रेरणाले मलाई हरपल अघि बढ्न उत्प्रेरित गरिरहन्छ । हार्दिक श्रद्धान्जली सुवास सर ।  

(सोमबार लोकार्पण भएको सर्वोच्च अदालत बार एशोसिएशनबाट प्रकाशित स्मृतिमा सुवासनेम्वाङ पुस्तकमा प्रकाशित अधिवक्ता लुईंटेलको लेख यहां साभार गरिएको ।)
 

टिप्पणीहरू