भीडले सधैं कहाँ गर्छ र भलो ?

भीडले सधैं कहाँ गर्छ र भलो ?

आजकल नेपालमा ‘हुलतन्त्र’ हाबी हुँदैछ । मिडिया र पत्रकारले सहकारी ठगीको भण्डाफोर गर्दा सामाजिक सञ्जालमा गाली बर्सांउने ‘घण्टे र टंके’हरूको बिगबिगी छ । नयाँ होस् कि पुरानो ! नेता होस् कि केटा ! दल होस् या दलबल- आखिर त्यो ठगै हो ! बाँकी कुरा तथ्य-प्रमाणले इजलासमै बोल्लान्, सम्मानीत अदालतले फैसला गर्ला ! 

तैपनि ‘सरकार म‍र्‍यो, हामीलाई जुठो प‍र्‍यो’ भन्दै सडकमा तमासा देखाउनेहरू दलका कार्यकर्ता हुन सक्दैनन् । उनीहरू भीडको आडमा प्रहरी अनुसन्धानलाई विषयान्तर गर्ने, भ्रष्ट र ठगलाई जोगाउन खोज्ने ‘कू’तर्कवादी हुन् । दृश्य ताजै छ- पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्दा कांग्रेस-एमाले सडकमा आएनन् । पूर्वसभामुख कृष्णबहादुर महरा समातिंदा माओवादीले जुलुस निकालेन । 

तर, पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा संसदीय छानविन विशेष समितिको सिफारिस र अदालतको अनुमतिमा पक्राउ गर्दा घण्टी समर्थकहरू किन उफ्रिँदैछन् पोखरादेखि काठमाडौँसम्म ? आजको मुख्य प्रश्न यहीँनेर छ ।

गत कार्तिक १ गते ‘घण्टीघर’बाट पक्राउ परे- रास्वपा सभापति लामिछाने। त्यही दिउँसो विपक्षी दलको एउटा बैठकमा माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए, ‘तपाईंलाई केपी ओलीले समात्दैछन् ।’ नभन्दै साँझपख समातिए उनी । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएपछि कास्की जिल्ला अदालतले पक्रिन अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नियन्त्रणमा लिई लामिछानेलाई रातारात पोखरा पुर्‍यायो ।

रवि एण्ड रास्वपाको दाबी छ- ‘सरकार ढाल्दा नै मलाई जेल कोच्ने सम्झौता गरियो । राज्यले पूर्वाग्रह राख्यो ।’ तर तथ्यले त्यसो भन्दैन, गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले सारेको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । उक्त मिडियाको प्रवन्ध निर्देशक रहेका लामिछानेले नै चेक काटेर करोडौँ रकम मनलाग्दी परिचालन गरेको समितिले ठहर गरेको छ । 

रविले निकटस्थहरूलाई आफूखुसी चेक काटेर रकम बाँडेको जनआस्थाको सम्पर्कमा आएका उक्त मिडियाका अध्यक्ष तथा सहकारी ठगी प्रकरणका फरार आरोपित जिबी राईका पूर्वसहयोगीले खुलाए । मलेसियामा लुकेर बसेका जिबीले इमेलमार्फत् आफू सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजन र सहकारी संस्था डुब्नुको कारण समेत खोलिरहेका छन् । त्यहाँपनि मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि नै मुछिएका छन् । त्यस्तै, पूर्वडीआईजी तथा गोर्खा मिडियाका उपाध्यक्ष छविलाल जोशीले कास्की प्रहरीलाई अनुसन्धानमा सघाइरहेका छन् । उनी असोज ६ देखि हिरासतमै छन् ।

‘भीडले धकेल्दै भीरसम्म’ पुर्‍याइएका पूर्वसञ्चारकर्मी रविलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको छ । अपराधबाट सम्पत्ति आर्जन गरेको विषय स्वतः सम्पत्ति शुद्धीकरणमा जोडिन्छ नै । तैपनि उनी चोक–गल्लीमा जम्मा भएको ‘भीडतन्त्र’लाई अन्टसन्ट बोलेर प्रभावित पार्न खोज्दैछन् । 

अहिले उनको पछाडि जुन जमात कुदिरहेको छ, त्यो न्यायिक प्रक्रिया बिथोल्न खोज्ने ‘अराजक र कानून मान्दिनँ भन्ने’ झुण्ड हो । माइतीघरदेखि पोखरासम्मको बाटो-दोबाटोतिर तोसिमा, मनिष, सन्तोष, सुमना, क्रान्तिशीखा, सोविता र हरि मात्र होइन, सामाजिक सञ्जालमा पनि एकथरी ‘न्यायाधीश’ टंक, ज्वाला, दीपक, भोजराज र विकासवादीहरू उम्रिरहेका छन् । यिनीहरू अनुसन्धानात्मक प्रणाली भत्काउँदै छन् । यीमध्ये कोही भावी सांसद्का रुपमा देखिँदै छन् । कति समानुपातिक सांसद्को गुण तिर्दैछन् । कतिपय फेसबुकमा लाइक, कमेन्ट बटुल्न र यूटुवमा डलर झार्नको लागि ‘रवि दाइ, रवि दाइ’ भन्दै अन्धाधुन्ध दौडिरहेका छन् । 

त्यसो त बाटोछेउको हुलले रविलाई निर्दोष सावित गरिसक्यो ! उता जिल्ला सरकारी वकीलको कार्यालय कास्कीमा बयान चलिरहेको छ ।

रविले कानून मान्छन् कि मान्दैनन् ? यो गम्भीर प्रश्न हो । उनका भक्तहरूले प्रहरी, प्रशासन र सम्मानीत अदालतको सम्मान गर्छन् कि गर्दैनन् ? योचाहिँ रास्वपाकर्मीको रवाफ् हेर्दा शंका छ । अहिले भइरहेको अनुसन्धानलाई राजनीतिक प्रतिशोधको ‘कू’दृष्टिले नियाल्दा तथ्य-प्रमाणसमेतलाई अवमूल्यन गरेको ठहरिन्छ । पोखराको अनुसन्धान सकिएपछि उनी बुटवल, चितवन, वीरगञ्ज हुँदै काठमाण्डूसम्म फन्को मार्ने पक्का छ । 

पूर्वगृहमन्त्री रविको पक्राउलाई राजनैतिक चस्माले हेरिनु हुँदैन । किनकि उनका सबैभन्दा ‘प्रियपात्र’, जसका कारण दुई–दुई पटक उपप्रधान र गृहमन्त्रीको टीको लगाए, उनै व्यक्ति अहिले राज्यसत्ताको उपल्लो तहमा छन् । रास्वपा र रवि आफ्नो गोदमा हुँदा यिनै ओली ‘बा’ होइनन् रविलाई ‘क्लिन चिट’को चिर्कोटो दिँदै हिँड्ने ! अनि कसरी यिनै व्यक्तिले प्रतिशोध साँध्छन् ? बरु, यो भन्न सकिन्छ- रवि लामिछाने २१ जना सांसद्को ‘टेको’ लगाउँदै सबैतिरबाट उम्किरहेका थिए । 

सहकारी ठगीको लहरो ‘जीबी, छवि र रवि’मै सीमित देखिँदैन । यो तन्किँदै रास्वपाको पदाधिकारी, रविको ससुराली र श्रीमतीसम्मै पुग्दैछ । सहकारी ठगीको रहस्य त्योबेला झन् खुल्ने छ, जतिबेला 'रविले भगाइरहेका'  जिबी घर फिर्नेछन् ।

‘फोहोर राजनीतिलाई सफा गर्छू’ भन्दै सिंहदरबार छिरेका रवि कहिल्यै सफा थिएनन् । उनी जहिल्यै विवादको घेरामा रहे । पहिलो पटक हिरासत पुगेका होइनन् उनी । २०७६ साउन ३० मा न्यू २४ टेलिभिजनको कार्यक्रम प्रस्तोता हुँदा उनी पहिलोचोटी पक्राउ परे । उनीसितै  पत्रकार युवराज कँडेल पनि समातिएका थिए । प्रहरीले उनीहरूलाई काठमाडौँस्थित कार्यालयबाट पक्राउ गरेर चितवन लगेको थियो । कारणचाहिँ पूर्वसहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरण । जहाँ रविको नाम पनि जोडिएकै थियो । 

रवि समातिएपछि चिवतनमा भीडले भाँडभैलो मच्चायो । अन्ततः अदालतको फैसलाले पनि निर्दोष भनिदियो उनलाई । आत्महत्या दुरुसाहनको मुद्दामा पनि भीडतन्त्रको साथ पाउँदा झन् उम्लिए रवि । काठमाडौँ फर्केपछि झन् मैमत्त भए । टेलिभिजनको पर्दाभित्रै वकिल बने । न्यायधीश बने । आफैं फैसला गर्न थाले । तैपनि भीडले साथ दिइरह्यो ।

चितवनको भीडको जगमै उभिएर उनले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गरेका हुन् । २०७९ मंसिर ४ मा चितवन-२ बाट निर्वाचनमा भाग लिए र भारी मतले जिते । सिंहदरबार छिरेको हप्तादिनमै हालका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाइदिए । त्यहाँ पनि विवादमा फस्दै थिए, लोकरिझ्याइँमा रमाउँदै थिए उनी । तर, २०७९ माघ १३ गते सत्ताको भर्‍याङबाट गल्याम्गुर्लम्म ढले । सर्वोच्च अदालतले सांसद पद खारेज गर्‍यो । सर्वोच्चको संवैधानिक इजलासले अमेरिकी नागरिकता त्याग गरेको विधिवत जानकारी सीडीओलाई नदिएको र नागरिकता ऐन र नियमावलीअनुसार निवेदन दिई प्रक्रिया पनि पूरा नगरेको तथ्यमा टेकेर पद खोसिदियो । अर्थात्, दल खोल्दा, निर्वाचन लड्दा उनी नेपाली नागरिक नै थिएनन् । यहि हो रास्वपा र रविको ‘जान्नेलाई छान्ने’ काइदा ।

२०७९ माघ १५ गते रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता लिए । योचाहिँ सबैभन्दा मजाकको दृश्य थियो । जहाँका गृहमन्त्री विदेशी नागरिकको हैसियतमा थिए, त्यो मतदातामाथि गम्भीर जाँलझेल थियो । तैपनि उनी जनताको नेता भइरहे । अचम्म यहीँनेर छ । २०८० वैशाख १० को उपनिर्वाचनमा फेरि चितवनले उनलाई जितायो । तिनै मतदाताले दिएको मतको आडमा फेरि उपप्रधानमन्त्री तथा गृहमन्त्री बने रवि । 

तत्कालीन प्रधानमन्त्री ‘प्रचण्डको सत्ता जोगाइदिने कसम खाए’वाफत क्लिनचिट पाए । महान्यायाधिवक्ताले रविविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा नचलाउने निर्णय गरेपनि यो प्रकरण सम्पूर्णरूपले थान्किएको छैन । सत्ता-राजनीतिको खेलमा मुद्दालाई सरकारी निकायहरूले ‘किनारा’ लगाएपनि, संकट टरेकै छैन । हेक्का होस्, सहकारी ठगीको जालो च्यात्तिएझैँ च्यात्तिन्छ एकदिन । उनलाई लाग्थ्यो- ‘भीड र पद भनेको अथाह शक्ति हो, कानूनी जवाफदेहिता चाहिँदैन । जुनसुकै अपराध पनि चुट्कीको भरमा उन्मुक्ति पाउँछू । मेरा लागि बेग्लै संविधान छ- कानूनभन्दा माथि छू म !’

टिप्पणीहरू