घण्टीको पक्षमा समाचार लेखेको भन्दै सेतोपाटीविरुद्ध काँग्रेस उम्मेदवारको उजुरी

घण्टीको पक्षमा समाचार लेखेको भन्दै सेतोपाटीविरुद्ध काँग्रेस उम्मेदवारको उजुरी

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले सेतोपाटी अनलाइनविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन् । निर्वाचन आचारसंहिताविपरित चुनावको परिणाम प्रभावित पार्ने उद्धेश्यले समाचार लेखेको भन्दै उनले आज उजुरी हालेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले राम्रो मतान्तरका साथ तनहुँ-१ मा विजयी हासिल गर्न सक्ने प्रक्षेपण गरिएको समाग्री सेतोपाटीले सम्प्रेषण गरेको थियो । गत वैशाख ६ गते ‘तनहुँ १ मा राम्रो मतान्तरसहित स्वर्णिम वाग्लेले जित्ने सम्भावना’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यस्तै, बारा-२ र चितवन-२ मा पनि त्यस्तै मत सर्वेक्षणको समाचार लेखिएको थियो । 

यस्ता समाचारले मतदातालाई प्रभावित पार्ने काँग्रेस उम्मेदवार भट्टराईको ठहर छ । घण्टीवाहक उम्मेदवार वाग्लेको पक्षमा माहोल बनाउनका लागि निर्वाचनको चार दिनअगाडि नियोजित षड्यन्त्रका रुपमा सेतोपाटीले मत सर्वेक्षणको समाचार प्रकाशन गरेको उजुरीमा दावी गरिएको छ । 

‘निर्वाचन आचारसंहिता ऐन, २०७९ को दफा ३ (ण), ४ को (ञ) (ट) (ठ) (ड) (त), दफा २५ बमोजिम कसूर गरेको हुँदा ऐनको दफा ४५ बमोजिम उजुरी दिएको र सो उपर दफा ४६ र दफा ४९ बमोजिम कारबाही गरिपाऊँ’, उजुरी पत्रमा उल्लेख छ । 

 

आफ्ना प्रतिष्पर्धीको पक्षमा त्यस्तो समाचार समाग्री सम्प्रेषण गर्नु निर्वाचन आचार संचिता विपरित रहेको जिकिर गर्दै भट्टराईले कारवाहीको माग गरेका छन् । यता, प्रेस काउन्सिल नेपालले निश्चित दल र उम्मेदवारको पक्षपोषण गरी समाचार छाप्ने सञ्चारमाध्यमलाई २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ ।

टिप्पणीहरू