‘बुथ कब्जा प्रयास’ को समाचार संकलन गर्न गएका पत्रकारमाथि दुर्व्यवहार, जसपाका कार्यकर्ताको लफडा
बारा–२ मा भइरहेको उपनिर्वाचनमा मतदानस्थलको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको छ । महागढीमाई नगरपालिका–२ को इनरवास्थित मतदान केन्द्रमा बुथ कब्जाको प्रयास भएको खबर बुझ्न गएका केही पत्रकारलाई दुर्व्यहार गरिएको हो ।
उक्त मतदान केन्द्रमा पत्रकारलाई भित्र छिर्न रोक लगाइएको छ । मतदान केन्द्रमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारहरुलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसरभित्र प्रवेशमा रोक लगाएको बताइएको छ ।
त्यसलगत्तै मतदान केन्द्र बाहिर रहेका स्थानीय केही व्यक्तिहरुले समेत पत्रकारहरुलाई दुर्व्यहार गर्न खोजेका छन् । त्यसपछि त्यहाँ रहेका प्रहरीले उनीहरुलाई उद्धार गरेको त्यहाँस्थित एक पत्रकारले जानकारी दिए ।
यसअघि देवताल गाउँपालिका–७ स्थित पिपरन जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका थिए । जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मत पेटिकामा यादवले स्वस्तिक छाप लगाएको २ वटा मत पत्र खसाउन खोजेका थिए । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
यादव पक्राउको विरोधमा जसपाका स्थानीय नेता कार्यकर्ताले लफडा गर्न थालेपछि सो मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप बल मगाइएको छ । अहिले त्यहाँ शान्तिपूर्ण मतदान भरहेको बताएको छ ।
टिप्पणीहरू