यिनै दुई उदाहरण काफी छैनन् र !

यिनै दुई उदाहरण काफी छैनन् र !

प्रसंग १ : सन् २०१४ को नोबेल शान्ति पुरस्कार समारोहमा आफ्नो मन्तव्य दिँदा पाकिस्तानकी मलाला युसुफजाइले भनिन्, ‘यो पुरस्कार पाउने म पहिलो पास्तुन, पहिलो पाकिस्तानी र संसारकै सबैभन्दा कान्छो व्यक्ति हुँ ।’

प्रसंग २ : जापान भ्रमणमा गएका सुनसरी क्षेत्र नम्बर २ का सांसद रेवतीरमण घिमिरे जिल्ल परे जब सार्वजनिक कार्यक्रममा अंग्रेजी जानेकै आफ्नो जापानी समकक्षीले जापानिज भाषामै बोले । उल्लिखित दुई प्रसंगमा एउटा कुराको समानता आउँछ । त्यो हो आफ्नो भाषा प्रेम र भाषाको विकासमा देशले गरेको बाध्यकारी व्यवस्था । आफूलाई पाकिस्तानी भन्नुअघि पास्तुन भन्ने मलाला र सार्वजनिक कार्यक्रममा जापानी सांसदले बोल्ने जापानिज भाषा सबै मातृभाषा प्रेमका आधार र उदाहरण हुन् । सायद यस्तै संवेदनशील कारण मातृभाषासँग जोडिएकोले हुनुपर्छ एक जना विद्वान्ले भनेका थिए –‘मान्छेको दिमागसम्म पुग्नलाई उसको सम्पर्क भाषामा कुरा गर्दा पुगिन्छ तर मान्छेको मनसम्म पुग्नलाई भने उसको मातृभाषामै कुरा गर्नुपर्छ ।’

यसरी मातृभाषा फगत एउटा संख्याको भाषिक समूह मात्र होइन, यो त अन्योन्याश्रित संवेदना बोकेर उभिएको हाम्रो दैनिकी हो । आज हामी एउटा हाइटीको अफ्रिकन बालकले नेपाली बोलेको टिभीमा देख्दा मख्ख पर्छौं । हाम्रो देशमा आएर फाट्टफुट्ट नेपाली फुटाउने खैरो छालासँग समेत हाम्रो आकर्षण र आत्मीयता तत्काल बढेर जान्छ । कारण उही हो –मातृभाषा हाम्रो दिल हो । कसैले हाम्रो भाषामा बोलिरहँदा उसले आफ्ना शब्द मात्रै ओकलिरहेको हुँदैन, हाम्रो मुटुसम्म पुग्ने शाब्दिक राजमार्गसमेत बनाइरहेको हुन्छ । र त उसले चाँडै हाम्रो माया पाउँछ । छिटोसँग काम सक्ने आधार निर्माण गर्छ ।

केपी ओली मज्जाले राजवंशी भाषामा कुरा गर्न सक्छन् । माधवकुमार नेपालसमेत सम्बाेधन मैथिलीमै गर्छन् । 

बहुभाषा बोल्नेहरूले सपना आफ्नै भाषामा देख्छन् । कुनै हर्ष वा पीडामा ओकल्ने पहिलो वाक्य आफ्नै भाषाको हुन्छ । यसरी अन्य भाषाभन्दा मातृभाषाको अलग्गै महत्व रहन्छ । तर जब जब शिक्षामा मातृभाषाको कुरा आउँछ, हाम्रो राज्यव्यवस्थाका सिद्धान्त र व्यवहार सर्लक्कै छुटिन्छन् । भनिएको हुन्छ एकथोक । भएको देखिन्छ अर्कोथोक । नेपालको संविधान २०४७ समेतले नेपालका भाषालाई नेपाली राष्ट्रिय भाषाको मान्यता दिएको छ । तर, व्यवहारमा यसको प्रत्यक्ष प्रगति देखिन्न । हिजोजस्तै आज पनि एउटा लिम्बूको छोरोले लिम्बू भाषामा पढ्न असम्भवजस्तै छ । नेपालीपछिको बहुसंख्यकले बोल्ने मैथिली भाषामा समेत नेपालमा स्तरीय र व्यवस्थित पढनपाठन हुन्न । मातृभाषा शिक्षाको नाममा देशभरका केही विद्यालयमा पठनपाठन त हुन्छ तर त्यसले मातृभाषा शिक्षकको दरबन्दी दिने बाहेकको अर्को राम्रो काम गरेको देखिन्न । बरु उल्टै हरेक वर्ष मातृभाषीको संख्या घट्दै गएको पाइन्छ ।

 नेपाली भाषाबाहेकका ठूलो संख्यामा बोलिने भाषाको समेत संख्या घट्दो क्रममा छ । हजारौँले बोल्ने भाषामा धेरै बाधा व्यवधान छन् । विद्यालय र विश्वविद्यालयमा व्यवस्थित पढाइ र सुरक्षित भविष्य नहुनाले पनि मातृभाषाको अवस्थामा समस्या खडा भएको छ । कतिपय आफ्नै लिपि भएका भाषाको लिपिसमेत देवनागरीमै लेखिनुले नेपालका मातृभाषाको दयनीय अवस्था देखाउँछ । 

नेपालमा नेपाली भाषा ४५ प्रतिशतको मातृभाषा हो । यसका अतिरिक्त १२ प्रतिशत मैथिली, ६÷६ प्रतिशत भोजपुरी र थारु मातृभाषी छन् । अन्य बहुसंख्यकले बोल्ने मातृभाषामा तामाङ, नेवार, मगर, डोटेलीलगायत पर्छन् । जसमा मगरको प्रतिशत ५ छ भने बाँकी सबैको आँकडा ३ प्रतिशत हाराहारीको छ । बाँकी सबै मातृभाषीको सांख्खिक स्थिति ३ प्रतिशतमुनि छ । जनगणना २०६८ अनुसार नेपालको कूल १२५ जातजातिको बसोबास छ भने १२३ जातिको आफ्नै भाषा छ । यस्तो भाषिक विविधतामा धनी नेपालको भाषिक विकास र व्यवस्थापन भने निकै गरिब छ । 

केही ठूलो संख्याका भाषिक समुदायको लागि झारा टार्ने किसिमका मातृभाषा शिक्षा प्राथमिक तहसम्मका लागि बन्दोबस्त भए पनि स–साना भाषा दोहोरो मारमा परेका छन् । अझ अंग्रेजी आकर्षणले गर्दा नेपाली विद्यालय पढाउने नेपाली भाषीले समेत अंग्रेजीमा आफ्ना सन्तान भर्ना गराउन थालेका छन् । सबैभन्दा ठूलो संख्यामा बोलिने र विद्यालयदेखि विश्वविद्यालय अनि अखबारहरूको समेत प्रयोग गर्ने भाषाको अवस्था पछिल्लो शहरिया पुस्तामा दयनीय छ भने अल्पसंख्यक भाषाभाषीकाको अवस्था आफँै अनुमान लाउन सकिन्छ । 

सम्भव छ मातृभाषा शिक्षा

नेपालमा समेत मातृभाषा शिक्षा नीति लागू भइसकेको छ । सबैका लागि शिक्षा नीतिअन्तर्गत सन् २०१५ सम्म नेपालका ७ हजार ५ सय विद्यालयमा मातृभाषामा शिक्षा दिने कुरा थियो । यो परियोजनाको लक्ष्य के–कति सफल भयो त्यो त सरकारलाई थाहा होला तर त्यसको तल्लो तहसम्मको प्रभाव भने प्रत्यक्ष देखिने अवस्थामा छैन । 

विभिन्न देशका उदाहरण हेर्ने भने मातृभाषा शिक्षा सम्भव र सफल देखिन्छ । धनाढ्य युरोपियनदेखि गरिब अफ्रिकन मुलुकमा समेत यसको सफल प्रयोगका दृष्टान्त पाइन्छन् । छिमेकी भारतले पनि केही मात्रामा यसतर्फ फड्को मारेको छ । एउटै भाषाको बाहुल्य भएको ठाउँमा मातृभाषा शिक्षा तथा भिन्न–भिन्न भाषा बोलिने क्षेत्रमा बहुभाषी शिक्षा भनेर यसका सफल प्रयोग गरिएका छन् । केही उदाहरण हेरौँ :

१. अरुबा : क्यारेबियन मुलुक आरुवा मातृभाषा शिक्षा लागू गरेर सफल भएको देशमा पर्छ । भेनेज्वेला देश छेवैमा पर्ने यस मुलुकमा डच भाषा राष्ट्रिय हो र यो सबै विद्यालयमा पढाइन्छ । यसका अतिरिक्त अंग्रेजी र स्पेनिस भाषासमेत पढाइन्छ । डच, अंग्रेजी र स्पेनिसजस्ता बहुसंख्यक विश्व नागरिकले बोल्ने भाषामा व्यावहारिक र विद्यालय दुबैको ज्ञान बोकेका आरुबाका नागरिक धेरै क्षेत्रमा भाषिक शिल्पकै कारण पनि अग्रणी मानिन्छन् ।

२ं. लग्जमबर्ग :  युरोपको धनी राष्ट्र लग्जेमबर्गमा हरेक नागरिकले कम्तीमा चार भाषामा आफूलाई पोख्त पाछ्र्र । स्थानीय रूपमा लग्जेमबर्गिस भाषा बोल्ने यस देशका नागरिकले जर्मन, फ्रेञ्च र अंग्रेजी भाषासमेत अनिवार्य रूपमा विद्यालयमा पढ्नै पर्छ । 

३. सिंगापुर : सिंगापुर एशियाको सबैभन्दा धेरै राष्ट्रिय भाषा भएको मुलुक हो । यहाँ अंग्रेजी, मलाय, तामिल र चिनियाँ भाषाको शिक्षाको व्यवस्था छ । 

४. दक्षिण अफ्रिका : ११ वटा यो देशका आधिकारिक भाषामा पर्छन् । संसारको सबैभन्दा धेरै आधिकारिक भाषा भएको देश दक्षिण अफ्रिकामा कम्तीमा एउटा नगरिकले तीन वटा भाषामा दख्खल राख्छ । औपचारिक शिक्षा र विद्यालय तथा विश्वविद्यालयमा यी भाषाको प्रयोगले यो सम्भव भएको हो । 

हाम्रो सामाजिक वस्तुस्थितिले यस्तो प्रणाली कार्यान्वयनमा सहज बनाउँछ । आज केपी शर्मा ओली मज्जाले राजवंशी भाषामा कुरा गर्न सक्छन् । ओलीले आफ्नो जीवनको प्रारम्भिक खण्ड झापामा बिताएको हुँदा त्यहाँका राजवंशीको संगतले उनी त्यस भाषामा पोख्त छन् । उता, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत मैथिली भाषामा माहिर छन् । कतिपय आफ्ना सभाको सम्बोधनसमेत मैथिलीमै गर्छन् । रौतहटमा रहँदा मैथिल समुदायसँगको उठबसले त्यो सम्भव भएको हो । जुन भाषिक समुदायको घना बस्तीमा मान्छे बसेका छन् त्यस ठाउँमा चलेको भाषा जान्नु स्वाभाविक पनि हो । त्यही भएर त आज तेह्रथुमको खनालले लिम्बू भाषा बुझ्न र बोल्न सक्छ, धादिङको बस्नेतले तामाङ बुझ्न सक्छ ।

उता, सोलुको राईले शेर्पा बुझ्न सक्छ । यही सामाजिक अन्तरघुलन नै नेपालमा मातृभाषी वा बहुभाषी शिक्षा लागू गराउने उपलब्ध सामाजिक आधार हुन् । विद्यालयमा नपढी समाज पढेर त यस्तो भाषिक दख्खलता देखिन्छ भने अझ शिक्षामा अनिवार्य लागू गराएको खण्डमा कस्तो सुन्दर विकास होला त्यो हामी अनुमान लाउन सक्छौँ । यो समानताको समय मगराँतमा बस्ने नेपालीभाषीले त्यहाँ गएर नेपालीसँगै मगर भाषामा पढ्ने समय पनि हो, जसरी आफ्नो मातृभाषा नभइकन एउटा मगरले नेपालीमा पढिरहेको हुन्छ । 
 

टिप्पणीहरू