एमालेको गढमा रविको जगजगी

एमालेको गढमा रविको जगजगी

चितवन क्षेत्र नम्बर २ मा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

नेकपा एमालेको गढ भनिने इच्छाकामना गाउँपालिकाका सबै वडाको गणना सकिँदा लामिछानेले अग्रता झन्डै दोब्बर बनाएका हुन् । मतगणनाको पछिल्लो अपडेट अनुसार उनले ४ हजार ३५८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले जम्मा २ हजार ५४४ भोट ल्याएका छन् ।  

इच्छाकामनामा खसेको कुल ९ हजार ४४० मतगणना हुँदा २ हजार २०५ मत प्राप्त गरेका नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ तेस्रो स्थानमा छन् ।

मङ्सिरको आमनिर्वाचनमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले लिड गरेको यस क्षेत्रमा यसपटक एमाले उम्मेदवार कम्जोर देखिए । यहाँ एमाले उम्मेदवार न्यौपानेको भन्दा लामिछानेको मत १ हजार ८१४ बढी छ ।

ग्रामीण इलाकाहरु भएको इच्छाकामनामै लामिछानेले झन्डै दुई हजार मत बढी पाएकाले शहरी क्षेत्रमा पुगेपछि अग्रता थप फराकिलो हुने निश्चित देखिएको छ । मंसिरको चुनावमा पनि उनले भारतपुर महानगरलगायत शहरी इलाकाबाट एक छापे भोट पाएका थिए ।  

चितवन–२ मा ७८ हजार २७७ मत खसेको छ ।

टिप्पणीहरू