साढे १२ हजार मत गन्न बाँकी छँदै विजय जुलुस सार्वजनिक
तनहुँ क्षेत्र नम्बर १ बाट डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । उनी ३४ हजार ९१९ मत प्राप्त गरेर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन् । एमालेका सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाएर तेस्रो भएका छन् ।
अहिले बिहान ८ बजे सांसद निर्वाचित प्रमाणपत्र ग्रहण गरेपछि उनको विजय जुलुसको तयारी थालिएको छ । सदरमुकाम दमौलीको अनसन चौतारीमा उनले मतदातालाई धन्यवाद दिएपछि १० बजे विजय जुलुस गर्न लागिएको हो ।
कार्यक्रमअनुसार बिहान १० बजेदेखि साढे ११ बजेसम्म दमौलीबाट बन्दिपुरयात्रा,त्यसपछि डुम्रे, डुम्रेबाट १ बजे हिँड्ने यात्रा नारेश्वरटारमा २ बजे पुग्नेछ । त्यसपछि आँबुखैरेनी र साढे ४ बजेदेखि साढे ५ बजेसम्म देवघाट पुगेर मतदातालाई धन्यवाद दिने बताइएको छ ।
वाग्लेको उक्त यात्रा विवरण ५१ हजार २१९ मतगणना भएपछि तयार पारिएको थियो । जतिबेला उनले २६ हजार ८२७ मत पाएका थिए । भट्टराईले १५ हजार ४५४ र खनालले ७ हजार २८९ मत पाएको अवस्थामा एउटा टोली धन्यवाद यात्राको विवरण बनाउन तल्लिन भएको हो ।
त्यतिबेला गन्न बाँकी मत १२ हजार ५३८ थियो भने वाग्लेको मतान्तर ११ हजार ३७३ थियो ।
टिप्पणीहरू