सिँञ्जाले बुझेको पत्रकार र काठमाडौँको ‘ब्लण्डर’
– दीपक खनाल
अज्ञानीलाई ज्ञान सिकाउने
अशिक्षितलाई शिक्षा दिलाउने
पत्रकारलाई स्वागत नमस्कार !
वि.सं.२०७९ साल चैत्र २२ गते मध्यदिनतिर जुम्ला जिल्लाको ऐतिहासिक सिंजा उपत्यकाको सिंजा गाउँपालिका वडा नं २ विष्टबाडास्थित खस सुजा संग्रहालयमा पुग्दा स्थानीय कलाकार दिदीबहिनीहरूले यो लेखकसहितको टोलीलाई सिंजाली भाषामा यसरी स्वागत गर्नुभयो । साथमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष संगीता खड्का, प्रेस काउन्सिलका सदस्य दीपक पाण्डे, काउन्सिलका पूर्व सदस्य पत्रकार मनऋषि धितालसमेत भएकाले होला म र सहकर्मी साथी विष्णु शर्मा लम्साललाई पत्रकार नै भनेर सम्मान गर्नुभयो। सिंजा नेपाली संस्कृति र सभ्यताको उद्गमभूमि भएकाले त्यो छाप सिंजाले छाड्नु नै पर्दथ्यो, छाड्यो नै ।
हाम्रो लक्ष्य भने सिंजा थिएन । मुगु जिल्लाको रारा ताल पनि प्रमुख ‘मिसन’ थिएन। मूल ‘मिसन’ जुम्लाकै खलंगामा पत्रकार आचारसंहितासम्बन्धी जागरण कार्यक्रम सम्पन्न गर्नुथियो। त्यो कार्यक्रम २३ गते गर्ने इन्तजाम भए पनि सम्भव भएन । पहिलो कारण, त्यही दिन नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल र एमालेकै प्रचार विभाग कर्णाली प्रदेशको पनि कार्यक्रम जुधेकाले पत्रकार नै प्रभावित हुने देखियो । दोस्रो कारण, कर्णालीकै कालिकोट जिल्लामा चैत २१ र २२ गते सम्पन्न नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको साधारण सभामा पत्रकार नेताहरू नै गएकाले त्यहाँ आउन समय लाग्ने भयो । यहीबीचको समय सदुपयोग गर्दै रारा जाने मेसोमा हामी सिंजा पुगेका थियौँ । नत्र त कालिकोटकै नाग्ममा खाना खाएपछि सिंजा नगई सिंजाभन्दा ३६ किलोमिटर वरबाटै खलङा जाँदा पनि हुनेरहेछ।
हिँड्दा हिँड्दै तात्तातो योजना बनाउन माहिर मेरा परम मित्र मनऋषिको जन्म जिल्ला पनि जुम्ला नै भएकाले उहाँले ‘सरप्राइज’ दिँदै बीचबीचमा नै योजनाहरू बनाइसक्नुभएको रहेछ। सुजा संग्रहालय पुग्नुअघि नै जाँदाजाँदै ठाउँ ठाउँमा वडाध्यक्षदेखि मनऋषिको ठुल्दिदी अनि अन्य स्थानीय जनता फूल, गहुँ, जौको माला, अबिर लिएर लाम लागिसक्नुभएको थियो । उहाँहरूले स्थानीय जडिबुटीको चिया, लङ, छोकडाले स्वागत गर्दा सिंजाको सँस्कृति र सभ्यता मनभरि छचल्कियो। यद्यपि मैंले फूलमाला, अबिर, टिका लगाइन । किनकि यसबारे मेरो फरक बुझाइ र व्याख्या छ ।
यस्ता स्वागत, सम्मान यात्राका प्रक्रिया हुन् । सिंजाको अत्यन्तै छोटो दृश्यावलोकनका क्रममा मनमा तत्काल दुइटा विषयले चिमोट्यो । एक, भाषा, सँस्कृति, पुरातत्व, शासन, प्रशासन, राजनीति, व्यापार – व्यवसाय, धार्मिक पर्यटन, उत्पादन आदिको ऐतिहासिक महत्व बोकेको सिंजाको विकास अझै हुन बाँकी रहेछ । यहाँको संग्रहालयको त झनै व्यवस्थित संरक्षण, अध्ययन प्रचार नभइ नहुने रहेछ । ५–१० मीनेटको समयमा हिँड्दाहिँड्दै स्थानीय धर्मराज तिवारी लगायतले खुसुक्क कानमा सुनाउन भ्याउनुभो मूलभूतः समस्या। समयको पावन्दी अनि यात्रा र कार्यक्रमको चापाचापका कारण धेरैबेर बसेर भएभरका समस्या र सम्भावनाबारे कुरै गर्न पाइएन। (सिँजासहित सिंगो जुम्लाको विविध पक्षबारे पछि विस्तृत रूपमा लेख्नेछु । )
युट्युबको नाममा फैलिने धेरैजसो ’हावादारी’ प्रचारबाजीले वास्तविक पत्रकार ओझेलमा पर्ने र यस्ता ‘हल्लाखोर’हरू नै खास पत्रकार कहलिने विकृति बढेर गएको देखिन्छ ।
दुई, पत्रकारलाई हेर्ने, चिन्ने र बुझ्ने सिँजालीहरूको चेतना निकै उच्च लाग्यो । सायद काठमाडौँ र अन्य ठाउँले पत्रकार र पत्रकारितालाई यसरी बुझेको छैन कि ? योभन्दा फरक रूपमा बुझेको छ कि ! अरूले सयौँ परिभाषामा व्याख्या गर्न नसकेको पत्रकारको परिभाषालाई सिँजाली दिदी बहिनीहरूले एउडा डेउडा गीतको दुई लाइनमा लिपिबद्ध गरिदिनुभयो। उहाँहरूले भनेजस्तै पत्रकार र पत्रकारिता पेशा सबैको गुरु हो । अशिक्षितलाई शिक्षा दिलाउने तागत भएको पेशा हो । जस्तो कि एउटा शिक्षकले एकपटकमा सय–पचास मात्र विद्यार्थीलाई पाठ्यक्रमको शीर्षक सिकाउन, पढाउन सक्छ तर एउटा पत्रकार र पत्रकारिता(मिडिया)ले एकपटकमा अनगिन्ती मानिसलाई पढाउन, सिकाउन, बुझाउन, कुनै कार्य गर्न वा नगर्न उत्प्रेरणा जगाउन सक्छ।
नेपाली भाषाको उद्गमस्थल सिंजा र सिंजालीको यो बुझाइ झैँ सिंगो काठमाडौँको सिँहदरबार र गाउँ गाउँका सिँहदरबारहरूले आम पत्रकार, पत्रकारिता र आमसञ्चारलाई यही रूपमा बुझ्न नसक्नु विडम्बना हो । किनकि जनस्तरमा पत्रकार र पत्रकारिताप्रतिको यति गहन र महान् बुझाइ भए पनि शासकीय तहले पत्रकार र पत्रकारिता पेशा तथा पत्रकारिता एवम् आमसञ्चार विषयलाई यस्तरी बुझेको, हेरेको पाइँदैन । संघीय हुन् या प्रादेशिक या स्थानीय शासक, यिनीहरूको दृष्टिकोण स्वच्छ छैन पत्रकार, पत्रकारिता तथा आमसञ्चार विषयप्रति । यस्तै विभिन्न राजनीतिक दल, संगठन, शक्तिमा रहेका व्यक्ति, पत्रकारिता र आमसञ्चार नबुझेका, नपढेका पदासीनहरू सबैलाई एउटै डालोमा हालेर आम पत्रकारलाई ‘मगन्ते’ र पत्रकारितालाई ‘मागिखाने पेशा’ जस्तो ठान्दछन्। राजनीतिक पार्टी र विभिन्न संगठन, शक्तिकेन्द्रका मानिस सकेसम्म पत्रकारलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न चाहन्छन्, खोज्छन्। नसके विरोध गर्छन्, धम्की दिन्छन् । त्यो पनि नसके कृष्ण सेन, डेकेन्द्र थापा या उमा सिंह बनाउँछन्।
अर्कोतिर स्वच्छ, स्वस्थ, मर्यादित, सन्तुलित पत्रकारिता पेशामा अन्य पेशामा जस्तो कमाइ नहुने हुँदा कम कमाउने या कमाउन नसक्ने पत्रकारलाई हेर्ने सामाजिक दृष्टिकोण अल्लि फरक पाइन्छ। यही भएर कतिपय पत्रकार यो पेशाबाट बाहिरिन वा पलायन हुन बाध्य छन् । यस्तै बुझाइ, हेराइ र सोचाइका कारण कहिले नेता, मन्त्री त कहिले सभामुखकै ‘टङस्लिप’ हुन्छ पत्रकार र पत्रकारिताप्रतिको बुझाइ, हेराइ र सोचाइमा । त्यसो त पत्रकार, पत्रकारिता र आमसञ्चारप्रतिको हेराइ नकारात्मक बन्दै जानुमा स्वयम् पत्रकारकै कम दोष छैन। पत्रकारहरूकै अनेक कमी–कमजोरी छन् ।
सत्य, तथ्य नबुझी जथाभावी कलम, कापी र क्यामेरा चलाउने पत्रकारका कारण यो सम्मानित पेशा र पेशाकर्मीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ । यस्तै विज्ञापन, पुरस्कार, सम्मान, पदक, तक्मा लिन स्वयम् पत्रकारले प्रदर्शन गर्ने गैरपेशागत व्यवहारबाट सिंजाले बुझेको पत्रकार र पत्रकारिताप्रतिको विश्वास मर्दै जाने खतरा छ । साथै यससम्बन्धी जतिसुकै पढाइ, तालिम, गोष्ठी, अन्तक्र्रिया, अनुगमन भए पनि झन् पछिल्लो पुस्ताको पत्रकारले गतिलो र अनुसन्धानमूलक व्यावसायिक पत्रकारिता भनेकै जतिसक्दो छिटो ‘कट पेस्ट पोष्ट’ गर्नसक्नु हो भनेर बुझेको छ । यस्तै बुझाइएको छ, बुझाउन बाध्य पारिएको छ । जस्तो कि सानो उदाहरणको चर्चा गर्दा, झण्डै ४ हजारको हाराहारीमा दर्ता/सूचीकरण भएका अनलाइन माध्यमको ‘साभारकारिता’ बाट खोजी पत्रकारिता गर्ने, गर्न रूचाउने पत्रकारहरू नै लज्जित बन्नुपर्ने अवस्था छ । यस्तै युट्युबको नाममा फैलिने धेरैजसो ’हावादारी’ प्रचारबाजीले वास्तविक पत्रकार ओझेलमा पर्ने र यस्ता ‘हल्लाखोर’हरू नै खास पत्रकार कहलिने विकृति बढेर गएको देखिन्छ ।
यस्तो अवस्थामा पनि काठमाडौँलाई कुनै हतार भएको छैन । मुलुकलाई कति आमसञ्चार माध्यम र पत्रकार चाहिने हो ?, कस्ता व्यक्तिलाई मिडियामा लगानी गर्न दिने हो ? कस्तो कस्तो व्यक्तिलाई पत्रकार बनाउने हो ?, राम्रो पत्रकारलाई कसरी यही पेशामा टिकाउने हो भनेर कहिल्यै चिन्तित हुँदैन काठमाडौँ । जुनीभर बहस, छलफल चलाउँदैन काठमाडौँ । संविधानमा उल्लिखित मौलिक हकअनुसार जसले पनि मिडिया खोल्न, चलाउन पाउँछ भनेर सधैँ परपर सर्छ ऊ । आमपत्रकारलाई सकारात्मक पत्रकारितातर्फ ’मोटिभेट’ गर्न नसक्नु वा सिंजाले झैँ पत्रकारिता पेशाको महŒव र गहिराइ बुझ्न, बुझाउन नसक्नु काठमाडौँको ‘ब्लण्डर’ हो । अनि समग्रमा दोषी संघीय सत्ताका सबै सरोकारवालाहरू हुन् । हुन त नेपाल पत्रकार महासंघले बल्ल आएर आप्नै टाउकोमा आगो झोस्दै सदस्यता शुद्धीकरण अभियानमा उत्रिएको घोषणा गरेको छ अनि कतिपय पत्रकार महासंघ शाखाहरूले अबउप्रान्त सदस्यता वितरणमा ‘डोजर’ लगाउने उद्घोष गरेका छन् । योसहित पत्रकार आचारसंहिता पालना र ‘कन्टेन्ट’ को समेत शुद्धीकरणप्रति देशभरका आमपत्रकार सचेत र सजग बने, बनाउन सकियो र काठमाडौँले नयाँ नीति, योजना ल्याउन सक्यो भने सिंजाले बुझेको÷गरेको पत्रकार र पत्रकारिताप्रतिको विश्वास÷सम्मान कायम नै रहन्थ्यो कि ?
– गोरखा पुगेर
टिप्पणीहरू