घनश्यामसामु मेयर मीना बम–बम

घनश्यामसामु मेयर मीना बम–बम

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७४ औँ वर्ष पुगेको अवसर पारेर हेटौँडामा नेकपा एकीकृत समाजवादीले अगुवा कार्यकर्ता भेला गरेको थियो । भेलामा मुख्य वक्ता थिए– महासचिव घनश्याम भुसाल । तत्कालीन १० बुँदे भनिएका,पछि निर्वाचनमा पनि अवसर नपाएका र गठबन्धनले स्वतन्त्र उम्मेदवारीलाई अनुमोदनसमेत गरी सघाउ पुर्‍याएका घनश्यामको बोली र प्रशिक्षण सुन्न सबैजना लालायित भइरहेकै बेला हेटौँडा उपमहानगरपालिकाकी मेयरको एकाएक गर्जन सुनियो हलमा । बिरामी भएर अपरेसन सकी आराम गरिरहेकी मीना लामाले सुस्त सुस्त बोलिन् तर हालसम्मकै कडा बोलिन् । पटक पटक महासचिवलाई संबोधन गर्दै भनिन्–‘यस्तै पाराको गठबन्धन पार्टीले जिन्दगीभर गर्नु हुँदैन ।’

उनले यसो भनिरहँदा भुसालले एकोहोरो हेरिरहे । खासमा मेयर मीना कांग्रेससँग भर्खरै झगडा गरेर कार्यक्रममा आएकी रहिछन् । समुन्नत हेटौँडा बनाउनका लागि अन्तरक्रिया कार्यक्रम आयोजना भएको रहेछ । त्यो कार्यक्रममा पूर्वमुख्यमन्त्री समेत रहेका पूर्वमेयर डोरमणि पौडेललाई पनि आमन्त्रण गरिएको थियो । कांग्रेसका वडाध्यक्षहरूले ‘डोरमणिलाई किन बोला’को ?’ भनेर मेयर मीनालाई डोरमणि आएमा आफूहरूले बहिष्कार गर्ने जनाएछन् । एकातर्फ आफ्नो स्वास्थ्य अवस्था कमजोर, अर्काेतिर कांग्रेसका वडाध्यक्षहरूको त्यस्तो हर्कत । रिसले क्रुद्ध बनेको मीनाले सिधै कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँलाई टेलिफोन गरेर ‘तपाईंका वडाध्यक्षहरूले भन्न र गर्न खोजेको के हो ? आजैका मितिबाट हाम्रो सहयात्रा सकियो, म पनि अब प्रेस मिट गर्दैछु’ भनेपछि कांग्रेस जिल्ला सभापति बुद्ध लामासहित वडाध्यक्षहरूलाई समेटेर बानियाँले कार्यक्रममा लगेको स्रोत बताउँछ । 

यसरी एमाले (खासगरी विद्या भण्डारी) को प्रिय भएकै कारण मुख्यमन्त्री बन्ने अवसर पाएका पूर्वमेयर डोरमणिलाई कार्यक्रममा निम्ता गरेकै भरमा तनाव खेप्नुपरिरहँदा उल्टै संबोधनमा डोरमणिले मेयर मीनाकै कुरा काट्न भ्याए । ‘मेयर भएर ५–१० हजारको तोक लाएर बस्ने होइन, के सचिवालय बनाएको त्यस्तो ?’ भन्दै डोरमणिले सार्वजनिक कार्यक्रममै मीनालाई अर्तिबुद्धि दिएको बताइन्छ । दुर्भाग्य त के भने उनै डोरमणि मुख्यमन्त्री हुँदा लोकल माछा र लोकल कुखुराका स्वाद चाख्न गाउँ गाउँ डुलेको र आफ्नै पार्टीका नेताहरू समेत नचिन्ने मान्छेलाई सचिवालयमा राखेको भुसुक्कै भुलेको चर्चा छ । मुख्यमन्त्री भएलगत्तै तत्कालीन एमालेका नेता (हाल समाजवादी छाडेर बसेका) केदार न्यौपाने डोरमणिलाई कार्यालयमा भेट्न जाँदा स्वकीय सचिवले नचिनेर भित्र जान नदिएको किस्सा पनि बेला बखत आउने गर्छ ।

यसरी कांग्रेस र डोरमणिबाट ‘इरिट्रेट’ पारिएकी नेत्री मीनाले घनश्यामसामु आफूलाई पटक–पटक कांग्रेसले हामीले भोट हालेर जिताएको मेयरले भनेको मानेन भन्ने हिसाबले असहयोग गरिरहेको सुनाएकी थिइन् । ‘हामीले पनि त उनीहरूलाई भोट हालेका हौँ नि, उनीहरूको भोट मात्रै हामीले पाएका हौँ र ?’, लामाको आक्रोश थियो । एकपटक भोट हाल्देकै कारण आजीवन उनीहरूको दासजस्तो हुनुपर्ने स्वभाव कांग्रेसले देखाएकोमा मीनाको आक्रोश थियो । 

पटक–पटक ताली खाएकी मीनाले अन्तिममा फेरि कार्यकर्ताको मन जितिन् । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलकै सक्रियतामा फराकिलो पार्नबाट रोकिएको हेटौँडा बजारलाई कुनै पनि मानेमा विस्तार गरी छाड्ने घोषणा गरिन् । ‘अस्ति भौतिक पूर्वाधार विकास मन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीलाई समेत भेटेर आवश्यक व्यवस्था मिलाइदिनु भनिसकेँ, अब कुनै पनि हिसाबले संघीय सरकारले प्रक्रिया सुरु गरिदेओस्, मेरै नेतृत्वमा हेटौँडा फराकिलो पार्छु, पार्छ, पार्छु’ मीनाले भनिन् । उनले घनश्यामतर्फ फर्कंदै भनिन्– ‘हाम्रै पार्टीका भौतिक पूर्वाधार विकास मन्त्री छन्, महासचिव कमरेडले पनि भनिदिनुस्, संघीय सरकारले प्रक्रिया सुरु गरोस्, म फिल्डमै खटिएर यो काम गर्नेछु । 
 

टिप्पणीहरू