बैंकिङ क्षेत्र सय जना व्यापारीको कब्जामा रहेको सांसदको ठहर
राष्ट्रिय सभाको आजको बैठकमा बैंक ब्याजदर, कर्जा र समग्र अर्थतन्त्रमा परेको असरबारे प्रश्न उठाइएको छ । बैठकमा सहभागी सांसद उदयबहादुर बोहराले केन्द्रीय बैंकको समेत चर्को आलोचना गरेका छन् ।
उनले मुलुकको बैंकिङ क्षेत्र एक सय जना व्यापारीको कब्जामा रहेको उल्लेख गर्दै भने, ‘बैंकहरुले गरेको लगानीको ७० प्रतिशत उपभोग ती सय जनाले गरेका छन् । बाँकी ३० प्रतिशत मात्रै आमनेपालीको हातमा जाने गरेको छ । त्यो पनि चर्को ब्याजमा ।’
चर्को ब्याजको कारण सर्वसाधारण मर्कामा परेको उनको भनाइ छ । संस्थागत निक्षेप संकलन नै चर्को ब्याजमा गरिएकाले बैंकहरुले कर्जा पनि सोहीबमोजिम महँगोमा प्रदान गर्नुपरेको बोहराले उल्लेख गरे ।
वाणिज्य बैंकहरुको नियमनकारी केन्द्रीय बैंक, उसको नीति निर्देशनले नचिन्ने बैंकर्स संघले कर्जा र निक्षेपको ब्याजदर तोकिएको गलत अभ्यासलाई उनले गलत अभ्यास भनेका हुन् । मुलुकको वित्तीय क्षेत्रमा उक्त अभ्यास गम्भीरखालको गलत प्रवृत्ति भएको बोहराको भनाइ छ । एउटा संघले मुलुकका बैंक तथा वित्तीय संस्थाको ब्याजदर तोकेको विषयलाई सरकार र नेपाल राष्ट्र बैंकले आँखा चिम्लिएको उनले आलोचना गरेका हुन् ।
‘के कारणले केन्द्रीय बैंक र सरका संघको उक्त गलत अभ्यासप्रति मौन छ ?,’ बोहराले प्रश्न गरे । प्रचलित कानुन र नियम विपरित ब्याज तोक्ने संघको उक्त कार्यलाई तत्काल रोक्न माग गरिएको छ । यो कार्यलाई सरकार र केन्द्रीय बैंकले गम्भीरतापूर्वक लिनुपर्ने उनको माग छ ।
बैंकहरुको मुनाफा बढेको सन्दर्भ जोड्दै उनले आर्थिक शिथिलता, कोरोना महामारीको प्रकोप हौवा मात्रै भएको जिकीर गरे । नबिल बैंकले पछिल्लो नौ महिनामा कमाएको ५ अर्ब हाराहारीको नाफालगायत सबै बैंकको बढ्दो बैंकको औचित्यमाथि उनले प्रश्न उठाएका हुन् । यता सर्वसाधारणलाई चर्को ब्याज थोपर्ने र बैंकका साहुजीहरुले लाभांशवापत अर्बौं नाफा बटुल्ने प्रवृत्तिमाथि रोक लगाउनु सरकार र केन्द्रीय बैंक पछाडि हटेकोमा उनले रोष प्रकट गरेका छन् । ‘यसमा तुरुन्त नियन्त्रण होस्,’ बोहोराले भने ।
टिप्पणीहरू