डिम्पल गालाले, मर्नुझैँ बनायो उनको चालाले
हाम्रो समाजमा स्थापित भाष्य, ‘केटा बदमास, फटाहा, ठग !’ तर, अब भाष्य बदलियो, केटीमा त्यो कुरा लागू हुन थाल्यो । केटा ठगेर केटीले आफ्नो घरबार नै बसाउने र चलाउने दिन आयो । यसरी एक युवतीबाट एक जना सज्जन ठगिए । फलतः केटाको लाखौंको लगानी ‘बालुवामा पानी’ बन्न पुगेसँगै उनी मर्नु न बहुलाउनुको अवस्थामा छन् ।
आफू ठगीमा परेको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयदेखि अदालतसम्म उपस्थित हुन्छन् । तर, न्याय मिल्दैन । के महिलामाथि हुने हिंसाचाहिँ हिंसा, पुरुषले भोग्नेचाहिँ हिंसा होइन ? यो पीडा हो सोमबहादुर गुरुङको । उनको प्रश्न छ, ‘महिलाका लागि तत्काल आकर्षित हुने कानुन पुरुषका लागि किन हुँदैन ?’ सहमतिमा यौन सम्बन्ध राखेको भए पनि महिलाले आरोप लगाएको २४ घण्टा बित्न नपाउँदै पुरुष ‘बलात्कारी’ हुन्छ । महिलाबाट साँच्चै पीडित एउटा पुरुषचाहिँ रीतपूर्वक जाहेरी दिँदा पनि हाँस्यको पात्र मात्रै बन्छ । उनका पीडाका भाका प्रश्नको थुप्रो बन्छ, अनुसन्धानको विषय बन्दैन । सोमबहादुर सोध्छन्, ‘यो कस्तो न्याय ? यो कस्तो कानुनी संरचना ?’
कथा यस्तो छ–
सिन्धुपाल्चोककी सविता लामा निर्माण व्यवसायी ठेकेदार पिताको साथ लागेर लमजुङ बेँसीतिर ओर्लिन्छिन् । त्यहीँको मस्र्याङ्दी क्याम्पस, बेंसीशहरमा १२ कक्षामा भर्ना हुन्छिन् । खासै पढाइ लेखाइ नभएका सोमबहादुर वैदेशिक रोजगारको सिलसिलामा पुग्छन् दुबई । एक दिन सामाजिक सञ्जाल चलाउँदै गर्दा भेटिन्छिन् सविता लामा । रिक्वेस्ट पठाएको पाँच मिनेट नबित्दै स्वीकार हुन्छ । कार्यालय समय सकिएपछि उनी हरेक दिन सामाजिक सञ्जालमा सवितासँग भलाकुसारी गर्न थाल्छन् । गालामा डिम्पल पर्ने सविताको मुस्कान देखेर लठिन्थे । उनीहरूबीच कुनै नाता/सम्बन्ध थिएन । तर हरदिन कुराकानी चल्दै गयो । दिन बित्दै गयो । हरेक दिन घण्टौं यसरी गफिँदै गर्दा थाहै नपाई दुई दिल एकै भएको महसुस गर्न थाले सोमबहादुर । आजभन्दा भोलि, भोलिभन्दा पर्सि । सवितासँग एक पल कुरा गर्न नपाउँदा नियास्रिन थाले ।
गालामा डिम्पल पर्ने साेविताकाे मुस्कान देखेर लठ्ठिन्थे । उनिहरूबीच कुनै नाता सम्बन्ध थिएन ।
भेटघाट र सम्पर्क यसरी बाक्लिँदै गएको सोमको दिल सोवितामाथि बस्दै गयो । कोमल मनका उनको कमजोरी थियो कसैको दुःख देख्न नसक्ने । अरुको दुःख, पीडा र दर्दलाई पनि आफ्नैझैँ ठान्ने । आफ्नो सानो वचन र सहयोगले कसैको जिन्दगीको नक्सा फेरिन्छ र जिन्दगी नै कायापलट हुन्छ भने ‘सहयोग गरौँ न त’ भन्ने भावका । उनी नजिकिँदै जाँदा केटीका केही चाहना र फरमाइस आउन थाल्यो । उनका हरेक ‘फर्माइस’ पूरा गराउँदै गए । कहिले कुर्ता सुरुवालका लागि पैसा पठाइदिए तर कहिले बर्थ डे र भ्यालेन्टाइन्स डेका नाममा महँगा–महँगा गिफ्ट । फलानो दिन त ‘मेरो बर्थ डे नि’ भन्थिन् । मागेको कुरा पु¥याउँदै गएपछि एउटा बर्थडेमा सुनको सिक्रीको प्रस्ताव गरिन् । उनको एकै प्लिजका अगाडि सोमबहादुर गलिहाल्थे । ओके भनिहाल्थे । र, बर्थडेमा एक तोलाको सुनको सिक्री किन्नका लागि पैसा पठाइदिए । हरेक फर्माइस पूरा हुन थालेपछि सोविताका सोख र महत्वाकांक्षा दिन दुई गुणा रात चौगुणा बढ्दै गयो ।
कुराकानीकै सिलसिलामा सविताले डाक्टरी पढ्ने इच्छा देखाइन् । तर, डाक्टरी पढ्नका लागि पैसाको अभाव भएको बताएपछि उनले खाडीमा दुःख गरेर कमाएको रकम सविताको नाममा पठाउन थाले । सोम यसरी लचिलो भएर सविताका लागि लगानी गर्न तयार हुनुपर्ने कारण थियो, सामाजिक सञ्जालबाटै सविता श्रीमती बन्न राजी भइसकेकी थिइन् । सोम स्वदेश फर्किएपछि धार्मिक परम्पराअनुसार विधिवत् रूपमा विवाह गरेर श्रीमती बन्न राजी भएकी थिइन् सोविता । श्रीमती भनिसकेपछि सोमले उनलाई लगानी नगर्ने कुरा पनि भएन । खाडीमा बगाएको श्रम–पसिनाबाट आर्जित रकम सोविताको खातामा हाल्दै गए । सोवितालाई डाक्टर बनाएर आफ्नो भविष्य उज्ज्वल बनाउने सपना देखे र लगानी गर्दै गए । उनलाई डाक्टर बनाउन शुरुमा पटक–पटक गरी २० लाख पठाए । फर्माइस थपिँदै गयो, उनले विभिन्न मितिमा सोवितालाई पठाएको २० लाखको स्लिप उनीसँगै सुरक्षित छ । यसरी आफूले खाडीमा श्रम बेचेर पठाएको रकमले सोविताले चितवनको मिडिकल कलेजमा भर्ना भएको सुनाइन् । खुशीले पुलकित हुन्थे सोम । दिनभरको कामबाट थाकेर कोठा फर्कन्थे । श्रीमान् श्रीमती नै बन्न राजी भइसकेका कारण उनी मन बहलाउन सोवितासँग जिस्किन्थे । जिस्कँदा जिस्कँदै सोविता नग्न बनिदिन्थिन् । उनी स्खलित हुन्थे । एउटा कुमार केटो युवतीको मोहनीमा यसरी फस्दै गए कि अहिले त्यहाँबाट निस्कन नसकेर निस्सासिने अवस्थामा पुगेका छन् ।
विवाह गर्ने र सुख सयलसँग स्वदेशमै जीवन बिताउने योजना बुनेर यही चैतको मध्यमा सोम दुबईबाट स्वदेश फर्किए । स्वदेश फर्किएपछि सोविताले बोक्ने गरेको मोबाइलमा डायल गरे, जतिखेर डायल गर्दा तारान्तार एउटै कर्कश आवाज सुन्न थाले ‘माफ गर्नुहोला,तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ । ‘एक दिन, दुई दिन हुँदै हप्ता, दुई साता बित्यो । स्वदेश फर्किएको आधा महिना बित्दा पनि केही भेउ पाएनन् । एक दिन सोविताले बोक्ने गरेको नम्बर अन भयो । सोविताको आवाजको पर्खाइमा थिए उनी । उताबाट उनी सविता भन्दै थिए यताबाट कर्कश केटाको आवाज निस्कियो ‘को हो सविता म चिन्दिनँ ।’ बल्ल उनको मनमा चिसोे पस्यो’ आफू छाँगाबाट खसेझैँ भए । यसरी आफू ठगिएको जाहेरी बोकेर उनी प्रहरीकोमा पुगे । प्रहरीले यो हाम्रो क्षेत्राधिकार होइन भन्दै उजुरी नै दर्ज गर्न मानेन । जिल्ला प्रहरी कार्यालय लमजुङका चोटाकोठा धाए । भेटिएका सिपाहीदेखि डिएसपीसम्मलाई नमस्कार टक्र्याए । तर, प्रहरीको मुखबाट एउटै कुरा आयो यो हाम्रो कार्यक्षेत्र पर्दैन ।
यस्तो उजुरी हामीले लिन मिल्दैन भन्दै अदालतलाई देखाएर प्रहरी उम्किन खोज्यो । उनी न्याय पाइने आशमा अदालतको ढोका ढकढकाउँछन् । अदालतले प्रहरीलाई देखाएर उम्कन्छ । न्यायको खोजीमा भाैँतारिएका उनी घरी अदालत, घरी प्रहरीतिर धाइरहेका छन् । जसरी बिरालाले मुसालाई खेलाउँछ उसैगरी उनलाई न्यायालय र सुरक्षा निकायले खेलाइरहेको छ । शुरुमा आफ्नो ‘मजबुरी’ देखाउने, अनि औँलो दिँदै गएपछि डुडुलो नै निल्ने नयाँ प्रकृतिका ठगी धन्दामा परेका सोम उजुर बाजुर गर्छन् तर सरकारी निकाय कोही उजुरी लिन मान्दैनन् । उल्टै हाँसोको पात्र बनाउँछन् र उडाइरहेका छन् । सोम अहिले विक्षिप्त बनेर कहिले अदालतको गेट त कहिले प्रहरीको गेट धाउँछन् हातमा सवितालाई पैसा पठाएको प्रमाण बोकेर । यसरी विदेशमा श्रम–पसिना बेचेर आर्जिएको रकम एउटा युवतीले खाइदिएको उजुरी बोकेर कानुनी उपचारको बाटोमा लागेका उनको उजुरी न प्रहरीले लिइरहेको न त अदालतले । एकातिर युवतीबाट लाखाैँ ठगी, अर्काेतिर राज्यका निकायबाटै सहयोग नहुँदा अचेल न रातमा निद्रा पर्छ, न दिनमा भोक नै !
– अञ्जनकुमार हिमाली
(जनआस्था साप्ताहिकबाट साभार)
टिप्पणीहरू