शरणार्थी काण्ड अन्तर्राष्ट्रिय अपराध भएको स्वर्णिम वाग्लेको ट्विट, राष्ट्रसंघीय महासचिवदेखि अमेरिकी विदेशमन्त्रीलाई ट्याग

शरणार्थी काण्ड अन्तर्राष्ट्रिय अपराध भएको स्वर्णिम वाग्लेको ट्विट, राष्ट्रसंघीय महासचिवदेखि अमेरिकी विदेशमन्त्रीलाई ट्याग

सांसद तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्राष्ट्रिय अपराध भएको बताएका छन् । उनले ट्विट गर्दै उक्त अपराधबारे संयुक्त राष्ट्र संघका महासचिव, अमेरिकी विदेशमन्त्रीसम्मलाई जानकारी गराएका छन् । 

ट्विटमा भनिएको छ, ‘नेपाल पुलिसले हाल अनुसन्धान गरिरहेको यो गम्भीर अन्तर्राष्ट्रिय अपराध कुनै द्वेष बिना अघि बढ्नुपर्छ । संसारले हेर्नु पर्छ ।’

नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि सचिव, गृहमन्त्रीका सुरक्षाविद्, पूर्व उपप्रधानमन्त्रीका छोरालगायत ११ जना सोही प्रकरणमा पक्राउ परिसकेका छन् । एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले फरार सूचीमा राखेको छ ।

यसबीचमा काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती तथा नेतृ डा. आरजू राणा देउवा, खाँणकी श्रीमती तथा सांसद मञ्जुसमेत मुछिएका छन् । राजनीतिक दलका शीर्ष नेताहरु भीआईपी आरोपितहरुलाई छुटाउन लागेको खबर बाहिरिएसँगै वाग्लेले उक्त ट्विट गरेका हुन् । 

उनले उक्त ट्विट राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फ्लिप्पो ग्राण्डी, काठमाडौंस्थित अमेरिकी दूतावास, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत ट्याग गरिदिएका छन् ।

टिप्पणीहरू