बेलायती सैन्य टोलीद्वारा डेढ घण्टा जंगी अड्डाको अवलोकन

बेलायती सैन्य टोलीद्वारा डेढ घण्टा जंगी अड्डाको अवलोकन

नेपाल भ्रमणमा आएको बेलायती सैन्य टोली जंगी अड्डा पुगेको छ । भद्रकालीस्थित सेनाको मुख्यालय पुगेर टोलीले प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ ।

नेपालको अध्ययन भ्रमणमा १९ सदस्यीय टोली जर्नेल जर्ज नोर्टनको नेतृत्वमा आएको हो । उनीहरुले हिजो बिहान साढे ९ बजेदेखि डेढ घण्टा छलफल र सैनिक मुख्यालयको अवलोकन भ्रमण गरेका छन् ।

त्यसपछि दिउँसो साढे १२ बजेदेखि ३ बजेसम्म सोही टोली काभ्रेपलाञ्चोकको पाँचखाल पुगेको बताइन्छ । बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका शिक्षाध्यक्ष नोर्टनसहितको टोलीले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन गरेको थियो ।

अस्ति राति बेलायती दूतावासभित्र टोलीको सम्मानमा आयोजना गरिएको डिनर कार्यक्रममा काँग्रेस नेता डा. मीनेन्द्र रिजाललाई पनि आमन्त्रण गरिएको थियो । गत सोमबार काठमाडौं आएको सैन्य टोली विभिन्न स्थानको अवलोकन भ्रमणपछि आज स्वदेश फर्कंदै छ ।
 

टिप्पणीहरू