रविको अभिव्यक्ति भाइरल, सामाजिक सञ्जाल प्रयोगकर्ताले भने,‘पपुलर बन्न जनतामा भ्रम नछरे हुन्छ’
चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले छोटो समयमै राजनीतिमा ठूलै सफलता हात पारे । सञ्चारकर्म छोडेर राजनीतिमा लागेका लामिछानेले २०७९ असार ७ गते घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राम्रै मतपरिणाम ल्यायो ।
एक वर्ष नबित्दै राष्ट्रिय दल बन्न सफल भएको पार्टीमा परिचित अनुहार नभए पनि पेशा र सामाजिक क्षेत्रमा प्रतिष्ठित व्यक्ति सहभागी भएकाले सर्वसाधारणको आकर्षण बढ्यो । स्वतन्त्र उम्मेदवारी दिन चाहनेहरु रास्वपामा जोडिए । त्यसैले रास्वपाले सोचेभन्दा राम्रो नतिजा ल्यायो ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पार्टी सभापति लामिछाने भारी मतान्तरका साथ विजयी बने । तर, एक वर्ष नपुग्दै रास्वपा सबैभन्दा धेरै विवादमा तानिने पार्टी बनेको छ । सभापतिको नागरिकता प्रकरणदेखि सांसदले घुस मागेको अडियोले तहल्का नै मच्चायो ।
यता, रास्वपाका सभापति लामिछानेले शुरुदेखि नै विवादित अभिव्यक्ति दिँदै आएका छन् । गएको शनिबार नक्सालमा आयोजित भ्रष्ट्राचारविरुध्दको आन्दोलनमा उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उक्त अभिव्यक्तिले उनको द्वैध चरित्र छर्लङ्ग पारेको भन्दै टिप्पणी गर्न थालिएको छ । भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै शनिबार नक्सालमा भव्य विरोध प्रदर्शन भएको थियो । प्रदर्शनमा नागरिक समाज,अधिकारकर्मी, अभियन्तालगायत सयौंले उपस्थिति जनाएका थिए ।
"अहिले सरकारले भ्रष्ट्राचारको फाइल खोल्दै छ,ठूला माछा समाउँदै छ, फेरि यसले सरकारलाई बलियो बनाउने बेला सरकारबाट फिर्ता हुन्छ । के चाला हो यो ?’
आन्दोलनलाई साथ दिन पुगेका लामिछानेले मिडियाकर्मीहरुसंग कुरा गर्दै भने,‘काण्डहरुको लाइन छ । यति जाबो काण्डहरु अनुसन्धान हुँदै गर्दा सरकारलाई नै सफलताभन्दा अलिक धेरै नै हुन्छ कि !’ यति भनेपछि उपस्थित उनका समर्थकहरुले ताली बजाउन थाले ।
राजनीतिक आदर्शका भक्तिगान गाउने लामिछाने यसअघि ३२ दिन गृहमन्त्री बनेका थिए । तर, सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि सरकारबाट बाहिरिएका उनले चाँहि के काम गरे ? भनेर प्रश्न गर्न थालिएको छ ।
कतिपयले उनलाई वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको काम देखेर लोभिएको भन्न पनि भ्याएका छन् । लामिछाने गृहमन्त्री हुँदा स्वीकृत गरिएको एउटा कार्यविधिले नेपाली नागरिकका संवेदनशील सूचनामा विदेशी कम्पनीको एजेण्ट रहेको एक निजी नेपाली कम्पनीको पहुँच हुनेगरी ठेक्का दिइएको समाचारहरु प्रकाशित भएका थिए ।
पछि उनको कोर टिमको विवाद पनि सार्वजनिक भयो । यता, उनकै पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसंग दुई करोड रुपैयाँ मागेको अडियो बाहिर आयो ।
त्यस प्रकरणमा आफ्नो कोर टिमलाई जोगाएर ढाकाकुमारलाई मात्र कारबाही गरेको आरोप लामिछानेमाथि लाग्दै आएको छ । सस्तो लोकप्रियताका लागि विभिन्न ‘स्टन्टबाजी’ गर्दै आएका उनले शुरुदेखि नै भ्रष्टाचार हटाउँछु भन्दै आएका छन् ।
तर, उनले सरकारमा रहँदा होस् या नहुँदा एउटा पनि प्रभावकारी काम गर्न सकेका छैनन् । उनको ध्यान जसरी हुन्छ लोक रिझाउनतर्फ मात्रै छ । सरकारमा रहुञ्जेल पनि भ्रष्टाचारको दागबाट अछुतो रहन नसकेका उनले आफूले जे बोल्दा पनि हुने अनुभूति गर्न थालेका छन् ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्,‘रविले आफ्नो सांसद ढाकाकुमार श्रेष्ठ र कोर टिमवारे केही गर्न सकेनन् । सरकारले भ्रष्ट्राचारको फाइल खोल्दै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता लिए अनि बाहिर पपुलर बन्न खोज्ने ? जनताहरु भ्रममा नपरे हुन्छ रविबाट केही हुनेवाला छैन ।’
त्यस्तै, अर्कोले लेखेका छन्,‘यो रवि भन्ने मान्छेको नियत ठीक छ जस्तो लागेन । अहिले सरकारले भ्रष्ट्राचारको फाइल खोल्दै छ,ठूला माछा समाउँदै छ, फेरि यसले सरकारलाई बलियो बनाउने बेला सरकारबाट फिर्ता हुन्छ । के चाला हो यो ?’
टिप्पणीहरू