एमसीसी टोली मन्त्रीहरुपछि सचिवसँगको भेटमा व्यस्त

एमसीसी टोली मन्त्रीहरुपछि सचिवसँगको भेटमा व्यस्त

शनिबारदेखि भेटघाटमा व्यस्त अमेरिकी सहयोग परियोजना एमसीसी टोली दिनहुँ छलफलमा जुटेको छ । एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको टोलीले शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारस्थित गृह मन्त्रालयमा भेट गरेको थियो ।

हिजो बिहान ११ बजेदेखि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग सिंहदरबारस्थित मन्त्रालयमा झण्डै एक घण्टा कुराकानी गरेको टोलीले त्यसपछि अर्थ मन्त्रालय पुगेर सचिव अर्जुनप्रसाद पोखरेलसँग वार्तालाप गर्यो । 

जबकि सोही टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अस्ति छलफल गरेको थियो । सबै भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको उपस्थिति रहँदै आएको छ । 

टोलीमा रहेका अमेरिकी डिपार्टमेण्ट अफ ट्रेजरी (अर्थ मन्त्रालय) का सदस्यले आइतबार दिउँसो नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेका थिए । सोमबार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग पनि सिंहदरबार पुगेर वार्तालाप भयो ।

टिप्पणीहरू