झिसमिसेमा मन्त्री नउठ्दै नियुक्ति भाकभुक

झिसमिसेमा मन्त्री नउठ्दै नियुक्ति भाकभुक

बिहानको पाँचै बजे, न गाउँमा भाले बास्न पाएको थियो न शहरका कुकुरहरू नै सिंहदरबार छिरिसकेका थिए । मन्त्री पूर्वमा थिए तर पश्चिम काठमाडौंमा बिहानै बैठक बसिदियो त्यो पनि उनकै अध्यक्षतामा । यस्तो कीर्ते कर्म नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका ८३ सदस्यलाई प्राज्ञ नियुक्त गर्दा भेटिएको हो । यस्तो बदमासीमा अहिलेका सेलिब्रिटी मन्त्री सुदन किराती मुछिएका छन् । 

फागुन १ गते जनयुद्ध दिवस, मन्त्री किराती, सोही कार्यक्रमको निम्ति विराटनगरमा थिए । टर्मिनल भवन उद्घाटन र जनयुद्ध दिवसका विभिन्न कार्यक्रममा सहभागी हुन भ्याइ नभ्याई थियो । शुभकामना र बधाईमा सहभागी भएका उनी भोलिपल्ट अर्थात् फागुन २ गते अपराह्न साढे ४ बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं उत्रिए तर सोही दिन बिहानै डेढ डेढ घण्टाको फरकमा तीनजनै प्रज्ञा सदस्यहरूको सिफारिस समितिको बैठक बस्यो, जसको अध्यक्षता उनै किराँतीले गरेको माइन्युटमा उल्लेख छ । प्रज्ञा प्रतिष्ठान सिफारिस समितिको बैठक बिहान पाँच बजे, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको दुई घण्टापछि लगत्तै (सात बजे) र ललितकला प्रज्ञा प्रतिष्ठानको बैठक साढे आठ बजे बसेको जनआस्थालाई प्राप्त माइन्युटबाट देखिन्छ । 

प्रज्ञा प्रतिष्ठान सिफारिस समितिको अध्यक्ष मन्त्री किराती र सदस्यहरूमा भोगीराज चाम्लिङ, केशवराज सिलवाल थिए । तिनले गरेको निर्णयमा भनिएको छ, ‘अघिल्लो बैठकबाट यस समितिका सदस्य भोगिराज चाम्लिङलाई प्रज्ञा सभाका लागि प्रज्ञा क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूबाट प्राप्त आवेदन र समितिको जानकारीमा रहेका सो क्षेत्रका व्यक्तिहरूको सम्भावित सूची (रोष्टर) तयार पार्ने जिम्मेवारी दिइएकोमा त्यसलाई अन्तिम रुप दिने निर्णय गरियो ।’ 

मन्त्री विराटनरमै छन्, दुई घण्टाको अन्तरालमा उनैको अध्यक्षतामा गोपाल ठाकुर र राकेश राई सम्मिलित समितिले संगीत नाट्य तथा प्रज्ञाका लागि आलोकश्री, सत्यकला राई, धिरेन्द्र प्रेमर्षी, राधा राई, कृष्णजित राई, डक्टर राई, झुमा लिम्बू, अशोककुमार राई, भिषण मुकारुङलगायत ५० जनाको नाम सिफारिस गर्छ । लगत्तै ललितकलामा पनि उही खेलो चल्छ । यसरी २ गते बैठक डाकेर ३ गते नै तीनवटै प्रज्ञा प्रतिष्ठानमा ८३ सदस्यीय प्रज्ञा नियुक्त गर्ने काम फत्ते भएको छ । 

अधिकांश राईलाई नियुक्ति दिलाएको भन्दै मन्त्रीले अर्को आलोचना पनि खेपिरहेका छन् । त्यहीमाथि मन्त्री सुदन किरातीले यसरी दिलाएको नियुक्ति नै कीर्ते भएको भन्दै केही साहित्यकारहरू अहिले अख्तियार पुगेका छन् । प्राज्ञहरूले नियुक्ति खाएको तीन महिना बितिसकेपछि उनीहरूको नियुक्ति प्रक्रियामा भएको गडबडी र कीर्ते कागजातबारे अख्तियारलाई गुहारिएको हो । कीर्ते सही गरेर मन्त्रीले भत्तासमेत लिएको स्रोतले जनाएको छ ।
 

टिप्पणीहरू