मारवाडीकै कारण रोएको छ यो मन
मारवाडी दाजुभाइले देश त लुटेकै थिए, तर मारवाडीबाटै म मारवाडी ठगिएँ र लुटिएको देख्दा छक्क परिरहेको छु । दुई दशक बढी समय बित्यो जस्तापाताको कारोबार थालेको । यसअघि काका कैलाशचन्द्र कान्छादेवी अग्रवालले सम्हालिरहनुभएको थियो यो व्यवसायको साम्राज्य ।
उहाँहरूको हत्या भयो । दरबार हत्याकाण्डझैँ रहस्यको गर्भमै छन्, को हुन् हत्याराहरू । त्यस समयमा भतिज पुल्चोक इञ्जिनियरिङमा इञ्जिनियरिङ अन्तिम वर्षमा पढ्दै थिए । उनलाई यो कारोवारतिर रस बसेन । बरु पढाइ सिध्याएर अरु शिक्षण पेशातिर लागे । के एण्ड के इन्टरनेशनल प्रालि खोलेर उनी शिक्षण सेवामा रमाइरहेका छन् । काकाहरूको व्यवसायको बिँडो थाम्ने जिम्मेवारी मेरो काँधमा आइलाग्यो । श्रीमती दन्तकालीको नाममा हार्डवेयर खोले र कारोवार शुरु गरे । बीचमा राम्रै थियो, जस्तापाताको कारोबार । वार्षिक ५० करोडदेखि ८० करोडसम्मको टर्न ओभर हुन्थ्यो ।
बजारमा जस्तापाताको माग बढी थियो । जीवन राम्रैसँग चलिरहेको थियो । कुनै मुद्दा मामिला, झमेलामा परिएको थिएन । तर, दुई वर्ष असाध्यै तनाव र झमेलामा गुज्रिरहेको छ । तीन वर्षअघि राजेश मेटल क्राफ्ट्सबाट जस्तापाताको कारोवार गरेँ । झण्डै ३ करोडको जस्तापाता उठाएँ राजेश मेटल क्राफ्टबाट (आरएमसी ब्राण्डका) त्यसअघि मेरो कारोबार हुलास, आरती, जगदम्बालगायत ब्राण्डका जस्तापातासँग थियो । बजार कस्तो थियो भने, आरती र हुलासको डिमाण्ड धेरै । उनीहरूले माग पूरा गर्न सक्दैनथे । त्यही कारण मैले आरएमसीबाट जस्तापाता उठाएँ । करिब ३ करोडको । इटहरी, बारामा छ मेरो दन्तकाली हार्डवेयर प्रालि । यो कम्पनीले बारा, पर्सामा केन्द्रीय कार्यालय रहेको राजेश हार्डवेयरसँग कारोबार गरेको थियो । तर, उक्त जस्ता किन्नु नै मेरा लागि दशा बन्न पुग्यो ।
आरएमसीबाट किनेर बिक्री गरिएको रंगिन र सादा जस्तापाता निम्न गुणस्तरको, छोटो समयमै खिया लाग्ने समस्या देखिएको कारण उपभोक्ताले धमाधम जस्तापाता फिर्ता गर्न थाले । किला ठोकेका जस्तापाता पनि फिर्ता आउन थाल्यो बजारबाट । गोदाममा २ करोडभन्दा बढीका जस्तापाता खिया लाग्दै थिए । उता, राजेश मेटलका मालिक विष्णु अग्रवाल तारन्तार भुक्तानी माग्दै थिए । उनले ०७९ भदौ ३१ मा १० दिनभित्र बाँकी रहेको १ करोड २६ लाख ७० हजार ७ सय ८१ भुक्तानी दिन पत्र काटे । दन्तकाली हार्डवेयरले बजारबाट जस्तापाता फिर्ता आउन थालेको, गुणस्तरहीन जस्तापाता भएका कारण रंग खुइलिने समस्याका कारण करोडौंका जस्तापाता गोदाममै थन्किएकाले जस्तापाता फिर्ता लगेर हिसाब मिलान गरिदिन अनुरोध गरे ।
राजेश मेटललाई दन्तकालीले १ करोड २६ लाख ७० हजार ७८१ भुक्तानी गर्नुपर्ने भए पनि गोदाममा झण्डै २ करोडभन्दा बढीको जस्तापाता भएकाले, बजारबाट जस्तापाता फिर्ता आउन थालेका, छाना लगाउनेले क्षतिपूर्तिसमेत माग्न थालेका कारण व्यापारीले भुक्तानीसमेत रोकेको जानकारी गराउँदै हिसाब मिलान गराउन इमेल पठाए । सुनुवाइ नभएपछि ७९ असोज १६ गते उद्योग वाणिज्य महासंघ, वीरगञ्ज र उद्योग वाणिज्य महासंघ इटहरीलाई समेत बोधार्थ लेखेर घटनाको जानकारी गराएको हुँ । हिसाबकिताब गर्दा राजेश मेटलसँग दन्तकालीले उल्टै ७४ हजार लिनुपर्ने देखिन्छ ।
खराब नियतिसँग त लड्न सकिन्छ नियतै खराब भएकासँग केही पार नलाग्नेरहेछ । हाम्रो हिसाबअनुसार ७४ हजार लिनुपर्ने देखिन्छ तर बदमासी र धम्की कस्तोसम्म हुन थाल्यो भने कारोबार प्रारम्भ गर्दा ग्यारेन्टीका लागि दिइएको चेक ३ करोडलाइ बाउन्स गराई कालोसूचीमा राख्न नबिल बैंकलाई पठाउने काम भयो विष्णु अग्रवालबाट । कारोबार प्रारम्भ गर्दा राजेश मेटलका नाममा पिडिसी चेक काटिएको थयो । साठी दिनभित्र पेमेन्ट गर्ने, पेमेन्ट गर्न नसके १२ प्रतिशतका दरले ब्याज तिर्नुपर्ने सर्तनामा थियो ।
अन्य कम्पनीले जस्तापातामा समस्या आएको खण्डमा बजारबाट फिर्ता लैजान्छन् र हिसाब मिलान गर्छन् तर विष्णु अग्रवालले ‘मेरो सामान गुणस्तरहीन भए पनि बजारबाट फिर्ता लैजान्न, पेमेन्ट चाहियो नभए बैंकले कालोसूचीमा राख्छु । म सँग ६÷७ जना वकिल छन्, तिमीले सकेको तिमी गर्नु, मैले सकेको म गर्छु’, भन्न थाले ।
बैंकले र्याखर्याख्ती पार्न थाल्यो । २४ प्रतिशत ब्याजको रकम २८ लाख मेरो व्यक्तिगत खातामा हाल्दिनू भन्ने उर्दी आयो । यसरी व्यक्तिगत खातामा हाल्दा भोलि समस्या पर्छ । त्यही कारण उक्त ब्याज भुक्तानी पनि कम्पनीकै नाममा पठाएको भौचर मसँग सुरक्षित छ । २ करोडभन्दा बढीको जस्तापाता गोदाममै थन्किएका छन् । आरएमसीका जस्तापाता कोही किन्न मान्दैनन् । कोशी प्रदेशमा उसको कारोबार ठप्प छ । व्यवसायी सबै ऊसबाट आजित छन् तर कोही बोल्न सकिरहेका छैनन् । राजेश मेटल र दन्तकाली हार्डवेयरबीच कारोवारमा देखिएको समस्या समाधानका लागि पहल गरिदिन उद्योग वाणिज्य संघ इटहरी, उद्योग वाणिज्य संघ, वीरगञ्ज र सुनसरीलाई बोधार्थ लेखेँ ।
नेपाल सरकारले तोकेभन्दा न्यून गुणस्तरको माल सामान बिक्री वितरण गर्ने अधिकार कसैलाई पनि छैन । तर, कमसल र गुणस्तरहीन सामान भिडाउने र यो मितिभित्र पैसा भुक्तानी गरिनस् भने तँलाई कालोसूचीमा राख्छु भनेर धम्क्याउन थालेपछि ब्याजबापतको २८ लाख रकम भुक्तानी गराएको छु । यसरी नेपाल बैंक लिमिटेडका सञ्चालक समिति सदस्यसमेत रहेका विशाल अग्रवाल जो राजेश मेटल कम्पनीका मालिक हुन् । उनले गरेको ज्यादती र अन्यायपछि न्यायको खोजीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको हेलो सरकारमा निवेदन दिएको पनि हुँ तर अहिलेसम्म कारबाही प्रक्रिया अगाडि बढेको छैन । हेलो सरकारले यस्ता नाटक नगरेर जनताको हक अधिकार दिलाउनेतर्फ काम गर्दा राम्रो हुन्थ्यो जस्तो लाग्छ । बजारमा गुणस्तरहीन जस्तापाताको उत्पादन र बिक्री–वितरण भइरहेको छ ।
उपभोक्ता मात्र होइन, एउटा मारवाडी व्यापारीबाटै अर्काे मारवाडी व्यापारी ठगिरहेको छ । यो लुट र अत्याचारविरुद्ध सरकारका नियामक निकायलाई ध्यानाकर्षण गराएको छु । निवेदन दिएको छु । यस्ता गुणस्तरहीन जस्तापाता उठाएर लान र जबरजस्ती लिएको रकमसमेत फिर्ता दिलाई कारबाही गर्नुपर्ने हो राज्यको निकायले तर ब्युरोक्रेसी र व्यापारीको मिलेमतो छ । उद्योगी र राजनीतिक दलका नेताहरूको साँठगाँठ छ । त्यही कारण महिनाँैदेखि उजुरी गर्दा राज्यका निकायबाट कुनै कारबाही प्रक्रिया अगाडि बढ्दैन । हेलो सरकार भनेको कार्यकारी प्रमुख मातहत रहेको निकाय हो । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयको अण्डरमा रहेको निकायले काम गर्न नसक्नु भनेको सरकारले काम गर्न नसकेको होइन ? राजेश मेटलका सञ्चालक विष्णु अग्रवालले गुण्डागर्दी तरिकाले रकम असुल गरेको कुरा मैले निवेदन दिएको छु तर केही कारबाही प्रक्रिया अगाडि बढ्दैन । उनी तानसेन सिमेन्टका पनि मालिक हुन् । यसका अलावा नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा पनि छन् । त्यही कारण हुन सक्छ उनीमाथि कहीँ–कतैबाट कारबाही प्रक्रिया अघि नबढेको ।
बैंकका सञ्चालकमा अख्तियार खेपिरहेका सहसचिव उत्तरबहादुर खत्री, गंगा ज्ञवाली र साधना घिमिरेहरू छन् । यस्तै, विवेकसमशेर राणा, विष्णु अग्रवाल र रचना श्रेष्ठ सर्वसाधारण शेयरधनीको तर्फबाट बैंकका सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै छन् । बैंकलाई अहिले वार्षिक ११ प्रतिशतको दरले ब्याज तिरिरहेको छु । कमसल र गुणस्तरहीन भएकै कारण २ करोड बढीको सामान गोदाममा थन्किरहेको छ । अन्य कम्पनीले आफ्नो सामानमा कमजोरी भएपछि फिर्ता लैजान्छन्, विष्णु अग्रवालले भने आफ्ना कमसल सामान बजारबाट फिर्ता लिन मानिरहेका छैनन् । फिर्ता नलगेर उल्टै टर्चर दिइरहेका छन् । उनको यही टर्चरविरुद्ध हो मेरो लडाइँ । अहिले नेपाली बजारमा आरती, हुलास, नारायणी, जगदम्बा र राजेश हुन् जस्तापाता उत्पादन गर्ने कम्पनी । उद्योग दुई वटा भए पुग्थ्यो अहिले पाँच–पाँच वटा उद्योग छन् ।
यी उद्योगबाट ४ लाख मेट्रिक टन जस्तापाता उत्पादन हुन्छ वार्षिक । नेपाली बजारमा जस्तापाताको माग २ लाख मेट्रिक टनभन्दा बढी छैन । यसरी बढी उत्पादन भएका जस्तापातामध्ये गुणस्तरीय जस्तापातालाई बजारको समस्या नहोला तर उपभोक्ता ठग्न पल्किएका आरएमसीको जस्तापाता गुणस्तरहीन भएका कारण कोशी प्रदेशमा उसको कारोवार ठप्प छ । कोही व्यापारीले उसका जस्तापाता किन्दैनन् । एक पटक कारोबार गरेको व्यक्ति दोस्रो पटक उनीसँग कारोबार गर्न मान्दैनन् । अहिले यिनै मारवाडीले तानसेन सिमेन्ट उद्योग पनि चलाउँदै आएका छन् । यस्ता बदमास, उद्योगी, व्यापारी र सर्वसाधारण मारा व्यवसायीसँग हो मेरो लडाइँ । शरीरमा एक थोपा तातो रगत र एक मुठी सास रहञ्जेल लडिरहनेछु यस्ता ठगहरूसँग ।
– अशोक अग्रवाल, प्रोप्राइटर दन्तकाली हार्डवेयर
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू