कोशी प्रदेशसभा अगाडि झडप, शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न चेतावनी

कोशी प्रदेशसभा अगाडि झडप, शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न चेतावनी

आदिवासी जनजाति आयोगले शान्तिपूर्ण रुपमा आफ्ना माग राखेर आन्दोलित प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग नगर्न चेतावनी दिएको छ । 

‘कोशी’ प्रदेश नामाकरणको विरोधमा विराटनगरमा भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै आयोगले यस्तो चेतावनी दिएको हो । यसले लोकतन्त्रकै उपहास भएको उल्लेख गर्दै आयोगले आन्दोलनरत समुदायको माग गम्भिरतापूर्वक सुन्न र वार्ताको माध्यमबाट समस्या सम्बोधन गर्न पनि सुझाएको छ । 

आयोगका अध्यक्ष रामबहादुर थापामगरले आज विज्ञप्ति जारी गर्दै आदिवासी जनजाति समुदायमाथि भएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । नागरिकको वाक स्वतन्त्रता, आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार र मानव अधिकारको रक्षा गर्नुपर्ने आफ्नो दायित्वविपरीत सरकारले शान्तिपूर्ण आन्दोलनमा सहभागी सयौंलाई धरपकड गरि हिरासतमा राखेकोप्रति उनले चर्को असन्तुष्टि व्यक्त गरेका हुन् । 

उनले भनेका छन्,‘नेपालको संविधानले बिना हातहतियार शान्तिपूर्ण रुपले भेला भई आफ्नो माग राख्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । सांस्कृतिक पहिचान रक्षाको लागि शान्तिपूर्ण आन्दोलनमा सहभागी हुनबाट वञ्चित हुनेगरी निषेधाज्ञा जारी हुनु र शान्तिपूर्ण आन्दोलनमा सहभागी सयौं व्यक्तिहरुलाई धरपकड गरि हिरासतमा लिएकोले लोकतन्त्रकै उपहास भएको आदिवासी जनजाति आयोगको धारणा छ ।’

प्रदेशको पुनः नामाङ्कनको माग गर्दै गत चैत ५ गतेदेखि निरन्तर आन्दोलनमा छन् रहेका पहिचानवादीहरुले आज विराटनगरमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र पहिचानवादी समूहबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । 

आन्दोलनमा क्रममा एक जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

 

टिप्पणीहरू