नागरिकता विधेयक प्रमाणीकरण हुँदा रास्वपाका नेता खुशी
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेपछि राजनीतिक वृत्त दुईधारमा विभाजित छ । विधेयक प्रमाणीकरणलाई कसैले स्वागत त कसैले विरोध गरिरहेका छन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेको उक्त विधेयक नयाँ जनादेशसँगै प्रतिनिधिसभा गठन भएपछि हालका राष्ट्रपतिले प्रमाणीकरण गर्नुलाई प्रक्रिया नमिलेको भन्नेहरु पनि उत्तिकै छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागतयोग्य रहेको बताए ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टाअघि विधेयक प्रमाणीकरण गरिनुले भने शंका उब्जाएको उनको भनाइ छ । तथापि, नागरिकता विधेयक प्रमाणीकरण भएसँगै अनागरिक भएर बसेका लाखौँलाई नागरिक बनाउने सांसद झाको अपेक्षा छ ।
नागरिकताविहीन हुँदा लाखौँ युवाले जागिर खान नपाएको अवस्थालाई समाधान गर्ने भएकाले विधेयक प्रमाणीकरण स्वागतयोग्य रहेको उनले बताए । ‘अनागरिक हुनु सबैभन्दा ठूलो पीडा हो । विदेशबाट श्रम गरेर पठाएको पैसाले छोराले पढेको छ । तर, नागरिकता नभएर जागिर खान पाएको थिएन । अब समस्या समाधान हुने हुँदा विधेयक प्रमाणीकरणलाई स्वागत गर्छु,’ झाले भने, ‘लामो समय अड्काएर अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने बेला भएको प्रमाणीकरणले भने शंका उब्जाएको छ ।’
सांसद झाले स्वागत गरिरहँदा उनकै पार्टीका सभापति रवि लामिछानेले भने संसदमा छलफल नगराई पुरानै विधेयक प्रमाणीकरण हुनु राष्ट्रहितविरुद्ध रहेको प्रतिक्रिया दिएका छन् । यद्यपि उनले पनि विधेयकको अन्तरवस्तुमा असहमति जनाएको सुनिएको छैन ।
टिप्पणीहरू