लुम्बिनी प्रदेशसभा पर्सि बस्ने, नीति तथा कार्यक्रम ल्याउने तयारी
लुम्बिनी प्रदेशसभाको बैठक पर्सि बस्ने भएको छ । जेठ २६ गते शुक्रबार बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
भोलि दिँउसो १ बजे बस्ने तय भएको पूर्वनिर्धारित बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रदेशको भ्रमणमा आउने भएपछि पर्सिका लागि राखिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।
लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम सभामुख तुलाराम घर्तीमगरले आह्वान गरेको दोस्रो अधिवेशनको पाँचौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।
‘बैठक भोलि दिँउसो बस्ने तय भएको थियो । तर, सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रमणमा आउनुहुने भएकाले माननीयहरु त्यता व्यस्त हुनुहुन्छ । त्यसैले भोलिको बैठक स्थगित गरेर पर्सिलाई सारिएको हो’, उनले भने ।
टिप्पणीहरू