मोदीका ‘प्रचण्ड’ चुनावी पोष्टर ब्वाई !
अश्लील साहित्य हेर्ने विश्वकै तेस्रो मुलुक । तर, सार्वजनिक रूपमा सेक्सको कुरा गर्न बन्देज ! जनसंख्या विश्वकै झण्डै २० प्रतिशत । कण्डम किन्न अझै लाजमर्दो ! नारी देवीका रूपमा पुजिन्छन् । बालिका भ्रुणमै मारिन्छन् । सुन्दरीको उत्तेजक तस्बिर बन्दकोठामा खुब हेरिन्छ । सामाजिक सञ्जालमा उनैको चरित्रहत्या ! सडकमा पिसाब गर्नु सामान्य । चुम्बन गर्न वर्जित ! श्रीमान्श्री/मतीको झगडा सडकमा पोखिँदा पनि निजी मामिला । विपरीतलिंगीको सामान्य संवादमा सन्देह ! बिहेअघि छोरीलाई केटासँग बोल्न निषेध । बिहेको पहिलो रात अपरिचितसँग सुत्नु राम्रो संस्कार ! यो हो ‘कल्चरल म्याप’ इण्डियाको ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको डोनाल्ड ट्रम्पसँग राम्रो दोस्ती छ । सि जिनपिङको तरिका सिक्न पनि उनले यथेष्ट संगत गरेका छन् । यी दुवैको गुणका अतिरिक्त मोदीसँग भारतीय ‘संस्कार’ को पनि एउटा पन्तुरो छ । उनी यसको मौकामा प्रदर्शन गर्न जानेका राम्रा खेलाडी हुन् । उनको कार्यकालमा भारतको नयाँ संसद भवन निर्माण सम्पन्न भयो । बेलायती उपनिवेशकालीन दासताको झल्को दिने पुरानो भवनबाट मुक्तिको यो अवसरलाई मोदीले भारतको आफ्नै हिन्दू क्षेत्रियतावादी प्रभुत्वको प्रदर्शन गर्न उपयोग गरिदिए । भारतका हिन्दू प्रभुत्ववादी अहिले दक्षिण एशिया भनिने आठ देशका सम्पूर्ण भूभागलाई आफ्नो धर्मको छाता ओढाउने सपना देख्छन् ।
स्वभावतः उनीहरू नरेन्द्र मोदीका भोट बैंक हुन् । तिनैलाई रिझाउन मोदीले संसदको नयाँ भवनमा भारतको तथाकथित हिन्दू ‘कल्चरल’ वा अखण्ड भारत नामक काल्पनिक नक्साको ‘मुरल’ (भित्ते–चित्र) पनि सार्वजनिक गरे । प्रजातान्त्रिक भनिने तर जनमतमा खेलिने व्यवस्था भएका मुलुकमा जनतालाई पाँच वर्षमा एक दिन वा सामाजिक सक्रियताको आधारमा महिना दिन चुनाव लाग्छ । तर सत्ताका खेलाडीको लागि पाँच वर्षका ६ सय २५सै दिन चुनावको तयारी हो । भारतमा अर्को वर्ष आमचुनाव हुँदै छ ।
सूचना प्रविधिका कारण रोजगारी बढे पनि भारतीय अर्थतन्त्रको आकार चीनभन्दा पाँच गुणा सानो छ । चीनका औसत नागरिकले वर्षमा १३ हजार डलर आम्दानी गर्छन् भने भारतीय जनता दुई हजार पाँच सय डलरका निम्ति संघर्ष गर्दैछन् । मोदी शासनभन्दा पहिलेदेखि नै असहज रहेको भारतीयको छिमेक सम्बन्धमा थप तिक्तता आएको छ । यस अवस्थामा उनका लागि हिन्दू कार्ड नै सबैभन्दा प्रभावकारी चुनावी अस्त्र हो । मोदी यसको भरमग्दुर प्रयोग गर्दै छन् ।
कर्नाटक राज्यमा भाजपाको हारले आगामी चुनाव २०१९ भन्दा पृथक् हुने संकेत देखिन्छ । यति नै बेला मोदीलाई नेपालका प्रधानमन्त्रीबाट आफ्नो भ्रमणको चाँजो मिलाइदिन गरिएको पाँच महिना लामो आग्रह संबोधन गर्नुपर्ने बाध्यता थियो । मोदीको असफल विदेश नीतिका कारण परम्परागत रूपले आफ्नो पक्षमा रहेको नेपाल उछिट्टिएर चीनको पोल्टामा पुगेको संकथन भारतमा बलियो हुँदै छ । मोदी प्रधानमन्त्री भएपछिका ९ वर्षमा सुशील कोइरालाबाहेक ओली, देउवा र प्रचण्डले पालैपालो सरकार हाँकेका छन् ।
०७२ सालको भूकम्पपछि नयाँ संविधान जारी हुँदा भारतले लगाएको नाकाबन्दी बीच बनेको ओलीको सरकारले चीनसँग पारवहन सन्धि गर्यो । भारतीय मतदाताका निम्ति यो मोदीको हार थियो । बेलाबखत ‘ठोरीका राम’ भन्दै मोदीलाई जिस्क्याउने ओलीले भारतीय राष्ट्रिय चिह्नलाई इंगित गर्दै ‘सत्यमेव जयते कि सिंहमेव जयते?’ भन्दै चुच्चे नक्सा जारी गरेपछि नेपाल–भारत सरकारी सम्बन्धले ढिकिच्याऊँ खेल्न थाल्यो । भारतको परराष्ट्र मामिलासम्बन्धी खुफिया संस्था ‘र‘ प्रमुखले नेपाल आएर ओलीसँग मध्यरात्रिकालीन मन्त्रणा गर्ने अवस्थामा पुग्यो द्विपक्षीय सम्बन्ध । यति नै बेला वर्तमान प्रधानमन्त्री प्रचण्डले भारतका लागि ‘कम्फर्टेबल’ सरकारको गीत गाउन थाले । शेरबहादुर देउवा पार्टीको आन्तरिक बैठकमा सोझै ‘भारत रिसाउँछ‘ वा ‘इण्डियाले मान्दैन’ भन्ने स्वीकारोक्ति प्रकट गर्न कुनै शरम् मान्दैन थिए ।
देउवा र प्रचण्डको स्पष्ट आग्रह थियो, हामीलाई मदद्त गर, हामी निहुँ खोज्दैनौं । देउवाले त आफ्नी पत्नी आरजूलाई मोदीको भित्रिया मानिएका पार्टी विदेश विभाग प्रमुख विजय चौथाईवालेलाई ‘राखी’ बाँध्न लगाएर भारतीय सत्ताप्रति आफ्नो अनुराग र समर्पण प्रस्तुत गरे । परमादेशपछि चुनावसम्मको देउवा कार्यकाल भारतका लागि वास्तवमै ‘कम्फर्टेबल’ रह्यो । चुनावपछि प्रधानमन्त्रीको दौड जित्न प्रचण्डले गठबन्धन तोडेर रातारात ओलीसँग हातेमालो गर्न सक्छन् भन्ने हेक्का राख्न देउवा असफल भए । तर यसको अनुमान मोदीले समेत गरेका थिएनन् । अवसरवादको आहालमा डुबेका प्रचण्ड जतिबेला जे पनि गरिदिन र भइदिन सक्छन् । राजनीतिक मैदानमा यो उनको दुर्बल मात्र होइन, सबल पक्ष पनि हो । प्रचण्डलाई भड्किन नदिने र भत्किएको सत्ता समीकरणलाई पुरानै लयमा फर्काउने कुरामा देउवा र मोदीको स्वार्थ मिलेको थियो । तर, शेरबहादुर देउवा हत्प्रभ र हतोत्साही हुन पुगे ।
आरजु राणा सक्रिय भइन् । विजय चौथाईवाले लगायत भाजपाका चल्तापुर्जा झन् सक्रिय भए । संसदीय व्यवस्थाकै इतिहासमा अनौठो घटना भयो । सत्ता साझेदारबाट प्रमुख प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले संसदमा प्रचण्डको सरकारलाई समर्थन दियो । रमाइलो कुरा– कांग्रेस सभापति देउवाले प्रमुख प्रतिपक्षी नेताले पाउने सुविधामाथि भने दाबी गर्न छोडेनन् ! दायाँ राजेन्द्र लिङ्देन र बायाँ रवि लामिछानेलाई टेकेर सत्तामा पुगेका एमाले नेता ओलीले संसदमा कटाक्ष गरे, ‘कांग्रेसले थापेको ढोक्सामा माछा पर्दैन ।’ तर, नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएर शीतल निवास छिरेका मात्र के थिए, ओलीको हातको माछो चिप्लियो । माछो कांग्रेसले थापेको ढोक्सामा पर्यो ।
कम्फर्टेबल सरकारको उदय भयो । तर, नेपालमा ०४८ सालपछि, अझ ०५१ सालपछिका कुनै पनि सरकारका प्रधानमन्त्रीले दक्षिणी सरकारको तीर्थयात्रा नगरी आफूलाई कम्फर्टेबल महसुस गरेका छैनन् । नेपालको प्रधानमन्त्रीले शपथग्रहण गरेपछि पहिलो विदेश यात्रा उत्तरको गर्छ कि दक्षिण ? यो सवालले भूराजनीतिमा ठूलो अर्थ राख्छ । क्रमभंगताको कुरा गर्न खप्पीस प्रचण्डले एकपटक ओलम्पिकको बहानामा भारत छोडेर पहिले चीन भ्रमण गर्दा मूल्य चुकाउनुपर्यो । त्यसपछि भारतको कालोसूचीबाट आफ्नो नाम मेटाउनले कम मिहिनेत गर्नुपरेको छैन । प्रचण्ड यसपटक त्यो गल्ती दोहो¥याउने पक्षमा थिएनन् । उत्तर जाने भए बोआओ सम्मेलनको बहना थियो । तर, भारत जाने वातावरण मिलाउन बरु ६ महिना प्रतीक्षा गर्न रुचाए । प्रचण्ड अगुल्टोले हानेको कुकुरभन्दा बुद्धिमान प्राणी हुन् । उनको भारत भ्रमण भयो ।
भारतीय कर्मचारीतन्त्रले नेपाललाई सन् ०४७ देखि नै एक सार्वभौम र स्वतन्त्र राष्ट्रका रूपमा हेर्न र स्वीकार गर्न चाहेको छैन । नेपालका जायज स्वार्थ र मागलाई समेत औंठाले दबाएर राख्ने यो प्रवृत्ति त्यहाँ जुनसुकै पार्टीको सरकार आए पनि परिवर्तन हुँदैन । पञ्चेश्वर परियोजना झण्डै तीन दशकदेखि अलपत्र पर्नु र हरेक पटक अघि बढाउने प्रतिबद्धता मात्रै दोहोरिनुमा राजनीतिज्ञहरूभन्दा साउथ ब्लकका ‘बाबु’हरूको नकारात्मक भूमिका बढी जिम्मेवार छ । जलविद्युत् आयोजनाका नाममा नेपालका खोलानाला कब्जा गर्ने तर पानी भने बिजुलीभन्दा सिञ्चाइमा मात्रै प्रयोग गर्ने रणनीति पनि कर्मचारीकै हो । यसमा चुनाव जितेर आएकाले कुनै राजनीतिक भूमिका खोजे, कर्मचारीतन्त्रले ‘त्यो अवस्थामा तपाईंको पार्टीको हारका लागि तपाईं जिम्मेवार हुनुहुनेछ’ भन्न सक्छ । यति भनेपछि आवधिक चुनावमार्फत आफ्नो भाग्य रेखा कोर्न बाध्य राजनीतिकर्मी आफ्नो आकारमा आउँछन् ।
प्रचण्डको यसपटकको भ्रमणमा पनि मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव बिनयमोहन क्वात्रा नेपालसँग विद्युत् खरिद गर्ने कुरामा सकारात्मक थिएनन् । सीमासम्बन्धी कुरा ‘उठाउनै नहुने’ उनीहरूको अडान थियो । समाचारपत्रहरूका अनुसार, डोभालसँग भएको वार्तापछि नेपाली दूतावासको रात्रिभोजमा पुगेका अनुहारमा कुनै उत्साह थिएन । नेपाली भ्रमण दलका सहभागीहरू कुरा नमिले यो दिल्ली दौडाहालाई ‘सद्भावना भ्रमण’का रूपमा टुंग्याएर हिँड्ने मनस्थितिमा पुगिसकेका थिए । यो खबर भारतीय समकक्षीहरूसम्म पुगेपछि रातारात स्थिति फेरियो ।
मोदीले कर्मचारीतन्त्रको सिफारिसविपरीत विद्युत् खरिद गर्ने कुरामा राजनीतिक निर्णय गरेर सहमति जनाए । त्यसको क्षतिपूर्तिस्वरूप कर्मचारीतन्त्रले नेपाली सीमाभित्र पेट्रोलियम पदार्थ ओसार्ने पाइपलाइन बनाइदिने बुँदा थप्यो । सफा विद्युतीय इन्धन प्रयोग गर्ने बाटोमा वामे सर्न लागेको नेपाली अर्थतन्त्र भारतीय आयल निगमप्रति थप निर्भर हुने कुरा अझ केही दशकका लागि सुनिश्चित भयो । मोदीले किन्ने भनेको दश वर्षमा १० हजार मेगावाट बिजुलीसम्बन्धी कुरा पनि अहिलेका लागि सहमति मात्रै हो । मोदीको मन्त्रिपरिषद्ले अनुमोदन नगरेसम्म यसको वैधानिकता छैन । यो सहमति पनि द्विदेशीय इपिजीको प्रतिवेदनजस्तै क्याबिनेटमा पुगेर थन्किँदैन भन्ने कुनै आधार छैन ।
प्रचण्डको बहुप्रतिक्षित र दीर्घ अपेक्षित भारत भ्रमणले नेपाललाई लाभ–हानि के भयो, यसको चिरफार आ–आफ्नो ढंगबाट हुने नै छ । तीर्थाटनले प्रचण्डको व्यक्तिगत भविष्यमा उत्साह बढायो कि अवसाद खन्यायो, यो पनि थाहा हुनेछ । अबका दिनमा प्रचण्डले गर्ने र बोल्ने कुराले यो रहस्यमाथिको पर्दा उठाउनेछ । तर, यो भ्रमणबाट सबैभन्दा लाभ लिने कोही छ भने तीे मोदी नै हुन् । मोदीले कांग्रेस–माओवादीको कम्फर्टेबल सरकारबाट कम्फर्टेबल्ली फाइदा लिएको कुरा नेपाली प्रधानमन्त्री र भ्रमण दलका अन्य मन्त्रीको उज्जैन महाकालेश्वर मन्दिरमा लिइएको एउटा तस्बिरले पुष्टि गर्छ । अमेरिका भारतीयले नेपालमा हिन्दूवादलाई मलजल गर्न पैसा खन्याएकोमा आफ्नो आँखीभौं उचाल्दै छ । चीन भारतले नेपालसम्बन्धी नीतिलाई राजनीतिकभन्दा आर्थिक महत्व दिएर आफ्नो नक्कल गरेकोमा चकित परेको हुन सक्छ । अमेरिका र चीनले नेपाल मामिलामा भारतको भूमिकालाई कसरी मूल्यांकन गर्छ भन्ने कुरा अहिले मोदीका लागि चिन्ताको विषय होइन । मोदीको चिन्ता अर्को वर्षको आफ्नै चुनाव हो ।
लोकसभामा सबैभन्दा धेरै सिट भएको भारतीय राज्य उत्तरप्रदेशको केन्द्रमा सरकार गठन हुँदा निर्णायक भूमिका रहन्छ । त्यहाँका हिन्दूवादी लडाका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालका पदच्यूत हिन्दूसम्राट् ज्ञानेन्द्र शाहका मित्र हुन् । आदित्यनाथ नेपाल हिन्दूराष्ट्र घोषित गर्ने मामिलामा आफू जुनसुकै सहयोग गर्न तयार रहेको कुरा हाकाहाकी भन्छन् । शाह भर्खरै आदित्यनाथको दश दिने आतिथ्यको मोज लुटेर नेपाल फर्किएका हुन् । आदित्यनाथ मोदीका उत्तराधिकारीको रूपमा चर्चामा ल्याइने पात्र पनि हुन् ।
हिन्दूत्व नामको भावनात्मक भोट बैंकमा टिकेको मोदीको भाजपा सरकारका लागि नेपालको हिन्दूत्वको मुद्दा आफ्नो देशको चुनावी मसला हो । धर्मलाई नशा मान्ने नास्तिक पृष्ठभूमिको छिमेकी देशको बहालवाला प्रधानमन्त्रीलाई आफ्नो मुलुकको हिन्दू मन्दिरमा गेरु बस्त्र ओढाएर पुजारीका रूपमा उभ्याइदिनु मोदीको राजनीतिक चातुर्य सँगसँगै उपलब्धि पनि हो । मोदीको हिन्दूवादी जालमा फसेर पनि भ्रमणका उपलब्धिको गीत गाउनु नेपाली भ्रमण दलको बाध्यता ।
लेखको शुरुमै ब्याख्या गरिएको भारतको वास्तविक ‘कल्चरल म्याप’ र नेपाली सामाजिक राजनीतिक वास्तविकतामा धेरै समानता छन् । नेपालका नेतामा भारतको मामिलामा झन् समानता देखिन्छ । ओलीले पनि जनकपुरमा मोदीसँग फेटा लगाएर तस्बिर खिचाएकै हुन् । प्रचण्डको ठाउँमा अहिले ओली भएका भए उनले पनि उज्जैनमा यही गर्ने थिए । ओली प्रतिपक्षमा छन् । राम्रो भयो । उनी नरेन्द्र मोदीको चुनावी पोष्टर ब्वाई बन्नबाट जोगिए ।
टिप्पणीहरू