लडाइँमा व्यस्त छ जस्तो नै लाग्दैन रसिया

लडाइँमा व्यस्त छ जस्तो नै लाग्दैन रसिया

निर्मल थापा

एशिया शब्दसँग छन्द मिल्दो रसिया धेरै पहिले सुनेको, पढेको र गुनेको दूरदेश हो । सोभियत संघको आरोह अवरोहपछि आएको रुसी परिचय करिब–करिब आतंकसँग जोडिएको छ । आजको रुस युरोपसँग यति घना रूपमा जोडिएको छ कि अमेरिका वा अन्य मुलुकले चाहेर पनि भत्काउन नसक्ने नेपाल–भारत सम्बन्धजस्तो छ, उत्तर र दक्षिण कोरियाको साइनो तथा रुस र युक्रेनको नाता जस्तो छ ।

आयात र निर्यातमा कमजोर रहेको अमेरिकासामु रुसको उपस्थिति निकै बलियो देखिन्छ । संसारको अभिभावक बनेर सुस्ताएको बेलायतपछि उदाएको सोभियत संघ र अहिले अमेरिकासामु देखिएका चुनौती र यथार्थ निकै कहालिलाग्दा छन् । वर्तमान रुसको उदय नै युक्रेनमा भएको थियो । रुस हाँक्ने धेरै नेता युक्रेनी रहेछन् भने अहिलेको युद्ध कसरी सम्भव भयो ? रुसी बजारमा यतिबेला अमेरिकी डलर कार्ड वा नगद कहीँ–कतै चल्ने अवस्था छैन । बरु भारतीय रुपैयाँको कारोवार सहज देखियो । स्थानीय कारोवार रुबल र युरोमा हुनु अमेरिकी डलरबाहकका लागि निकै दुःखद अवस्था हो । यात्रामा रहेका साथीहरू कतिपयले अमेरिकी डलर बोकेकै कारण भोकै बस्नुपर्ने अवस्था थियो । 

क्रेमलिन स्क्याएयर 

रेड स्क्वायरको इतिहास करिब ५ सय वर्षभन्दा पहिलेको हो । यहाँस्थित क्रेमलिनमा रुबिका पाँचवटा तारा सधैँ चम्किरहेका हुन्छन् । सन् १९३५ भन्दा पहिले ताराहरूको स्थानमा दुईमुखे चिलको आकृति थियो । रुस निकै विशाल देश भइकन पनि प्रतिनिधित्व गर्ने यही क्रेमलिन स्क्वायर हो । संसारकै ठूलो तर कहिल्यै नसुनिएको जारकालिन घण्टी पनि यहीँ अवस्थित छ । हालसम्मकै ठूलो क्यानन पनि यहीँ भएकोले क्रेमलिनको महत्व सबै कोणबाट उच्च छ । मस्कोभा नदीमा थामिइरहेको क्रेमलिनको स्थायी छाया आफैँमा अलौकिक घटना हो । 

लेनिनको वाचाल शारीरिक अस्तित्वभन्दा उनको सजीव चेतनाको सक्रियता विश्वभरिका कम्युनिष्ट समाजमा हुर्किरहेको छ । रसायनले ब्युँताएको, धोइपखाली सौन्दर्य साधनले बल्दो लेनिनको भौतिक शरीरको दर्शन संसारभरिका सबै राता वामपन्थी र सेता शुभचिन्तकका लागि निकै महत्वको छ । चीनमा माओ, उत्तरकोरियामा किम, भियतनाममा होचिमिन्ह, रुसमा लेनिन र केही क्रिश्चियन गुरुहरूका शरीरलाई पनि ठाउँठाउँमा जस्ताकोतस्तै राखिएको छ । 

रेड स्क्वायर नजिकै भव्य मल छ । विश्वब्राण्डका मुख्य सामग्री पाइने त्यहाँ साथीहरूसँग करिब घण्टाजति समय खर्च गरियो । धेरै पहिले त्यहाँ स्थानीय सामग्री सुपथ मूल्यमा पाइने गथ्र्यो, अहिले महँगा विदेशी ब्राण्डले भरिएको छ । प्रायः पसलमा चहलपहल छ, कुनै पनि खालको युद्धको संकेत छैन । 

सेन्ट पिटस्वर्ग

पेट्रोग्राद, लेनिनग्राद हुँदै सेन्ट पिटस्वर्ग बन्न पुगेको शहरको कथा पनि निकै रोचक छ । हरेक शहर र नगरको इतिहास बेग्लाबेग्लै हुन्छ तर धेरैको समानता नदीतट वा समुद्री किनाराको सभ्यता हो । निभा नदीको सुन्दरतामा सेन्ट पिटर्सवर्ग बगीरहेको देख्नेहरूले यस शहरलाई भेनिस अफ दि नर्थ भनेका छन् । 

सर्वाधिक आकर्षण भने पिटरह्फ प्यालेस रह्यो । जसको शाब्दिक अर्थ पिटरको कचहरी हो । सन् १९४१ मा जर्मनी सेनाले आक्रमण गर्दा कैयौँ मौलिक भवनक्षेत्रमा क्षति पुगे पनि युद्ध सकिनेबित्तिकै तत्कालै दरवारलाई पुरानै स्वरूपमा सोभियत सरकारले फर्काएको थियो । 

युद्धको बाछिटा रुस–अमेरिका सम्बन्ध

रसिया छोडेको केही दिनमा क्रेमलिन भवनमाथि ड्रोन आक्रमण भएको समाचार सुनेँ अमेरिका जसरी रुसको प्रतिकारमा ओर्लन्छ उसले आफ्ना नागरिकबाटै नमीठो प्रतिक्रिया पाउँछ भने अर्कोतर्फ रुसी जनमानसमा अमेरिकाविरोधी धारणा बाक्लोरूपमा फैलिरहेको पाइन्छ । सबैलाई आफ्नो हतियार बेच्नुपरेको छ, युद्धलाई व्यापारीकरण गर्नुपरेको छ भन्ने तथ्य बुझ्नेहरूको जनसंख्या धेरै छ । 

अमेरिकी सुरक्षा क्षेत्रमा काम गर्नेहरुको रिपोर्टले भन्छ, जसरी अफ्रिकाको दानवीकरण गोरो छाला भएका देशले गरेका छन्, हत्या, हिंसाको गणितलाई हेर्ने हो भने त्यसको दश गुणा बढी काण्ड अमेरिकाभित्र भैरहेका छन् । गिर्दो अमेरिकी डलरको अवस्था कस्तो छ भन्नलाई केही महिनाको अवधिमा सिलिकन भ्याली, सिग्नेचर र रिपब्लिक बैंकहरू टाट पल्टेको घटना नै काफी छ । 

अमेरिकाको तुलनामा भौगोलिक रूपमा रुस निकै माथि छ भने जनसंख्याको हिसाबले अमेरिकी धेरै छन् । सैन्य सामग्री र संख्याका हिसाबले रुस बलियो देखिन्छ भने अमेरिकी सुरक्षा प्रविधिमा आधारित भएकाले कोभन्दा को कम को हैसियतमा छन् । युरोपेली संघका सदस्य देशहरूसँग रुसको प्रत्यक्ष व्यापारिक सम्बन्ध रहेको छ जुन अमेरिकाका लागि टाउको दुखाइको विषय हो । रुस एक्लै र बाँकी विश्व एकातिर भएजस्तो युद्धको ब्राण्डिङ गरिएको छ । ह्वाइटहाउसको ठाडो आदेशमा कैयौं देशले आफ्ना दूतावासमा ‘वी आर विथ युक्रेन’ टाँसेर खुला रूपमा युद्ध छेडेको देखिन्छ । 

बदलिँदो अर्थतन्त्र र राजनीति

चीनभन्दा कैयौँ गुणा मुखरित समाज रुसको छ । युक्रेन युद्धको निहुँ मा पश्चिमा देश एकठाउँ उभिएका बेला रुसले ग्यास, इन्धनलगायत सामग्री भारत र चीनमार्फत बाँकी विश्वलाई बेचिरहेको छ । भारतले हतियार खरिदमा सबैभन्दा बढी रुससँग निर्भरता राख्ने गर्छ त्यस्तै छन् । 

आउँदा दिन

संसारकै सर्वप्रिय लेखक लियो तोल्सतोयले बारम्बार रुसी एकेडेमी अफ साइन्सले नोबल पुरस्कारका लागि सिफारिस गर्दा आफ्नो नामको साटो अरुलाई अवसर दिनु भनेका थिएः ‘पुरस्कारवापत् आउने रकम हात लाग्नबाट अहिलेसम्म आपूmलाई बचाएको छु । मेरो दृष्टिमा यो पुरस्कार राशिको रकम पनि अन्य रकमले झैं राक्षसी राप मात्र ल्याउने हो ।’

त्यस्तै, अर्का महान् लेखक म्याक्सिम गोर्कीले पनि नोबल पुरस्कार पाएनन् । भनिन्छ स्विडेनका राजाले कम्युनिष्ट लेखकलाई कहिल्यै यो पुरस्कार दिने छैनन् । तर, सोभियतको विरोधमा उभिएका गोर्कीभन्दा निकै कमसल लेखक बुनिन्लाई रुसी प्रवासीको रूपमा सम्मान दिएर सोभियत सरकारलाई चिढाउने काम भयो । अर्का लेखक दिमित्री मेरजेस्कोभस्की जसले क्राइष्ट एण्ड एन्टिक्राइष्ट ट्रिअलजी लेखेर युरोपमा सर्वाधिक लोकप्रियता कमाएका थिए, दशपल्टसम्म नोमिनेसनमा परेर पनि अस्वीकृत भए । धेरै रुसी सर्जकले विश्वप्रसिद्ध पुरस्कार नपाउनुमा उनीहरूका सिर्जनाको स्तरीयता नभई देशीय राजनीतिको भौगोलिक पीडा कारक थियो । साहित्यलाई साहित्यकै रूपमा हेरिनुपर्छ र सोहीअनुरूप सम्मान गरिनुपर्छ । 

पुँजीलाभको जोडघटाउमा लागिरहेका देशको मौलिक संस्कृति छैन तर रुसको विविधता र मौलिकता सोभियतकाल सकिएपछि पनि जस्ताको तस्तै छ । आत्मनिर्भरताको पाटोमा विश्वका धेरै देशले आधुनिक रुसबाट सिक्न सक्छन् । 
 

टिप्पणीहरू