माओवादी नेतृत्वको हिन्दू मोह प्रदर्शन : चीनदेखि भारतसम्म
गत जेठ ५ गते माओवादीका २० जना नेता चीन गए । उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा नेतृत्वको टोलीमा सचिव त्रय हितमान शाक्य, गणेश साह र डिलाराम आचार्यसहित सातै प्रदेश अध्यक्ष थिए । यति मात्र होइन, सबै आठ जनवर्गीय संगठनका प्रमुखहरू टोलीमा थिए । टोली १५ दिने भ्रमण सकेर जेठ १९ गते फर्कियो । अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ टोली नेता सापकोटाले भनेका थिए, ‘चीन भ्रमण निकै फलदायी भयो ।’
सापकोटाले ‘निकै फलदायी भयो’ भनेको भ्रमण चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रमको लागि थियो । खासगरी गरिबी निवारणको कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीले प्रदान गरेको कक्षा लिन पुगेका थिए नेताहरू । त्यो भ्रमणमा कम चर्चा भएको पाटो हो कैलाश मानसरोवर यात्रा ।
टोली जेठ ९ गते मानसरोबर पुगेर ल्हासा फर्किएको थियो । चीन सरकारको स्वामित्वमा रहेको चाइना रेडियो इन्टरनेशनलमा नेपाली कार्यक्रम चलाउने लक्ष्मी लम्सालले माओवादी कमरेडहरूको तीर्थयात्रासम्बन्धी तस्बिर सार्वजनिक गरेका थिए । बेइजिङ, तिब्बत, सिचुआनदेखि हुबेइलगायत ठाउँमा पुगेका माओवादी नेताहरूले तिब्बतको भ्रमण सूचीमा कैलाश मानसरोबरलाई राखेका हुन् ।
उपाध्यक्ष नेतृत्वको भ्रमणमा हिन्दू धार्मिक धाम पुगेको माओवादी नेतृत्वले सत्ताको तहबाट गरिएको भ्रमणमा समेत हिन्दू धामलाई समावेश गरेको छ । गत बुधबारबाट शनिबारसम्म भारतको औपचारिक भ्रमण सकेर आएका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत आफ्नो औपचारिक भ्रमणमा भारतको हिन्दू धाम समेटेका छन् । काठमाडाैंबाट दिल्लीसम्मको हवाई यात्रा एक घण्टा २० मिनेट हाराहारीको हुन्छ । त्योभन्दा लामो हवाई यात्रा गरेर प्रचण्ड मध्यप्रदेशको महाकालेश्वर मन्दिर पुगेका छन् । ५१ हजार भारु दान दिएका छन् । रुद्राक्ष चढाएका छन् । उनी एक्लै पुगेका थिएनन् । क्याबिनेटमा कांग्रेस, माओवादीसहित नेकपा एसलगायतका मन्त्रीसमेत लिएर मन्दिर पुगेका थिए । मन्दिरमा गेरु वस्त्र लाएर पूजाआजामा सहभागी भएका थिए । टोलीले १०८ किलोका ८ लगेज रुद्राक्षसमेत लगेको थियो ।
राप्रपाजस्ता हार्डकाेर हिन्दू पार्टीदेखि रास्वपाजस्ताे सफ्ट हिन्दू पार्टीलाई आउने मत आफूमा केही न केही ढाल्न माओवादी नेतृत्वले साेचिबिचारी ट्रायल गरेकाे हुन सक्छ ।
अहिले प्रचण्डले आफू हिन्दू धर्मको मात्रै नभएर बौद्ध, इसाईदेखि इस्लाम धर्मको धाम पनि गएको भनेका छन् । तर, उनी गैर हिन्दूको कार्यक्रममा भने औपचारिक कार्यक्रममा जान्थे । तर, भारतको तीर्थधाम यात्रा औपचारिक थियो । आफ्नो हिन्दू धाम यात्रामा गेरु वस्त्र लगाउने बाध्यता पनि प्रचण्डले गज्जबै सुनाए । आफूले त्यो वस्त्र नलाएमा अर्ब बढी भारतीय हिन्दूको मनमा चिसो पस्ने खालको तर्क प्रचण्डले गरेका छन् । हिन्दू मतलाई तान्ने सूत्र प्रयोगमा प्रचण्डले भनेको अर्को कुरा झन् महत्वपूर्ण छ । त्यो हो– ‘म कम्युनिष्ट मात्रै होइन । प्रधानमन्त्री पनि हुँ ।’
कम्युनिष्ट पार्टी प्रमुखको हिन्दू धाम यात्रा निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सार्वजनिक रूपमै शुभकामना दिए । दुई प्रधानमन्त्रीबीचको पत्रकार सम्मेलनमा मोदीले भनेका थिए, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डजी, तपाईं भोलि इन्दोर र धार्मिक शहर उज्जैनको यात्रा गर्दै हुनुहुन्छ । मलाई विश्वास छ यो यात्रा ऊर्जामय हुनेछ । साथै, पशुपतिनाथदेखि महाकालेश्वरको यो यात्रामा तपाईंमा आध्यात्मक अनुभूति पनि हुनेछ । धेरै धेरै धन्यवाद !’
जेठमै माओवादी पोलिट्ब्युरो तथा संविधानसभा सदस्य इन्दु शर्माले विभिन्न १८ बुँदे माग राखेका थिए । आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसामु प्रस्तुत १२ नम्बरको बुँदामा हिन्दू धर्मसम्बन्धी माग थियो । जनगणना ०७८ अनुसार ८१ प्रतिशत हिन्दू भएको देशमा धर्मनिरपेक्षता वा हिन्दू राज्यबारे जनमत संग्रह गर्ने माग थियो शर्माहरूको । गत जेठ २ मा प्रचण्डसँग राखिएको मागमा लेखिएको छ, ‘राष्ट्रिय विवाद र बहसको रूपमा देखापरेको एक प्रमुख मुद्दा धर्मनिरपेक्ष वा हिन्दू राष्ट्रबारे जनमत संग्रहमार्फत निर्णय गरी देशलाई दीर्घकाल शान्तिको दिशामा लगियोस् ।’ माओवादी नेताले राखेको हिन्दू पक्षधर यो मागसम्बन्धी समाचार नेपालमा जत्तिकै प्राथमिकतामा भारतमा पनि छाएको देखियो । मूलधारका अखबार पञ्जाब केशरीलगायतमा यसको समाचार प्रकाशन गरिएको थियो ।
यी सबै सन्दर्भ संयोग मात्रै नहुन सक्छन् । यसमा देशभित्रको राजनीति र देश बाहिरको कूटनीति हिन्दू कार्ड प्रयोगको अभ्यास भएको हुन सक्छ । नेपालमा हिन्दू राज्य पक्षधरहरूले माओवादीलाई भोटै नहाल्ने अवस्था छ । तर, त्यो जमात पनि आकार बढाउन आवश्यक हुने भन्दै माओवादीले हिन्दू मत फकाउन हिन्दू धामको रणनीति लिएको हुन सक्छ । राप्रपाजस्ता हार्डकोर हिन्दू पार्टीदेखि रास्वपाजस्तो सफ्ट हिन्दू पार्टीलाई आउने मत आफूमा केही न केही ढाल्न माओवादी नेतृत्वले सोचिबिचारी ट्रायल गरेको हुन सक्छ । भारतमा राहुल गान्धीले कैलाश मानसरोबरदेखि पशुपतिनाथ भ्रमण गरेको राजनीतिक सूत्र माओवादीका पोलिट्ब्युरो सदस्य, उपाध्यक्षदेखि अध्यक्षसम्मले अनुकरण गरेको हुन सक्छ ।
माओवादी नेतृत्वको हिन्दूत्व कार्डको कूटनीतिक अर्थ पनि होला । नेपालका पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिरदेखि लुम्बिनीमा भ्रमण गरिरहेका हिन्दूत्वका पक्षधर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उनको हिन्दूलाई बढी पक्षधरता लिने दल भारतीय जनता पार्टीदेखि त्यसको सहयोगी दस्ता आरएसएसलाई भावुक बनाउन माओवादी नेतृत्वले हिन्दू कार्डलाई कूटनीतिक कार्डको रूपमा ट्रायल गरेको हुन सक्छ । शक्ति आर्जन हुने अवस्थामा टाइसुटबाट दौरासुरुवालमा रूपान्तरण हुन तयार भएका प्रचण्ड सत्तालाई आड भरोसा होला कि भनेर औपचारिक भारत भ्रमणमा मन्दिर कूटनीतिमा लागेका हुन सक्छन् । प्रचण्डले गेरु वस्त्र लाएर भारतीय मन्दिर गएको समाचार भारतीय मिडियामा पनि प्राथमिकतासाथ आएका छन् । त्यसको कूटनीतिक फाइदा आफ्ना लागि प्रयोग गर्ने रणनीति हुन सक्छ । योगलाई अन्तर्राष्ट्रिय दिवशको रूपमा संयुक्त राष्ट्रसंघबाट अनुमोदान गर्नेदेखि जि–२० सम्मेलनको लोगोदेखि नयाँ संसद भवन निर्माणमा समेत हिन्दूत्व प्रवद्र्धनमा कुनै कसर बाँकी नराखेको बिजेपी सत्तामा हिन्दू धाम भ्रमणले भावनात्मक सम्बन्ध बढाउन फाइदा पुग्ने प्रचण्डको आकलन पक्कै होला । नहुँदो हो त काठमाडाैंबाट दिल्लीभन्दा धेरै दूरीमा रहेको इन्दोर यात्रा गर्ने थिएनन् ।
चीनको मामिलामा पनि हिन्दू कार्ड सहजै हुने माओवादी नेतृत्वको बुझाइ छ । किनभने यो माओकालिन हार्डकोर चीन होइन जसले साँस्कृतिक क्रान्तिको नाममा धार्मिक आस्थामा प्रहार गरोस् । यो त सभ्यतालाई माया गर्ने सी चिनफिङ राष्ट्रपति भएको युगको चीन हो । माओको चीन र सिको चीन बारेमा फरक बुझ्न दुई घटना हेरे पुग्छ । घटना एक, माओ जीवित हुँदै सन १९७२ जुलाई २५ मा चार दिने स्थल यात्रा गरेर डोरबहादुर बिष्ट तिब्बतको राजधानी ल्हासा पुगेका थिए । तीन वर्ष महावाणिज्यदूत भएर काम गरेका विष्टले सन् १९७९ मा सरकारको स्वामित्व भएको साझा प्रकाशनबाट ‘रिपोर्ट फ्रम ह्लासा’ नामक पुस्तक निकाले । जसमा उनले तिब्बत पुग्नुअगाडि विशाल ढुंगामा तिब्बती बुद्ध धर्मका मन्त्र हटाएर माओका सांस्कृतिक क्रान्तिकालीन वाणी लेखिएको अवलोकन सुनाएका छन् । उनले १९६८ नोभेम्बर १९ को पिपुल्स् डेल्लीको समाचारमा पहिले दलाइ लामाको मूर्ति राख्ने धेरै तिब्बतीले माओको मूर्ति राखेको रोचक कुरा गरेका छन् । धर्म संस्कृतिमाथि त्यो हदसम्म प्रहार भएको माओ युग छैन अहिले । मन्दिर, गुम्बाहरू भत्काउने युग छैन । अहिले बनाउने युग छ । चीनले आफ्नो सभ्यता तथा संस्कृतिको संरक्षण, सम्बर्धन र प्रबद्र्धनमा राज्य तहबाटै लगानी बढाएको छ ।
सभ्यताको कुरामा चीन आफ्नो राष्ट्रिय घेराभित्र मात्रै सीमित छैन । विश्वभर छरिएको छ । सिले त विश्व मञ्चमा ग्लोबल सिभिलाइजेशनल इनिसिएटिभ नै सार्वजनिक गरेका छन् । विश्वभरका सभ्यता प्रवद्र्धन गर्ने वैश्विक कार्यक्रमको रूपमा सिले यसलाई सार्वजनिक गरेका हुन् । गत मार्च १५ मा विश्वभरका राजनीतिक दलहरूसँगको एक कार्यक्रममा सिले यस्तो प्रस्ताव ल्याएका थिए । प्रस्तावलाई वामपन्थीदेखि क्युबादेखि भेनेजुएलाले समेत समर्थन गरेका छन् । सिको ग्लोबल सिभिलाइजेशनल इनिसिएटिभकै प्रयोगको झल्को आउने गरी माओवादी नेताहरू तिब्बत पुग्दा उनीहरूलाई कैलाश मानसरोबर यात्रामा लगियो । उनीहरू जान तयार भए । चीनको पनि वैश्विक सभ्यता मोह देखेर माओवादीले आफूलाई त्यसैअनुसार ढालेको हुन सक्छ । तर, चीनदेखि भारतका हिन्दूधामको यात्रादेखि सार्वजनिक मुद्धा बनाएर धर्मनिरपेक्षताको बहस गर्ने माओवादीले यसलाई चुनावी औजार मात्रै बनाएको हो कि छिमेकी खुशी बनाउने तरिका अपनाएको हो? वा दुवै हो? यो बारेमा थप बुझ्न भने माओवादीले दलको रूपमा र सरकारको घटकको रूपमा अख्तियार गर्ने आगामी नीति तथा कार्यक्रमकै प्रतीक्षा गर्नुपर्नेछ ।
टिप्पणीहरू