अदालतका श्रेस्तेदारलाई कारागारबाट कैदीको डाइरेक्ट फोन

अदालतका श्रेस्तेदारलाई कारागारबाट कैदीको डाइरेक्ट फोन

-अञ्जनकुमार 

गत सोमबार लमजुङ अदालतका निमित्त श्रेस्तेदार विश्वराज कुईंकेलको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । सेवाग्राहीको सेवामा तल्लीन कुईंकेलले फोन रिसिभ मात्र गरेका थिए उताबाट अनुरोध आयो, ‘सर त्यो उनीहरूसँग कुरा मिलाइदिनु पर्र्यो, म पैसाको जोहो गर्दैछु ।’ एकाएक पैसाको कुरो सुनेपछि कुईंकेल रनभुल्ल परे । 

उनले पनि सोधे ‘तपाईं को हो ?’ जवाफ आयो, ‘म जीवन गुरुङ ।’ रिसले आगो भएका कुईंकेल बम्किहाले, ‘तँलाई फटाहा फोन राख् ।’ 

यसरी श्रेस्तेदारलाई फोन गरेर हाकाहाकी कुरो मिलाउने प्रस्ताव अघि सार्ने अरु कोही नभएर नामुद ठग एवम् फटाहको राजा भनेर चिनिएका जीवन गुरुङ थिए । गुरुङ जिल्ला कारागार लमजुङमा कारवाही भोगिरहेका छन् ।

कारागारमा रहेका ठग गुरुङको कहानी पनि कम्तीको रोचक छैन । मर्स्याङ्दी गाउँपालिका–१, घनपोखरा स्थायी घर भएका ३५ वर्षे गुरुङको ठगीको चङ्गुलमा तत्कालीन जिल्ला अस्पतालका निर्देशक हेमन्त श्रेष्ठदेखि अदालतका निमित्त श्रेस्तेदार कुईंकेलसम्म परेका थिए । परिवेश अनुसार आफ्नो हुलिया, वतन र पेशा बदल्दै ठगी धन्दा चलाएका गुरुङले पोखराको होटल ब्याम्बोको साहुलाई भने आफु सिआईबीको असई भएको बताउँदै ३३ किलो सुनको तस्करीको कुरो उठाएको थिए । 

उक्त सुन पोखरा ल्याइएकाले खोजीमा ब्युरोले खटाएको भन्दै एक महिनासम्म होटेलमा बसे । मन लागेको खानेकुरा खाए । त्यतिले नपुगेपछि ३० हजार रुपैयाँ समेत ठगे । दिनभरी कोठामै सुत्ने साँझ ७ बजेपछि स्करपियो गाडी लिएर पोखराका दोहोरी साँझ चाहर्ने उनको दैनिकी थियो । पोखरामा सिआईडी पुलिस जीवन लमजुङका गुरुङ्सेनीहरु कसैलाई सिडिओ कार्यालयको सुब्बा, कसैलाई लोकसेवाको कर्मचारी त कसैलाई प्रहरी निरीक्षक भनेर हैसियत र आवश्यकताअनुसारको ठगी गरेको कुरो पछि खुलेको हो । 

यसरी ठगिनेमध्ये बेसीशहर–३ स्थायी घर र हाल बेसीशहर–८ बस्ने धनमाया गुरुङलाई आफू प्रहरी निरीक्षकबाट डिएसपी हुन लागेको, बढुवाका लागि माथि पैसा बुझाउन पर्यो भन्दै पाँचलाख मागे । धनमायाले अहिले त्यत्ति पैसा नभएको भन्दै १ लाख ६५ हजार दिइन । त्यत्ति पैसा पाएपछि जीवन धनमायासंग सम्पर्क बिहिन भए । 

धनमायालाई ठगी भागेका जीवन बेसीशहर–८ कै खुशीमाया गुरुङको सम्पर्कमा पुगे । खुशीमाया गुरुङ मीटर ब्याजमा पैसा चलाउने । उनले बेसीशहरकै अवैध रूपमा सुन राखेर मीटरब्याजीमा पैसा चलाउने व्यापारी रचना श्रेष्ठकोमा सुन राखेर एक महिना भाखामा पैसा निकालिन् । तर रचनाले भाखा दुई दिन नाघेको भन्दै सुन पचाउन खोजिन् । 

अवैध सुन कारोबारीको आरोपमा रचना श्रेष्ठ गत भदौताका नै जेल परिन् । तिनै श्रेष्ठबाट पीडित बनेकी खुशीमाया जीवनको सम्पर्कमा पुगिन् । केहीदिन अघिमात्रै जीवनले निमित्त श्रेस्तेदार कुईंकेलसँग भेटेर आफ्नो घर पोखरा भएको र रचनासँग पीडितहरु अरुपनि जाहेरी दिन आउने भन्दै उनीसँग सम्बन्धित मिसिल फुत्काउन सफल भएका थिए । त्यसैलाई आधार बनाएर जीवनले खुशीमायाको सुन निकालिदिने भन्दै दुई लाख ७६ हजार ठगे । 

खुशीमायालाई दुःखी तुल्याएको केही दिनमै दोर्दी गाउँपालिका–४ का मीनकुमारी घले गुरुङ, सुषमा गुरुङ, बीना गुरुङलाई ‘लोकसेवा खुलेको छ, परिक्षा दिनु पर्दैन । लोकसेवाका मान्छेलाई पैसा बुझाउनुपर्छ । ५० हजार तलब हुन्छ’ भन्दै ४ लाख ४७ हजार ५ सय चिरिप्प पारेर भागेका जीवनलाई उनीहरुकै उजुरीका आधारमा पक्राउ गरिएको थियो । त्यसपछि उनी गत माघमा जेल चलान भए । त्यही जीवनले श्रेस्तेदार कुईंकेललाई अस्ति मात्रै कारागारबाट पैसा दिन्छु केश मिलाइदिनु पर्यो भन्दै फोन गरेको हो ।

टिप्पणीहरू