विश्वकप क्रिकेट छनोट : उत्कृष्ट ब्याटिङका बाबजुद घरेलु टोलीसँग नेपाल स्तब्ध

विश्वकप क्रिकेट छनोट : उत्कृष्ट ब्याटिङका बाबजुद घरेलु टोलीसँग नेपाल स्तब्ध

एकदिवसीय विश्वकप क्रिकेट छनोटमा नेपाल टेस्ट राष्ट्र जिम्बावेसँग ८ विकेटले पराजित भएकाे छ । 

नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दै दिएकाे २ सय ९१ रनकाे चुनौतिपूर्ण लक्ष्य घरेलु टाेली जिम्बावेले ४४ ओभर १ बलमा मात्रै २ विकेट गुमाएर भेटाएको हो । जिम्बावेसामु नेपाली बलरहरु निरिह सावित भए । 

जिम्बावेका कप्तान क्रेग इरभाइन र सेन विलियम्सले शतक बनाए । इरभाइनले १ सय २१ र विलियम्सले १ सय २ रन बनाए । बलिङतर्फ साेमपाल कामी र गुलसन झाले १/१ विकेट लिए ।  

हरारे स्पाेर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान राेहित पाैडेलले ३१ रन बनाए । 

आजदेखि शुरु भएकाे विश्वकप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । समूह 'बी' मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । 

‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

टिप्पणीहरू