विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो

विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो

जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ । 

भीम सार्कीको उत्कृष्ट ब्याटिङ र करण केसीको सानदार बलिङमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै नेपालले जित हासिल गरेको हो । अमेरिकाले दिएको २०८ रनको मध्यम लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । 

जिम्बावेको हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ गरेको अमेरिका नेपाली बलरहरुले कसिलो बलिङसामु खुलेर खेल्न सकेनन् । अमेरिकालाई सामान्य स्कोरमा रोक्न करण केसी एक्लैले चार विकेट लिए । उत्कृष्ट बलिङ गरेका करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चिए । 

२०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको राम्रो सुरुआत भने हुन सकेन । चौथो ओभरको अन्तिम बलमा आसिफ शेख व्यक्तिगत १२ रनमा आउट हुँदा नेपालको स्कोर २५ थियो । त्यसपछि क्रिजमा आएका भीम सार्कीले ७७ रनको अविजित पारि खेलपछि नेपालले सहज जित निकालेको हो । चौथो विकेटका लागि भिम र दिपेन्द्र सिंह ऐरीले ७४ रनको अविजित साझेदारी गरे । 

दिपेन्द्र ३९ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेलले ३९ रनको योगदान दिए भने कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ तथा आशिफ शेखले १२ रन जोडे । 

यो जितसँगै नेपालले शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ । आइतबार घरेलु टोली जिम्बावेसँग भने नेपाल उत्कृष्ट ब्याटिङका बाबजुद पराजित भएको थियो ।

टिप्पणीहरू