मुर्रा, मूर्दा र मुर्कट्टा !

मुर्रा, मूर्दा र मुर्कट्टा !

– अधिवक्ता प्रेमराज सिलवाल

२०७२ साल वैशाख १२ गते १२ बजे भूकम्प आयो । ९ हजार बढीले ज्यान गुमाए । १४ भन्दा बढी जिल्ला प्रभावित भए । हजारौं घर भत्किए । काठमाडौं शहरमा पनि सयाँै पक्की घर ढले । धरहरा नै गल्र्यामगुर्लुम भयो । नयाँ बसपार्क क्षेत्रमा मात्र चार दर्जन बढी घर भत्किए । मान्छेको जीवन हायलकायल बन्यो ।

भूकम्पबाट थिल्थिलो बनेको नेपाली जीवनलाई सहयोग गर्न देशी विदेशी हातहरू अघि बढेका थिए । चीनले औषधि, स्प्रेलगायत सामानसहित टोली पठाएको थियो । विभिन्न मुुलुकले उद्धार सामग्री र नगद सहयोग गरे । धेरै मुलुकले ठुल्ठूला सहयोगको वचन दिए । नाम टिपाए । कागजी सहयोग ठूलै आयो । थोरै मात्र सहयोग आयो । छिमेकी मुुलुक भारतले पनि विभिन्न सहयोग ग¥यो । लेखक स्वयं काठमाडौंको गोंगबु क्षेत्रमा रहेको र आफू पनि पीडित नै भएकाले सहयोगप्रति त्यतिबेला चासो हुने नै भयो । वैशाख १५ बिहानै भारतीय सहयोग सामग्री बोकेका केही ट्रक ओर्लिए । केहीमा पुराना लत्ताकपडा थिए । केहीमा चाउचाउ, पानीजस्ता सामग्री पनि थिए । तर जब अर्काे ट्रकबाट सहयोग सामग्री खोलियो र पीडितलाई बाँड्न थालियो । त्यतिबेला पीडित नेपालीले जीब्रो पो टोक्न पुगे ! त्यो ट्रकमा थियो–तीन दिनअघि दिल्लीमा पकाएको ‘छोला भटुरा ।’ वैशाखको गर्मी । दिल्लीमा पकाएर टपरीमा पोका पारी प्लास्टिकको झोलामा प्याक गरिएका ‘भूकम्प पीडितको लागि पठाइएको खाना ।’ भारत हाम्रो भौगोलिक, ऐतिहासिक, धार्मिक, सामाजिक, आर्थिक र सबै दृष्टिले नजिक सम्बन्ध भएको देश हो । कुनै भ्रम छैन । उसले नेपालका ठुल्ठूला आयोजनामा पनि सहयोग र लगानी गरेको छ । त्यतिबेला त्यो भटुरा भारतीय सरकारले नै पठायो ? वा अरु कसले पठायो ? पत्तै पाइएन । माग्नेलाई तातो भात भनेजस्तो भोका नेपालीलाई भूकम्पका बेला त्यो पनि आयो ! सित्तैमा दिएको खानेकुराको के आलोचना गर्नु । रुचे खानु नरुचे मुख बन्द गर्नु भनेजस्तो भयो ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला आएको (आउने भनिएको) मुर्रा भैँसी (राँगा) ले नेपालको संसददेखि सडक र समाजमा बढी चर्चा पायो । केही दिन संसदको बिजनेस नै रागाँभैसी भइदिए । राँगाबाहेक प्रचण्डको भ्रमणमा विद्युत् आयोजनाका कुरा पनि गरिए । जो भारतीय ठेकेदार कम्पनीले निर्माण गर्ने (ठेक्का लिने) स्वार्थसँग गाँसियो । पेट्रोलको पाइप लाइन पनि त्यस्तै व्यापारसँग जोडियो । ठीकै होला भारतले आफ्नो स्वार्थ हे¥यो । लामो समयदेखि विवादमा रहेका विषयमा प्रचण्डको भ्रमणले खासै प्रवेश पाएन । सीमाका मुद्दामा मौनता साँधियो । १९५० को असमान सन्धिको कुरा उठाउन खुट्टा काँप्यो । नेपालको राष्ट्रिय हितसँग जोडिएका कतिपय मुद्दा र विषय त्यसै थाती राखियो । इपिजी प्रतिवेदन रद्दीको टोकरीमा पुग्यो कि ? चार हातका गलैँचा ओच्छ्याएर नर्तकी नचाइयो । भ्रमणपूर्व नागरिकतासम्बन्धी विधेयकमा लालमोहर लाग्यो । 

अर्काेतर्फ भुटानी शरणार्थीका नाममा ठगिएकाको लहरो तान्दा पहरो थर्कने भएपछि त्यसलाई ‘छामछुम र सामसुम’ पार्ने गरी कारबाही हुन थालेको आभाष र छनक देखिन थालेका छन् । हजारौंको लाखौंलाख खाएर बिचल्ली पार्नेहरूको लामो लाइन रहेको प्रष्ट भइसकेको छ । उपभोक्ता र नागरिक बोल्न सक्ने अवस्थामा छैनन् । केन्द्र सरकारले अनेकौं कर राजश्व असुल्ने, प्रदेशले भेट्यो उसले पनि लिने । स्थानीयले अनेकौं कर उठाउने । सुविधा र सेवा भने नामेट । विकास ठप्प । सडक बन्दैनन् । नयाँ पुल बनेका छैनन् । यसरी चौतर्फी घेराबन्दी जस्तो प्रक्रियाले लुटेपछि नागरिकचाहिँ पीडामा छन् । पढेका नेपाली युवा खाडीको तातो घाममा पसिना बनाउन एअरपोर्टमा लाइन लागेको लाग्यै छन् ।

मंसिर ४ को निर्वाचनपछि आएको संसद बेकारको बँुख्याचा खालको भयो । नीति, विचार, सिद्धान्त केही नभएका, पुँग न पुच्छरका समूह र व्यक्तिको उपस्थिति बाक्लो रह्यो । संसदमा प्रणाली र संविधानविरुद्ध बोलेका छन् । सरकारको उपस्थिति जंगलको बीचमा कुनै मुर्कट्टा छ जस्तो । रातमा बत्ती बालेर जंगल घुम्छ । मुर्कट्टा कराउँछ । सिँगौरी खेल्छ । मुर्कट्टा बाँसुरी बजाएर नाङ्गो नाच नाच्छ । यस्तैयस्तै भन्दछन्– गाउँलेहरूले । तर कसैले पनि कुनै रूप र आकारको खास मुर्कट्टा देखेर, भेटेर, फोटो खिचेर आएको थाहा भएन, छैन । त्यस्तै भइदियो हालको सत्ता र गठबन्धनरूपी सरकार । निर्वाचनको मतपरिणाम नै मुर्कट्टाजस्तो आयो । प्रचण्डको सत्ता ढल्यो भने फेरि कस्तो मुर्कट्टा सत्ता आउने हो कुनै टुंगो भएन । भारतबाट मुर्रा भैँसी (राँगा) आउने, नेपाली नागरिक मूर्दाजस्तो गरी सबैतिरबाट पीडित हुनुपर्ने अनि सरकारचाहिँ कुनै खास आकार, रूप र शरीर नभएको मुर्कट्टाजस्तो भइरहने भएपछि नेपाली नागरिकको हालत कस्तो होला ?

 

टिप्पणीहरू