‘थाहा पा भाते, जान् भाते, बुझ् भाते’

‘थाहा पा भाते, जान् भाते, बुझ् भाते’

असार ७ गते थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रूपचन्द्र को २४ औं स्मृति दिवस । थाहा भनेको थाहा पाउनु हो । कतिले थाहा पाएका छन् । थाहा पाउन कति सहज छ ? 

भर्खरै काठमाडौं आएर एउटा प्रतिष्ठित रेडियोमा काम थालेको थिएँ । समाचार कक्षमा काम गर्थें । सबै सञ्चारसंस्थाको (लिखित अलिखित) सम्पादकीय नीति हुन्छन् । त्यो सिक्दै थिएँ । त्यतिबेला केपी शर्मा ओली सरकार र पार्टी कुनै पनि नेतृत्वमा थिएनन् । पहिलो संविधानसभामा त सभासद पनि थिएनन् । 

ओलीको भाषणकला अहिले आएर बनेको हैन, पहिलेदेखि नै थियो । नेपालको समग्र पत्रकारिता ‘भन्नुभयो’ले खर्लप्पै निलेको थियो । अहिले पनि यसले पत्रकारिताको ठूलो हिस्सा ओगटेकै छ । केही समाचार केपी ओलीको भाषणको लेंखें । तर, अरु नेताका भाषणहरू ‘अनइयर’ भए, ओलीले भनेको कुराचाहिँ प्रसारण भएन । किन ? यो प्रश्न ‘सिनियर’ साथीहरूलाई सोधें । स्पष्ट जवाफ कहीँबाट पनि आएन । 

सबैको समाचार जाने तर ओलीको मात्रै जाँदै नजाने के रहेछ, भनेर बुझ्ने कोसिस गरें । त्यतिबेलाको कुनै पनि भाषण माओवादीलाई ‘गाली’ नगरेको हुने थिएन । ओलीले बोले कि माओवादीको आलोचना गरिहाल्ने । त्योबेला माओवादी देशको पहिलो पार्टी थियो, सरकारको नेतृत्व गरिरहेको । 

आफ्नै अभ्यास अनुभवले बल्ल बुझें, ओलीको ‘भाषण’ नगएको हैन, माओवादीलाई गरेको ‘आलोचना’ नगएको रहेछ । यो ‘थाहा’ पाउन मलाई झण्डै दुई वर्ष लाग्यो । यही त रहेछ ‘थाहा’ भनेको । 

अहिले पनि समाचारहरू आइरहेका हुन्छन्, च्याऊ खाँदा अमुक ठाउँमा अमुकको मृत्यु भयो । मानिसको पहिलो समस्या बाँच्नुसँग हुन्छ, भोक मेट्नुसँग हुन्छ । च्याऊ खाँदैमा आखिर मान्छे मर्ने हुँदैहैन, विषालु च्याऊ खाएर चाहिँ मर्ने हो । कुन विषालु च्याऊ हो र कुन विषालु हैन ‘थाहा’ नपाउनेहरू मात्रै मर्ने हुन् । ‘थाहा’ पाउनु भनेको त बाँच्नु रहेछ आखिर । 

आजभन्दा २४ वर्षअघि २०५६ साल असार ७ गते थाहा आन्दोलनका प्रणेता रूपचन्द्रको निधन भयो । यो प्रसंगमा यहाँ रूपचन्द्र विष्टले शुरु गरेको थाहा आन्दोलनलाई सम्झन खोजिएको हो । ६५ वर्ष ५ महिना ११ दिन पूरा गरेको दिन रूपचन्द्र विष्टले संसारबाट बिदा लिए । 
जीवन छँदा रूपचन्द्रलाई वास्तविक रूपमा अनुयायीहरूले चिनेनन् । त्यही भएर नै होला, रूपचन्द्रलाई शत्रुले चिने, मित्रुले चिनेनन् भन्ने गरिन्छ । मृत्युपछि रूपचन्द्रको अभाव पूरा गर्न सक्ने कोही भेटिएनन, अनि विस्तारै उनको अभाव खड्किँंदै गयो । आँखाअगाडि रहँदा कसैको पनि मन नजाँदो रहेछ । आँखा अगाडि नहुनु र संसारमै नरहनु फरक हो । 

रूपचन्द्रको जन्मथलो दामन पालुङको स्थानीय तह विष्टकै दर्शनको नामबाट नामकरण भएको छ । अहिले थाहा नगरपालिकामा विष्टकै वंश नगरप्रमुख छन् । यसअघि पनि नगरप्रमुख विष्ट नै थिए । के नगरप्रमुख भएकाहरूले ‘थाहा’ पाएका छन् ? ‘थाहा’ दिएका छन् ? पटक्कै छैनन्, यही भन्छन् उनीहरूका पार्टी नै । हुन पनि ‘शासक’को स्वभाव नै हुन्छ– ‘थाहा’ नपाउने । ‘थाहा’ नै नपाएपछि कसरी थाहा दिने ! रूपचन्द्रलाई सम्झने आ–आफ्नै तौर तरिका छन् । कसैले मनले सम्झन्छ– बाहिर अभिव्यक्त गर्दैनन्, कत्तिले चाहिँ मुखले रामराम बगलीमा छुरा गर्दछन् । 

‘थाहा’का बारेमा अहिले पनि कुराकानी त हुन्छ, तर थाहा अभियान ‘बचाउने’ हैन ‘भजाउने’ गरी । थाहालाई कसरी राम्रो ब्राण्डिङ गरेर बेच्ने भन्ने मात्रै ध्याउन्न देखिन्छ । ‘थाहा’ पाउनका लागि रूपचन्द्रले शिक्षाको कुरा गरे, अभियान चलाए । विद्यालय बनाए, आफँैंले पढाए । महिला, गरीब, दलित उनको प्राथमिकतामा परे । दिउँसो पढ्न नपाउनेहरूले बिहान, बिहान पढ्न नपाउनेहरूले साँझ, साँझ पढ्न नपाउनेहरूले बेलुका भने पनि पढ्नैपर्ने भयो । महिला, बालबालिकालाई विद्यालयमा ल्याउनका लागि अनेकौं उपायहरू अपनाए । श्रमको मूल्य बुझाउन आफँैंले श्रम गरें । आफ्ना लागि आफैँ स्रोत जुटाए ।  

अहिले पनि त्रिभुवन राजपथ भएर हिँड्नेहरूले ढुंगामा खोपेर ठूलो अक्षरले ‘थाहा’ लेखेको देख्छन् । पूर्वी नेपालका कतिपय ठाउँमा पनि यो देखिन्छ । भित्तामा देखिनु, किताबमा लेखिनु र व्यवहारमा उत्रिनु अर्को कुरा । अब त्यो प्रविधिको जमाना बाँकी छैन, ज्ञानको पुस्तान्तरण गर्ने भनेको प्रविधिमैत्री भएर हो, त्यसका लागि शुरुवात आफैँबाट गरौं । ढुंगामा देखेको थाहा मस्तिष्कमा लेखौं । विसं. १९९० पुस २६ गतेबाट शुरु भएर ०५६ असार ७ गते अन्त्य भएको रूपचन्द्र विष्टको जीवनरूपी यात्रा समाप्त भए पनि विष्टले थालेको थाहा अभियान युगौं, युगसम्म चलाउनै पर्छ । 

विष्टले पारिवारिक विचारभन्दा फरक कम्युनिष्ट राजनीति स्कूले जीवनबाटै शुरु गरे । २००७ देखि २०१० सम्म कम्युनिष्ट विद्यार्थी राजनीतिमा सक्रिय रहे । २०१० देखि २०१७ सालसम्म किसान र मजदुरहरूको पार्टीमा क्रियाशील रहे । त्यसैगरी २०१७ देखि २०२६ सालसम्म विष्टको सक्रियता विद्यार्थी र किसान क्षेत्रमा रह्यो । १७ सालपछि २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतमा प्रधानपञ्च रहे र पछि २०२८ सालमा स्नातक कोटाबाट राष्ट्रिय पञ्चायत सदस्य भए । विष्टले बीए र बीएलसम्म औपचारिक अध्ययन गरे र पछि सरकारको असहयोग रहेकोले भारतमा स्वनिर्वासित भएर पूर्वीय दर्शनको अध्ययन गरे । 

विष्टको विचार जनवादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदासमेत उनलाई गिरफ्तार गरियो । पटक पटक गिरफ्तार भए पनि जनमुखी राजनीतिमा पूर्ण प्रतिबद्ध रहे । साधारण जीवन रुचाउने उनले विवाह गर्दासमेत पाहुनालाई चिया मात्र खुवाए । दुई सन्तान भएका उनको पछि सम्बन्धविच्छेद भयो । धेरै पटक राजद्रोहलगायत अन्य आरोपमा पक्राउ परेका विष्टलाई तत्कालीन पञ्चायती सरकारले धेरै पटक जेल हालेको थियो । जेलबाट फर्केपछि मकवानपुरको दामनमा प्राकृतिक विज्ञानको ८ वर्ष स्वअध्ययन गरे । उनी स्थानीय विद्यालयमा प्रधानाध्यापक भए । बिहान बेलुका प्रौढ शिक्षासमेत चलाए । २०३८ र २०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका उनी फोटो होइन, विचार राखेर निर्वाचन लड्थे । विष्ट मुलुकमा रहेको मण्डलेतन्त्रको मात्र होइन, घर, टोल, गाउँ र दलभित्र रहेको मण्डलेतन्त्रको पनि प्रखरविरोधी थिए । केही समय विष्टसँग जेलमा बसेका एमाले अध्यक्ष केपी ओली यसरी सम्झन्छन्, ‘उनी महान् मान्छे थिए, जीवनको विशेषता जनशैली, राजनीतिको विशेषता जनमुखी । 

वि.सं. २०२९÷३० सालतिर रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरू गरे । नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । यस आन्दोलनको सबैभन्दा महत्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन । यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो । उनी भन्थे, ‘थाहा पा भाते, जान् भाते, बुझ् भाते’ । थाहा आन्दोलनको मूल लक्ष्य भनेको चेतनाहीन जनतालाई चेतना सम्पन्न नागरिकमा रूपान्तण गरी राजनीतिक र सामाजिक जागरण गर्नु हो । 
 

टिप्पणीहरू