ढाल,कण्डम प्रयोगमा शहरीभन्दा ग्रामीण महिला ‘स्मार्ट’
शहरी क्षेत्रका महिलाले आफूलाई ‘स्मार्ट’ भन्ने गरेका छन् । तर, परिवार नियोजनका अस्थायी साधनको प्रयोगमा ग्रामीण क्षेत्रका महिला धेरै अगाडि देखिएका छन् । हालै सार्वजनिक गरिएको स्वास्थ्य सर्वेक्षणमा शहरी र विवाहित महिलाहरु त्यस्ता साधन प्रयोगमा अविवाहित र ग्रामीण क्षेत्रका महिलाभन्दा पछाडि देखिएका छन् ।
स्वास्थ्य सर्वेक्षणमा भनिएको छ ‘विवाहिता महिलामा परिवार नियोजनको आधुनिक साधन वा विधिको प्रयोग शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको छ । शहरी क्षेत्रमा ४१ प्रतिशत विवाहित महिलाले त्यस्तो साधन प्रयोग गरेका छन् भने ग्रामीण भेगका ४७ प्रतिशत महिलाले ।’
त्यस्तै तुलनात्मक रुपमा शिक्षित र सम्पन्न भनिएका गण्डकी प्रदेशका ३५ प्रतिशत महिलाले मात्र त्यस्तो साधनको प्रयोग गरेको देखिन्छ । तर सुदूरपश्चिम प्रदेशमा उक्त दर ४७ प्रतिशतसम्म पाइएको छ । रिपोर्टमा उल्लेख छ, ‘बढ्दो शिक्षा र घरपरिवारको सम्पन्नतासँगै आधुनिक साधन वा विधिको प्रयोग समान्यतयाः घट्दै गएको देखिन्छ ।’
तर १५ देखि ४९ वर्षका विवाहिता महिलाले परिवार नियोजनको कुनै न कुनै साधन वा विधि प्रयोग दरमा केही बृध्दि भएको पाइएको छ । स्वास्थ्य सर्वेक्षण २०१६ मा उक्त प्रयोग दर ५३ प्रतिशत थियो भने छ वर्षपछि सन् २०२२ मा ५७ प्रतिशत पुगेको छ । पछिल्लो एक दशकमा राज्यले परिवार नियोजनको आधुनिक साधन तथा विधिको प्रयोग बढाउन अनेकौं प्रयास गरेको तुलनामा प्रगति शून्य देखिएको छ । सन् २०११ देखि यस्ता विधि प्रयोग गर्ने विवाहिताको संख्या बढेको पाइन्न ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०११, २०१६ र पछिल्लो २०२२ सम्म परिवार नियोजनको आधुनिक साधन तथा विधि प्रयोग दर ४३ प्रतिशतभन्दा माथि जान सकेको छैन । २५ वर्षअघि यस्तो प्रयोग गर्नेको संख्या २६ प्रतिशत थियो । सन् २००१ मा ३५ र सन् २००६ मा ४४ पुगेको थियो । परिवार नियोजनको परम्परागत विधि प्रयोग गर्नेमा केही प्रगति भएपनि आधुनिक साधन तथा विधि प्रयोग गर्नेको संख्या उस्तै रहेकाले सरकारी प्रयास र लगानी बालुवामा पानी भएको देखिन्छ ।
यसबीच गर्भपतन गराउनेको संख्या पनि बढेको छ । विभिन्न अवस्थाका गर्भपतनमध्ये १० प्रतिशत गर्भवती महिला आफैँले जानाजान पतन गराउने गरेको पाइएको छ ।
टिप्पणीहरू