प्रभावविहीन लागूऔषध दुर्व्यसनी तथा ओसारपसारविरुद्धको दिवस

प्रभावविहीन लागूऔषध दुर्व्यसनी तथा ओसारपसारविरुद्धको दिवस

असार ८ गते नेपाल प्रहरीले हालसम्मकै ठूलो परिणाममा दुई करोड मूल्य बराबरको लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद गर्यो । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले १० हजार १३० थान एलएसडीसहित पाँच जनालाई पक्रेको थियो । 

यसैगरी ब्यूरोले असार ५ गते काठमाडौंको ठमेलबाट २९ वर्षीय सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकका नागरिक मार्टिना सेरना, राज गौतम र गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेभिड मण्डियो समातिएका हुन् ।

 
एलएसडी केमिकलमा आधारित हेलोजेनिक (भ्रमित पार्ने) हार्ड ड्रग हो । यसको असर प्रयोगकर्तामा गम्भीर देखिन्छ । एलएसडी स्ट्याम्प आकारको कागजको टुक्रामा राखेर प्रयोग गरिन्छ । यसले मानिसमा भ्रम सिर्जना गराउँछ । 

यसको प्रयोग गर्ने धेरैले आत्महत्या गर्ने वा माथिबाट हामफाल्नेजस्ता कार्य गर्ने गरेको देखिएको ब्यूरोले जनाएको छ । पछिल्लो समय मुलुकमा लागूऔषधसहित पक्राउ पर्नेको संख्या बढ्दो छ । दिनहुँ गाँजा, हिरोइन, ब्राउन सुगर, अफिम, मर्फिन, कोकिनलगायत विभिन्न लागूऔषधसहित पक्राउ परेको खबर आइरहने गरेको छ ।

विशेषगरी किशोर–किशोरी, युवा–युवती र महिला–पुरुषको यसमा संलग्नता बढ्दै गएको पाइएको छ । यसले एकातिर उनीहरुको भविष्य अन्धकार बनाएको छ भने अर्कातिर समाजलाई नराम्रो बाटोमा लैजाने निश्चित छ । योसँगै युवाहरु नै कुलतमा फसेपछि विकासका कार्यहरुमा प्रत्यक्ष असर पुग्दछ । 

सरकारले हालै लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको छ । गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रण शाखाले ‘लागूऔषध दुर्व्यसनीविरुद्धको ऐक्यबद्धताः व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने मूल नारासहित असार ५ गतेदेखि ११ गतेसम्म यो दिवस मनाएको छ । 

तर, वर्षको एक पटक सप्ताहव्यापी रुपमा यो दिवस मनाउँदैमा साच्चिँकै लागूऔषध दुरुपयोग एंव ओसारपसार गर्नेको संख्यामा कमी आउँछ त ? तथ्यांकले भने त्यो देखाउँदैन । 

नेपाल प्रहरीको आर्थिक वर्ष २०७८/०७९ को तथ्याङ्कले काठमाडौं उपत्यकाभित्र मात्रै लागूऔषधसहित छ सय १७ जना पक्राउ परेको देखाउँछ । यससँग सम्बन्धित चार सय १२ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । 

त्यस्तै, कोशी प्रदेशमा लागूऔषधसहित एक हजार एक सय २१ जना पक्राउ पर्दा सात सय ७९ मुद्दा प्रहरीमा दर्ता भएको छ । मधेश प्रदेशमा लागूऔषधको कारोबारमा संलग्न रहेको आरोपमा एक हजार दुई सय ८५ जना पक्राउ पर्दा नौ सय २२ मुद्दा प्रहरीमा दर्ता भएका छन् । 

सोही अवधिमा बागमती प्रदेशमा पाँच सय ३० जना समातिँदा तीन सय ४३ मुद्दा प्रहरीमा दर्ता भएको छ । गण्डकी प्रदेशमा भने चार सय ९ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता हुँदा पाँच सय ७३ जना अनुसन्धानमा समातिएका छन् । 

यसैगरी, लुम्बिनी प्रदेशमा सात सय १८ जनालाई प्रहरीले लागूऔषधसहित पक्रेको छ भने चार सय ३६ वटा मुद्दा दर्ता भएका छन् । यता कर्णाली प्रदेशमा सोही अवधिमा लागूऔषधसँग सम्बन्धित ९५ मुद्दा प्रहरीमा दर्ता भएको र एक सय ७३ जना नियन्त्रणमा लिइएको तथ्याङ्कले देखाउँछ । 

सुदूरपश्चिम प्रदेशमा भने पाँच सय ७० जना लागूऔषधसहित समातिँदा तीन सय ५३ मुद्दा प्रहरीमा दर्ता भएको अभिलेख छ । यसबाट वर्षमा एक साता लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवस मनाउँदैमा रोकथामको सम्भावना देखिँदैन । लागूऔषधको प्रयोगले हुने जटिलताबारे नियमित रुपमा जनचेतना फैलाउन आवश्यक रहेको विज्ञहरुको भनाई छ । 

लागूऔषध शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थ हो । यसलाई कानूनले नै प्रतिबन्ध लगाएको छ । लागूऔषध नियन्त्रण ऐन, २०३३ मा  एक सय ५० किलोग्रामभन्दा माथि चरेश, तीन सय किलोग्रामभन्दा माथि गाँजा उत्पादन, तयारी, खरिद, बिक्री वितरण, निकासी वा पैठारी ओसारपसार गर्ने सञ्जय गर्ने कसुरमा छ वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ । 

यता, २५ बोटभन्दा बढी अफीम वा कोकाको खेती गर्नेसम्बन्धी कसुरमा तीन वर्षदेखि १० वर्षसम्म कैद र २५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । सोही ऐनमा एक सय ग्रामभन्दा बढी अफिम, कोका वा सोबाट बनेको लागूऔषधको उत्पादन, निर्माण, तयारी, बिक्री, वितरण, निकासी वा पैठारी, खरिद, सञ्जय, राख्ने वा ओसारपसार गर्नेसम्बन्धी कसुरमा १५ वर्षदेखि जन्मकैदसम्म र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था पनि छ ।

तर, सर्वसाधारणमा चेतनाको अभावका कारण कडा कानूनी व्यवस्थाका बाबजुद पनि यस्ता अपराधजन्य क्रियाकलापमा कमी आउन नसकेको विज्ञहरुको ठम्याई छ  । मानिसमा एक पटक लागूऔषधको लत लागेपछि उसलाई त्यसबाट मुक्त गराउन निकै गाह्रो हुने चिकित्सकहरुको भनाई छ । 

लागूऔषधले केबल प्रयोगकर्तालाई मात्र हानिनोक्सानी पुर्याउँदैन । यसले परिवारको भविश्यसमेत सराख पार्न सक्छ । अधिकांश घटना लागूऔषध सेवनका कारण हुने भएकाले हाम्रो समाजको पछिल्ला गतिविधिले त्यसलाई प्रमाणित गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता चक्रराज उप्रेती लागूऔषधको लत लाग्नुअघि नै अभिभावक, आफन्तजन, साथीभाइहरुले यसबाट हुने हानिनोक्सानीबारे सचेत गराउन आवश्यक रहेको बताउँछन् । कतिपय अवस्थामा अभिभावकको बेवास्ता, व्यस्तता, साथीको दबाब, एक्लोपन, तनावलगायत कारण सानै उमेरमा बालबालिकाहरु लागूऔषध दुर्व्यसनीमा फस्ने गरेको उनको बुझाई छ । 

योसँगै हाम्रो मुलुकमा अर्थोपाजन र खुल्ला सीमाना लागूऔषध दुरुपयोग तथा ओसारपसारको प्रमुख कारण रहेको उनले बताए । ‘विशेषगरी १५ वर्षदेखि २१ वर्ष उमेर समूहका किशोर–किशोरी तथा युवा–युवतीको यसमा संलग्नता देखिन्छ । खुल्ला सीमाना र अर्थोपाजन नै यसको प्रमुख कारण हो । व्यक्ति एक पटक कुलतमा फसेपछि उसलाई त्यसबाट बाहिर ल्याउन निकै गाह्रो हुन्छ,’ उनले भने । 

उप्रेतीका अनुसार अधिंकाश घटनामा एक पटक लागूऔषध दुव्र्यसनी तथा ओसारपसारसम्बन्धी कसुरमा जेल भुक्तान गरेर बाहिर निस्किएपनि त्यस्ता व्यक्तिले पुनः सोही हर्कत दोहोर्याउने गरेको पाइएको छ । ‘हामीले समयसमयमा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छौं । तर, एक्लो प्रयासले यो सम्भव छैन । एकातर्फ खुल्ला सीमाना र अर्कातर्फ स्थानीय सरकारको साथ नहुँदा पनि यस्ता अपराध घट्नुको साटो अझै बढिरहेको देखिन्छ,’ उनले थपे ।

लागूऔषध दुरुपयोग तथा ओसारपसारका घटनामा कमी ल्याउन अभिभावकहरुले सबैभन्दा पहिले आफ्ना बालबालिकाप्रति विशेष ध्यान दिनुपर्ने बताइन्छ । स्थानीय सरकारले पनि जनचेतनामूलक कार्यक्रम आयोजना गर्नुका साथै संघ र प्रदेशले पनि जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ । 

‘अहिले वर्षमा एक पटक मात्रै लागूऔषध दुर्व्यसनी तथा ओसारपसारविरुद्धको दिवस मनाउन तीनै तहको सरकार (संघ, प्रदेश र स्थानीय) जागरुक भएको देखिन्छ । तर, हरेक दिन लागूऔषधको सेवनबाट हुने हानिनोक्सानीबारे जनचेतना फैलाउन आवश्यक छ,’ प्रवक्ता उप्रेतीले भने । 

यता, नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत लागूऔषध दुरुपयोग तथा ओसारपसार न्यूनीकरणका निम्ति गाँजा उत्पादन, खुल्ला सीमानामा कडाई गर्नुपर्ने बताउँछन् । लागूऔषधसँग सम्बन्धित अधिंकाश घटना खुल्ला सीमाना र गाँजा खेतीका कारण हुने उनको ठम्याई छ । भन्छन्, ‘वर्षमा एक पटक अन्तर्राष्ट्रिय रुपमा लागूऔषध दुर्व्यसनी तथा ओसारपसारविरुद्धको दिवस मनाएपनि हामीले विभिन्न समयमा यसको न्यूनीकरणका लागि जनचेतना फैलाउँदै आएका छौं । पहिलाभन्दा निकै सुधार देखिन्छ । तर, साथीभाइको दबाब र अर्थोपाजनका कारण पनि अधिकांश युवायुवती दुव्र्यसनीमा फस्दै गएका छन् ।’

‘अहिले नयाँ तरिकाले अपराध हुने गरेकाले यसको न्यूनीकरणमा असर पुगेको हो । सँगै कुलतमा फसेर जेल जीवन बिताएर बाहिर निस्केकालाई पनि परिवार, आफन्तजन र समाजले हेँला गरेकाले उनीहरु फेरि दुव्र्यसनीमा फस्ने गरेको पाइन्छ,’ उनले थपे ।  

एक पटक जेल जीवन बिताएर बाहिर निस्किएपछि परिवार, आफन्त र समाजले उसलाई हेर्ने दृष्टिकोण नै फरक हुने भएकाले अधिकांश फेरि कुलतमा लाग्ने गरेको पाइएको छ । उनले भने, ‘त्यस्ता मुद्दामा जेलमुक्त भएकालाई घृणा र हेँलाको साटो उचित सरसल्लाह दिन आवश्यक छ ।’

टिप्पणीहरू