बाँच्न चाहन्छु म, पग्लिएला कसैको मन ?

बाँच्न चाहन्छु म, पग्लिएला कसैको मन ?

जीवन नसोचेको यथार्थ हो । जे नहोस् भन्यो त्यही भोग्न अभिषप्त छ मान्छे । अक्सर मान्छे जुन कुराबाट भाग्छ त्यहीँ गएर ठोक्किन्छ भन्छन् । रोगसँग नडराउने र नभाग्ने को होला ? त्यही रोगले थलिएर बत्तीमुनिको अँध्यारोको नियति भोगी बाँचिरहेको रसुवामा जन्मिए, हुर्किएको मान्छे आज आफ्नै अँध्यारो जिन्दगीसँग पौंठेजोरी खेल्दै छु । 

हिमाली जिल्ला, निम्नवर्गीय परिवार । त्यही कारण बाल्यकाल अभाव, तनाव र दबाबसँग सिंगौरी खेल्दैमा गुज्रियो । एसएलसीसम्मको अध्ययन । जीवनमा कतिपय रहर र सपना उम्रन नपाई हत्या हुँदा रहेछन्, उसैगरी उच्च शिक्षा अध्ययन गर्ने धोको मनभित्रै जन्मियो, मर्‍याे । जिम्मेवारीको बोझले थिचेपछि उठ्नै सकिएन । उठाउनु थियो गरिबीको दलदलमा भासिएको परिवारलाई । रहर कम र बाध्यता बढीले बिदेसिएँ खाडी मुलुक । विदेशी भूमिमा पसिना कम र रगत बेसी बगाएँ । दिनरातको मिहिनेतपछि केही रकम बचाएँ र फर्किएँ । पाखुरी बजारेर खान चाहन्थेँ स्वदेशी माटोमा । तर, मसँग भएको दुई/चार लाख बचतले सपना साकार हुनेवाला थिएन ।

रसुवा नाकामा खुबै चल्थ्यो डिब्बा (कन्टेनर)  । साथीहरू डिब्बा किनेर चलाएपछि मालामाल बनेको सुनाउँथे । विदेशमा दुई/चार लाख बचाएर ल्याएको थिएँ । त्यसले के छोप लाग्थ्यो र ? घर जग्गा बन्धकी राखेर, बैंकबाट ऋण लिएर निकालेँ मैले पनि । आफ्नै माटो, आफ्नै बाटोमा श्रम र पसिना बगाउन पाउँदा, मख्ख थियौं । अब सुखको दिन फिर्छ भन्ने आशाका पालुवा पलाउँदै थियो । तर पालुवामै निमोठियो खुशी र उल्लास । 

खै, कुन दुष्टको आँखा लाग्यो मेरो खुशीमाथि । धेरै दिन टिक्न सकेन आँगनीमा खुशी । आखिर दुःख नै जीवनको रीत हो भने सुख त पाहुना रहेछ । दुई दिनको पाहुनाजस्तो खुशी क्षणभरमै खोसियो । त्रिशूलीको तीरैतीर बग्यो मेरो खुशी । घरजग्गा धितो राखी बैंकबाट ऋण निकालेर किनेको डिब्बा निल्यो त्रिशूलीले । त्यहाँ डिब्बा मात्र खसेन, खस्यो म र परिवारको भाग्य । त्यो डिब्बामा म र अन्य साथी घाइते भयौं । हामीलाई बेहोसीमै काठमाडौं अस्पताल पुर्‍याइयो । उपचार हुँदैथियो । केही तंग्रिँदै पनि थियो शरीर । मृत्युको मुखबाट फर्किएर एउटा जीवन पाएका थियाैँ, मलगायत अरु २ जना साथीले । ज्यान रहे धन कमाउँला भन्ने झिनो आश पलाउँदै थियो । जीवनप्रति आशावादी हुँदै थिएँ ।

घरको मूल खाँबो अर्थात् आय आर्जन गर्ने उमेरको मान्छे नै अशक्त भएर ओछ्यानमा दिनरात पल्टनुपर्दा बुवा, आमा र श्रीमतीको मनोदशा कस्तो हुँदो हो ?

तावाबाट खसेको म फेरि डामिएँ भुंग्रोमा, बज्रियो जीवनमा अर्काे विपत । उपचारमा संलग्न चिकित्सकले भने, ‘तपार्इंको मिर्गाैलाले काम गरेको छैन’ । छाँगाबाट खसेझैं भइयो । अस्पतालमा सुतिरहेको थिएँ । बेड भासिएझैंँ लाग्यो पातालतिर । 

अस्वस्थ खानपान, बिनाव्यायामका जीवनशैली र बढी तनाव । त्यही कारण अहिले मिर्गाैला रोगीको संख्या अकाशिँदै छ । जथाभावी दुःखाइ कम गर्न कडा औषधिको अत्यधिक प्रयोगका कारण मिर्गाैला रोगी बढ्ने अर्काे कारण रहेछ । एउटा तनावबाट उम्कन नपाउँदै फेरि अर्काे तनावको भूमरीमा खसें । सरकारले सहज भने पनि मिर्गाैला रोगको उपचार अत्यन्त कष्टकर र महँगो छ । निःशुल्क भनिएको मृर्गाैलाको उपचार गर्दा भएभरको सम्पत्ति सक्कियो । रोगले अस्पतालमा थलिएपछि काखे बच्चाको अनुहार झल्झली सम्झें । श्रीमती साथै थिइन् । सानो छोरा समातेर रातभर रुँदै अस्पतालको भुइँमा सुत्थिन् । साउने भेलझैं रुदाँरुँदै आँशु रित्तियो तर दुःख, चोट र व्यथा रित्तिएन । झन्–झन् थपिँदै जान थाल्यो । भएको बचत रकम सकियो । यसरी १० वर्ष भयो जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहें । यही बीच डक्टरले डायलासिस गर्नु पर्दछ भन्न थाले ।

हप्ताको ३ पटक गर्नुपर्ने । हिमाली जिल्लाबाट हप्तामा तीन पटक काठमाडौं झरिरहन असम्भव थियो । काठमाडौंमै डेरा लिएर बस्न थालियो । गगन थापा स्वास्थ्यमन्त्री हुँदा निःशुल्क भएको डायलासिसले आर्थिक रूपमा केही राहत दिएको भए पनि महिनाको ५० हजारभन्दा बढी खर्च हुँदै आएको छ । घरको मूल खाँबो अर्थात् आय आर्जन गर्ने उमेरको मान्छे नै अशक्त भएर ओछ्यानमा दिनरात पल्टनुपर्दा बुवा, आमा र श्रीमतीको मनोदशा कस्तो हुँदो हो ? मगजमा यस्तै कुरा खेल्छन् । घर परिवार र आफन्तका लागि जिउनु पर्ने युवा अवस्था नै अरुका लागि भारी भएर बाँच्नु परेको छ । एक मुठी सास अड्याउनकै लागि हारगुहार गर्नुपरेको छ । घरखेत रहुञ्जेल जीवन रहन्छ भन्छन् । मेरो पनि बाँच्नकै लागि घरखेत सबै सकिने अवस्था आइसकेको छ । हरेक वर्ष देशभर ३ हजार जनाले मिर्गाैला रोगकै कारण मृत्युवरण गर्ने गरेको आँकडा छ । 

जीवनमा कसैले पनि मैलेजस्तै पीर,अभाव तनाव र रोग लिएर बाँच्नु नपरोस् । सुनेको त छु मिर्गाैला पीडितहरूका लागि सर सहयोग गर्ने संघ संस्था पनि खुलेका छन् तर कतैबाट पनि केही सहयोग पाउन सकेको हैन । अहिले कम्तीमा १० प्रतिशत अर्थात् करिब ३० लाख नेपाली कुनै न कुनै रूपमा मिर्गाैलाको समस्या भोगिरहेका छन् । 

कहिलेकाहीँ यसरी अरुका लागि भारी भएर पनि के बाँच्नु र ? जस्तो लाग्छ । खाली दिमाग शैतानको डेरा भन्छन् । मगजमा चाहिनेभन्दा नचाहिने कुराहरू खेल्छन् । कहिलेकाहीँ त लाग्छ यो इहलीला नै सखाप पारिदिऊँ कि ? तर सानो छोराको अनुहार झल्झली सम्झन्छु । यो उमेरमा मर्न चाहन्न । तर कसरी बाँच्ने ? त्यो पनि टुंगो छैन । न मर्न सक्ने, न त बाँच्न सक्ने यो कस्तो दोसाँध हो ? सायद मेरो मनोबल र जीवनप्रतिको आशा देखेरै होला परिवारले एउटा मिर्गाैला दिन तयार भएको । तर आँखा चिम्ले पनि दुख्ने,आँखा खोले पनि दुख्ने जीवन छ अहिले । मिर्गाैला प्रत्यारोपण कहाँ सहज छ र हामीजस्ता भुइँमान्छेका लागि । सुन्थें यही आर्थिक अभावकै कारण कुनै समय नख्खु जेल ब्रेक गर्ने वीरबहादुर लामाहरूले मिर्गाैला प्रत्यारोपण गर्न नसकेको । एउटै मिर्गाैला प्रत्यारोपण गर्नमात्र झण्डै १५ लाख खर्च लाग्छ । म भुइँमान्छेले कहाँबाट जोहो गरौं त्यत्रो पैसा । कसले पत्याउँछ मलाई ? यहाँ श्रम गर्न विदेश जान्छु भन्यो भने ऋण दिन साहुहरूको तँछाडमछाड लाग्छ तर म बाँच्न चाहन्छु, बाँच्नका लागि केही रकम ऋण देऊ न भन्दा धनीहरू भागाभाग गर्छन् । 

जीवनमा कहिल्यै कसैसँग हात नफैलाएको मान्छे हुँ । इमानमै बाँच्ने प्रयास गरें तर आज समयले यसरी हुत्याइदिएको छ कि बाध्यतावश नमागी सुखै छैन । त्यसैले एक मुठी सास अड्याउनका लागि यहाँहरूसँग हात फैलाएको छु । स्वदेशमा रहनुभएका केही मनकारीहरूको साथ र सहयोग त पाएको छु । उहाँहरूकै विशाल मनका कारण औषधि खरिद गर्नदेखि, खान र हिँड्न सकेको छु तर मलाई किड्नी ट्रान्सप्लान्ट गर्नका लागि झण्डै १५ लाख लाग्नेछ । तपाईं मनकारी र विशाल मनका दाजुभाइ, दिदीबहिनीहरूसँग हात फिँजाउँदै छु । जीवनको भिख माग्दै छु । आशा, विश्वास एवं भरोसा छ मेरो बाँच्ने र जिउने जीवनप्रतिको आशामा यहाँहरूले थोरै भए पनि तेल थपिदिनुहुनेछ । 

– रेशम तामाङ, रसुवा
 

टिप्पणीहरू