माला लाएर कहिले हात हल्लाउने ?

माला लाएर कहिले हात हल्लाउने ?

नेपालमा पहिले धेरै पटक सुनियो–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भुँडीमा सुन लुकाएर ल्याएको । त्यस्तो सुन सुरक्षा अधिकारीले कहिले कहिले पक्राउ पनि गर्थे । भुँडीको सुन कहिले तलबाट, कहिले माथिबाट छेराएर–छदाएर जस्ताको तस्तै निकालिन्थ्यो । विगतमा सुन ल्याउनेको सेटिङ बिग्रँदाचाहिँ कहिलेकाहीँ मान्छेले सुन छाद्नुपथ्र्याे । खाएको सुन पेटले पचाउन सक्दैन । छदाउनै पर्छ । जस्तो खाएको त्यस्तै निकाल्नै पर्छ । अनेक कुरा पचाउने पेटले सुनचाहिँ पचाउन सक्दैन ।

भुँडीमा हालिएको सुन, डलर प्रहरीले छदाए पनि भ्रष्टहरूले खाए–पचाएको भुँडीका भ्रष्ट रूपैयाँचाहिँ कहिल्यै छदाउन सकिएन । अहिले ललिता निवास बालुवाटारको जग्गा प्रकरणले नेपालमा खोसेल्टाको जस्तो ह्वात्तै ज्वाला र आगो बालेको छ । भ्रष्टलाई कारबाही होला कि भन्ने आशा धेरैले गरेका छन् । यद्यपि तयारी, नियत र व्यवहार हेर्दा कमैलाई मात्र नाम मात्रको कानुनी सजायँ हुने देखिन्छ । 

पहिले पनि भ्रष्टहरूले पचाएका पैसा छदाउन सकिएन । करोडौँ भ्रष्टाचार गर्नेबाट सीमित लाखाँै मात्र असुल गरियो । नेपाली कांग्रेसका तत्कालीन नेता पूर्वगृहमन्त्री खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, जयप्रकाशप्रसाद गुप्ता, ‘पर्खालमन्त्री’ बलबहादुर केसी आदि जेलचाहिँ परे । तापनि तिनले खाएको तुलनामा नगन्य असुल गरियो । अर्काे उल्का अचम्म त के भने ती जेलबाट छुट्दा गलामा माला पो लागे ! जेलबाट छुट्दा कांग्रेसले खुमबहादुरलाई एक दर्जन किलोको फूलको माला लगाइदियो । नागरिक समाजले थुक्क कांग्रेसी प्रवृत्ति भन्यो तर कांग्रेसले तिनैलाई नेता मान्यो । खड्का बेलाबेलामा हिन्दू धर्म र राजा चाहिने भन्थे । यद्यपि, उनी अहिले सार्वजनिक समाजबाट अस्ताए । उनका कुरा कसैले सुनेन । गोविन्दराज जोशी तनहँुमा कहिलेकाँही ट्याउँट्याउँ उफ्रन्थे । केही काम लागेन । चिरञ्जीवी वाग्ले हराए । गुप्ता सार्वजनिक जीवनमा देखिन्नन् । कांग्रेसमा भ्रष्ट छवि बनाएका  विजयकुमार गच्छदारचाहिँ फेरि पनि १६ औँ पटक मन्त्री ‘खान पाएको’ भन्दै स्याम्पेन–बियर पार्टी दिएर ‘डान्स’ गर्दै छन् । ललिता निवासमा पनि गच्छदारमाथि आरोपको घण्टी बजेको छ । 

विगतका धेरै भ्रष्ट मान्छेले खाएको, पचाएको, लुकाएको, दबाएको, छिपाएको, विदेश पठाएको र नेपालमै कालो धनलाई सेतो बनाएर लगानी गरेको मात्र छानबिन गर्ने हो भने चीनसँग बिआरआई र अमेरिकासँग एमसिसी भन्दै हात फैलाउनु पर्दैन । नेपाली राजनीतिको बिडम्वना नै भन्नुपर्छ– भ्रष्टाचारीको भुँडी चिर्ने भन्दै ठुल्ठूला कुरा गरिन्छ, मिडियामा छापिन्छ, चुनावमा भाषणवाजी हुन्छ र नागरिकले ताली पनि लगाउँदै आएको देखिन्छ । अहिले पनि ललिता निवासमा हंगामा मच्चाइएको छ । फेरि पनि आशंकाचाहिँ भ्रष्टको भुँडीबाट पैसा होइन, ह्वास्स हावा मात्र आउने खतरा देखिँदै छ । केही समय जेल बसेकाहरू छुट्दा फेरि पनि गलामा किलोका किलो फूलका माला पो लाग्ने आशंका बढेको छ ।

कानुन प्रष्ट लेख्छ– भ्रष्टाचार, भ्रष्ट व्यवहार, घुस, रिस्वत र अवैध धन्दा गर्न पाइन्न । कानुनले निषेध गरेको काम, कुरा कसैले गर्न सक्दैन । तर, खासमा विगतका कतिपय घटनामा भ्रष्टाचारजन्य कार्य र अवैध लेनदेन गरेको हाकाहाकी भन्दा पनि कारबाहीचाहिँ हुनै सक्दैन । करोडौं करोड खाएको, खुवाएको, दिएको कुरा सार्वजनिक हुँदा पनि राज्य किन मौन ? एउटा सामान्य सोधपुछ र छानबिन पनि नगर्ने किन ? कसले रोकेको छ ? विभिन्न कानुन छन् । विधि छ । प्रशासन र प्रहरी छँदै छ । आखिर किन कसैको भुँडी चिर्ने हिम्मत गरिएन, गरिँदैन ? प्रश्न गम्भीर बन्दै छ । आफूलाई सुनभन्दा पनि चोखो भन्दै जोकरीपूर्ण हर्कत गर्ने नाटकवाज नयाँ भनिएका दलले अनेकौं स्रोतबाट अवैध तरिकाले पैसा लिएको कुरा पटक–पटक सार्वजनिक भयो, हुँदै छ । 

सहकारीका नाममा राम्रो व्याज दिने र अन्य लोभ देखाएर अर्बाैं लुट्ने नटवरलालहरू नै समाजमा ठूला कुरा गर्दै हिँड्दै छन् । कतिपय ठग नै नेता भएका देखिन्छन् । सहकारीको ठगी धन्दाले नेपालीलाई लुट्दै छ । यो समस्याले सामान्य श्रमजीवी बचतकर्ता कंगाल बन्ने खतरा छ । इच्छाराजले अर्बाैं ठगे । हजारौँ हजार इच्छाराज प्राडोमा हुइँकिँदै छन् । विगतमा पनि त्यस्ता सहकारी र अन्य बहानामा करोडौं खानेहरू खुलेआम सार्वजनिक हुँदै आएको अवस्था भए पनि कारबाही गर्न सकिएन । अर्काेतर्फ अनेकौं फट्याइँ, अवैध धन्दा र वाहियात मूर्खतापूर्ण अभिव्यक्ति दिने बदनाम पात्र दुर्गा प्रसाईंलाई पनि किन समाएर थुन्दैन सरकार ? उनी सबैलाई डसेर फेरि खरानीबाट राजा झिक्ने जोक गर्दै छन् । बाको निगाहबाट एमाले नेतासमेत भएका प्रसाईंलाई हटाइएको सार्वजनिक भएको पनि देखिन्न । बरू उनी एमालेलाई सराप्दै छन् ।

मुलुकको अवस्था र स्थिति हेर्दा भ्रष्टाचारीको खञ्चुवा र ‘भन्चुवा’को भुँडी चिर्न नसक्ने हो भने प्रणाली नै ध्वस्त बन्ने खतरा छ । ललिता निवासमा दर्जनाँै मात्र होइन सयाँै मान्छेको लिष्ट आएको छ । खाएको, खान सहयोगी भूमिका निभाएको र अन्य सहयोग गर्नेहरूको ताँती देख्दा नेपालमा संस्थागत भ्रष्टाचार हुँदै आएको कुरा घामजस्तै छर्लंग हुँदै छ । नेता, प्रहरी, अख्तियार, न्यायाधीश, वकिल, प्रशासक सबै मिलेपछि कसैको केही नलाग्ने रहेछ । सत्ताको लुछाचुँडी र हानथापले गर्दा लोकतन्त्र बदनाम हुँदै छ । ललिता निवासको भ्रष्टाचार काण्डले मुलुकका अन्य मुद्दा छायाँमा परेका छन् ।

टिप्पणीहरू