माग ठूलो छैन, गर्न सकेको केही हैन
– सुरेन्द्र श्रेष्ठ
समयअनुसार मानिस परिवर्तन हुनुपर्छ । जसले यो नियम बुझ्दैन ऊ इतिहासको एक कुनामा मात्र सीमित रहनुपर्ने हुन्छ । समयलाई बुझ्न सक्नु नै सफलताको माध्यम हो । तर समयको सही मूल्यांकन गर्न नसकी परिवर्तन मात्र खोजी हिँड्नेहरू पनि लामो समयसम्म सफल हुन सक्दैनन् । उमेर बढेर मात्र मानिस ज्ञानी हुने होइन । सैद्धान्तिक ज्ञानलाई व्यावहारिक जीवनमा रूपान्तरण गर्न सकिएन भने त्यो फगत कोरा नारामा सीमित हुन जान्छ । नाराले मात्र सारा जनता सदा उही नेताको पछाडि लागिरहँदैनन् । नारा लगाउनेहरू नै सत्तामा पुग्ने र भनेजस्तो नपाएपछि त त्यस्तो नेतृत्वप्रति झन् बढी वितृष्णा बढ्ने गर्छ । यस्तो बेलामा राजनीतिक बजारमा देखा पर्ने नयाँ जादुगरहरूको पछाडि लाग्नु जनताको स्वाभाविक कदम हुन्छ । यही समयको गति सँगसँगै त्यस्ता जादुगरको असली रूप उजागर हुने गरेको छ ।
नेतालाई भगवान् मान्ने अनि सबै छु मन्तर गरेर पुर्याइदिन्छन् भन्ने विश्वास गर्नु नै हाम्रो मुख्य समस्या हो । अहिलेसम्म हामीले विभिन्न क्षेत्रका अगुवामाथि ठूलो आशा र भरोसा गरेर निराशा भएका थुप्रै प्रमाण छन् । समाज रूपान्तरणमा हर दिन लागिरहनेमध्ये धेरैको चर्चासमेत हुने गरेको देखिँदैन । उनीहरूले आफ्नो गतिमा समाजलाई फरक महसुस गराइरहेका छन् । सिंगो देश परिवर्तन गर्न नसके पनि केही मानिसको जीवन सहज बनाइरहेका छन् । संसार सञ्चालनमा राजनीतिले निर्देशित गर्न त सक्छ तर पूर्ण नियन्त्रणमा भने राख्न सक्दैन । भूगोलको एक छेउमा प्राकृतिक वा मानवनिर्मित प्रकोप हुँदा अर्को छेउका मानवहरूको स्वतःस्फूर्त सहयोग र सद्भाव रहनु तथा कतिपय अवस्थामा सरकारीभन्दा गैरसरकारी संघसंथा प्रभावकारी हुनु यसको प्रमाण हो ।
परिवर्तनलाई बोली फेर्ने वा छेपारोको उपमा दिने गरिन्छ हाम्रोमा । आफूले व्यक्त गरेका तर्क हरहालतमा ठीक सावित गराउनुपर्छ भन्ने हाम्रो मान्यता छ । एक पटक ठीक भएको कुनै विषय घाम जुन छउन्जेल ठीक रहिरहन्छ भन्ठानिन्छ । समय, परिवेश र परिस्थितिअनुसार ठीक बेठीकका आधार पनि भत्किँदै जान्छन् । त्यसैले त परिवर्तनको नियमबाहेक सब चिज परिवर्तनशील छ भनिन्छ । नेपाली राजनीतिमा सबैभन्दा बढी चञ्चले भनेर प्रचण्डलाई चित्रण गरिएको छ । यदि, उनीमा यो विशेषता नभएको भए शायद नेपालले अहिलेसम्म पनि युद्धको मार खेपिरहेको हुने थियो ।
त्यसो त उनी नभएको भए युद्ध हुने थिएन पनि भन्न सकियो । तर, खति व्यहोर्न नपरेको देशहरू संसारमा कति छन् र ? अहिले पनि दुनियाँका थुप्रै देश यो वा त्यो नाममा एक आपसमा लडिरहेका नै छन् । त्यसको मूल्य सारा संसारले तिरिरहेका छौँ । युद्धलाई इतिहासबाट हटाइदिने हो भने शायद संसारको विस्तार र विकास यो गतिमा हुने थिएन । युद्धले पुर्याएको क्षतिको मात्र गीत गाइरहनेहरूले देशको आमूल परिवर्तन गर्न सकेका छैनन् । तर, त्यसलाई म्युजियममा कैद गरेर माटो खन्नेहरू भने विश्वको नेतृत्व गर्न सफल भइरहेका छन् । युद्धकालीन संसारका एक प्रख्यात नेता बेलायतका प्रधानमन्त्री विन्स्टर्न चर्चिलले ‘सुधार्नु भनेको परिवर्तन गर्नु हो, सिद्ध हुनु भनेको बारम्बार परिवर्तन गर्नु हो’ त्यतिकै भनेका थिएनन् ।
संसदमा प्रचण्डले आफ्नो कमजोरी थाहा भएको तर सुधार्न नसकिएको स्वीकार गरेका छन् । भावनामा आएपछि लुकाउनुपर्ने विषय पनि छताछुल्ल हुने बताएका छन् । यही विशेषता सहितको प्रचण्डबाट एउटा प्रसंगमा उठेको विषयलाई प्रतिपक्षीहरूले तिललाई पहाड बनाए । राजनीति गर्न खोजे । तर, आफूले गल्ती गरेको महसुस गरियो भनेपछि समस्या साम्य भयो । प्रतिपक्षी नेताले रोस्ट्रममा बोल्दा अरू केही विषय उठान होला र फेरि अर्को फण्डा उठाउन पाइएला भनेर बाँकी कुरा पार्लियामेन्टमा हुन्छ भनेको सुनियो । पटक–पटक दार्हा किटेर, लेखेको पढेर भए पनि यसपटक भने बच्न सफल भए प्रधानमन्त्री । जितको उन्मादमा हुँदा खाँदाको प्रधानमन्त्री छाडेर पटक–पटक भिख मागे जसरी पाएको पद त्यति सजिलोसँग यसपटक भने छाड्ने छैन भन्ने सबैलाई थाहा भएको कुरा हो । सदनभित्र त संख्याले मात्र सरकार हटाउन सकिन्छ । अन्य उपाए लगाउने भए त सडकमा जान पर्ने हुन्छ । राजनीतिक विषयमा कुराकानी हुँदा मलाई सधैँ प्रचण्डको झोले भन्ने एक जना नजिकको आफन्तले त फोन गरेर मलाई दंग छक्क नै पारिदियो । देशमा केही आशलाग्दो काम भइरहेको छ ।
जनता अहिले प्रचण्ड र नारायणकाजीको पक्षमा छन् । यो काम रोकिन हुन्न फेरि तिम्रो प्रचण्डले भावनामा बगेर छाड्लान् नि ! फोन गरेर भनिहाल्नु रे ! वास्तवमा पहिलादेखि नै गलत भएका काम गलत भए भन्न रुचाउने मानिस हुँ । तर, नेतृत्वलाई बचाउनुपर्ने बेलामा अरूसँगै मिलेर सराप्ने भने गरिँदैन । पटक–पटक मैले लेखेर पनि पठाएको छु । यसपालि पनि मलाई कोशीको कुराले अलि असहज लागिरहेको थियो । यति धेरै क्रिया–प्रतिक्रिया हुँदा पनि नाताको मानिसलाई किन ठूलो जिम्मेवारी दिनुपरेको होला भन्ने लागिरहेको थियो । सञ्जालभरि अरू त अरू आफ्नाले धेरै स्ट्याटस लेखेको देखियो । एक जना सांसदले त राजीनामासमेत दिने कुरा लेखेका थिए । अरू कसैले यस्तो निर्णय गरेर नेतृत्वको बद्नाम गर्न खोजिएको भए त पद पाउनेले अरूलाई पालो दिऊँ पनि भन्न सक्थे होला । हुन त निरपेक्ष रूपमा नेताहरूको नजिककालाई अवसर दिन नै हुन्न भन्ने पक्षमा म छैन । तर, यस विषयमा अलि गम्भीर हुन् नै पर्छ । यस्तै सोचिरहेको बेला परेर होला मैले आफन्तलाई अघि–पछि गर्ने भन्दा फरक कुरा गरेँ । मैले भने, ‘हामी त विदेशको नागरिकता लिएको मानिस, सबैले स्वार्थी देशलाई माया नगर्ने भन्छन् ।’ हाम्रो देश भक्तिलाई पासपोर्टको रंगसँग तुलना गरिन्छ । विदेशको अंगीकृत नागरिकता लिँदा आफ्नो वंशजको नागरिकता गुमाइसकियो । नेपाल अनि पार्टीसँग त हाम्रो एकोहोरो अर्थात् ओन साइडेड लभ मात्र न हो । केही लिनु छैन दिन्छु भन्न पनि नपाइने अवस्था छ ।
तपाईंहरूको प्रधानमन्त्रीलाई आफैँ सम्झाउनुस् भनेर फोन राखियो । उसलाई झन् उदेक लाग्यो होला के भयो प्रचण्डको घोडालाई आज भनेर ।
वास्तवमा नेपाली जनताको माग त्यति ठूला छैनन् । राजनीतिको नाममा आफ्नाहरूको मात्र हेरचाह नहोस् । पुलिसले चोर–फटाहा, भ्रष्टहरूलाई समातेर पाता कसोस् । काम गर्ने वातावरण होस् बाँकी व्यवस्था आफैँ मिलाउन तयार छन् । दुई छाकको जोहो गर्न मात्र विदेश जान नपरोस् । भासिँदै गएको पारिवारिक र सामाजिक संरचनाको भरथेग गर्न सकियोस् भन्ने छ । पटक–पटक परिवर्तनका लागि व्यक्तिगत इच्छा आवश्यकतासमेत तिलाञ्जली दिनेहरूको संख्या अझै उल्लेख्य बाँकी छ । यस्तो अवस्थामा उनीहरूमा पनि वितृष्णा जाग्यो भने केही समयपछि इतिहास लेख्ने मानिस पनि बाँकी रहने छैनन् । यो गम्भीर विषयमा पहिला व्यवस्था बदल्न जसरी लागियो अब त्योभन्दा द्रुतगतिमा अवस्था बदल्न लाग्नुपर्छ । हामीले लामो समय खेर फालेको कारण वाक्कदिक्क भएर राम्रो कामको थालनी गर्न अर्को निर्वाचनसम्म कुर्न तयार देखिएका जनतालाई निर्वाचनअगाडि नै परिवर्तनको महसुस गराउन सक्नुपर्ने छ । अन्यथा पहलकदमी अन्यत्र जाने र अझ थप समय खेर जाने सम्भावना देखिन्छ ।
अहिले सरकारले थालेका काम फत्ते गर्नु अत्यावश्यक छ । यसलाई निरन्तरतासहित स्थापित गराउन सबभन्दा पहिला पार्टी तलदेखि माथिसम्म सक्रिय हुनुपर्छ । जनयुद्ध शुरु गर्नु अगाडिको स्पिरिट ल्याउन आवश्यक छ । मुख्य नेतृत्वलाई घेरा हाल्ने वा मुख्य नेतृत्वले अन्य नेतालाई विभाजित गरेर संकीर्ण राजनीति गरेको कारण आज हामी यो अवस्थामा आइपुगेको हो भन्ने कटु सत्य पनि सबैले स्वीकार गर्न सक्नुपर्यो । दोस्रो श्रेणीका नेता प्रायः धेरैले अवसर पाइसकेका छन् ।
उनीहरूले अभिभावकीय जिम्मेवारी लिएर बाँकी रहेका र तेस्रो तहका नेतालाई विशेष जिम्मेवारी दिन सक्नुपर्छ । सबैले मूल नेतृत्व पाउने सम्भावना नै छैन । त्यसैले नेतृत्वको ढाँचामा पनि परिमार्जन गर्न सकिन्छ । धेरैभन्दा धेरै पूर्वमाओवादीबीच एकता गर्न आवश्यक छ । हिजो के भयो भन्दा पनि अब के गर्न सकिन्छ भन्ने आधारमा अगाडि बढ्नुपर्छ । कालान्तरमा समाजवादी पार्टीसम्म बनाउने उद्देश्यसहित निर्माण भएको मोर्चालाई मजबुत गर्न पनि सबै संलग्न पार्टीहरू नै पहिला एकढिक्का हुनुपर्छ । अन्यथा यो मोर्चा पनि त्यति कामयाबी हुने देखिँदैन । आफूले राम्रो गरेर मात्र अरूलाई पछाडि पार्न सकिन्छ । हिजो गरेको कामको ब्याज सधैँ खान पाइँदैन ।
टिप्पणीहरू