भाषा : बिरालाको घाँटीमा घण्टी कसले बाँध्ने

भाषा : बिरालाको घाँटीमा घण्टी कसले बाँध्ने

नेपाली भाषाको अहिलेको खास स्थिति यस्तो देखिन्छः औपचारिक शैक्षिक अध्ययन तह तहपिच्छे फरक फरक वर्णविन्यास, नेपाली भाषाका विद्वान्पिच्छे पृथक् पृथक् लेखाइ र अखबारपिच्छे भिन्न भिन्न शैली । यी क्षेत्रमा लागेका सबैलाई नेपाली भाषाको यो भद्रगोलबारे राम्रैसँग थाहा छ । हरेक वर्ष नेपाली भाषाको शुद्धताबारे कुरा पनि उठ्छ, तर त्यसलाई एकरूपता दिने संयन्त्र वा उपाय, बृहत् गोष्ठी वा सम्मेलन आयोजना गर्ने हिम्मत कसैले जुटाउँदैनन् । अखबार वा मिडियामा आ–आफ्नै गन्थन र गुनासो आउँछ, जो केही समयमै सेलाएर जान्छ । 

खासगरी विद्वान् तथा भाषाका प्रयोगकर्ताबीच तद्भव वा आगन्तुक शब्दका प्रयोगमा आउने ह्रस्व र दीर्घ, श–ष र स, पञ्चम वर्ण तथा पदयोग र वियोगमा विमति छ । अन्य चन्द्रविन्दु–शिरविन्दु, य र ए, ऋ र रि जस्ता पक्ष पनि छँदै छन् । वर्णविन्यास मात्र नभएर अब त वाक्य बनावट पनि बिग्रन थालिसकेकाले नेपाली भाषाले कहाँ गएर चरम दुर्घटना भोग्नुपर्ने हो, भन्न सकिन्न ।

‘शहीद’ लेख्ने बानी परेकालाई ‘सहिद’, ‘शुरु’ लेखिरहेकाहरूलाई ‘सुरु’, ‘खेलकूद’ लेखिरहेकाहरूलाई अर्काे नियम बनाएर ‘खेलुकद’ लेखाउन गाह्रै हुन्छ ।  पुलिङ्गी ह्रस्व, स्त्रीलिङ्गी दीर्घ भनी जानेकाहरूलाई ‘शान्ति’, ‘ज्योति’, ‘रश्मि, ‘अम्बिका’ आदि नाम भएका स्त्रीहरूको नाम शान्ती, ज्योती, रश्मी, अम्बीका –यसरी लेख्ने होइन भनी कसरी सम्झाउने ?  

लामो समय एउटा लेखन परम्परामा हुर्किएकाहरूलाई नियम बनाएर अर्काे तरिकाले लेख भन्नु अस्वाभाविक हो भन्ने एकथरीको भनाइ तथा भाषा नियमले बाँध्ने नभई स्वभावतः परिवर्तन हुँदै जान्छ भन्ने अर्काथरीको तर्क छ जसमा दुवै टसको मस नभएको अवस्था छ । बीचका, जसले नेपाली भाषा, व्याकरण र वर्णविन्यास विषय वा नियम सिलसिलाबद्ध ढङ्गले पढेका छैनन्, दुई पक्षको विवादको चुरोे बुझेका छैनन्, जो आफूभन्दा अघिकाको अनुसरण गरेर अघि बढ्न चाहन्छन्, जसलाई विद्यालयमा आफूले वर्षाैं प्रयोग गरेको वर्णविन्यासबारे मात्र थाहा छ, लाई नेपाली वर्णविन्यासको शुद्ध प्रयोग कसले गराउने ? ‘शहीद’ लेख्ने बानी परेकालाई ‘सहिद’, ‘शुरु’ लेखिरहेकाहरूलाई ‘सुरु’, ‘खेलकूद’ लेखिरहेकाहरूलाई अर्काे नियम बनाएर ‘खेलुकद’ लेखाउन गाह्रै हुन्छ ।  पुलिङ्गी ह्रस्व, स्त्रीलिङ्गी दीर्घ भनी जानेकाहरूलाई ‘शान्ति’, ‘ज्योति’, ‘रश्मि, ‘अम्बिका’ आदि नाम भएका स्त्रीहरूको नाम शान्ती, ज्योती, रश्मी, अम्बीका –यसरी लेख्ने होइन भनी कसरी सम्झाउने ? हिजोसम्म ‘तालीम’, ‘जमीन’, ‘गरीब’, ‘नजीक’, ‘जमीन’ आदि लेखिरहेकाहरूलाई आज एकै चोटि ‘तालिम’, ‘गरिब’, ‘नजिक’, ‘जमिन’ कसरी लेखाउने ? त्रिभुवन विश्वविद्यालयका परीक्षा वा शोधपत्र वा विद्यावारिधिका लागि बुझाइने सामग्रीमा पनि यही वर्णविन्यास नै शुद्ध हो भनिँदैन भन्ने सुनिएको छ । विद्यार्थी वा शोधार्थीले दुईथरी वर्णविन्यासमा जुन लेखे पनि एकरूपताचाहिँ कायम भएको हुनुपर्छ भनिन्छ । त्यस्तै विभिन्न साहित्यिक पुरस्कारका लागि आह्वान गर्ने संस्थाले पनि व्यक्तिले प्रयोग गरेका शब्दको एकरूपता मात्र हेर्ने गर्छ भन्ने नियमको कुरा एक संस्थाका निर्णयकर्तामध्ये एक जनाले यस पङ्क्तिकारलाई सुनाए । हाम्रै प्रदेशहरूका नाम लेखनमा पनि एकरूपता भेटिँदैन । ‘कोशी’, ‘मधेश’ र ‘बागमती’ यसका उदाहरण हुन् । प्रदेशका नामपाटीमा उल्लेखित शब्द भए पनि ‘मधेस’, ‘कोसी’, ‘वाग्मती’ लेख्नेहरू पनि छन् । अर्काे कुरा, स्थानीयवासी विद्वान्हरू ‘कर्नाली’ लाई शुद्ध मान्छन् तर पनि दस्तावेजमा ‘कर्णाली’ नै लेख्न पुग्छन् । 

अब त ‘जसले मह काढ्छ । उसले हात चाट्छ ।’, ‘नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख छ । जसमा महिलाको सङ्ख्या ५० हजारले बढी छ ।’ यस्तो वाक्य पनि बन्न थालिसके । मिश्रित वाक्य पूरा नहुँदै, क्रियापद देख्नैबित्तिकै पूर्णविराम राख्दा हाम्रो वाक्यको स्तर र भाषाको स्थिति कहाँ पुग्ला ? 

शुद्ध नेपाली शब्द हुँदा हुँदै अङ्ग्रेजी वा आगन्तुकका शब्द पनि अचाक्ली प्रयोग हुन थालेका छन् । अखबार वा मिडियामा सर्वसाधारणले बुझ्ने भाषा प्रयोग गर्नुपर्छ भन्ने एकथरी बुझाइ छ । त्यसैले त अचेलका समाचारहरूमा ‘लघुवित्त सञ्चालनको नयाँ मोडालिटी अध्ययन गर्दै राष्ट्र बैंक’, ‘उनले दुवै मिर्गाैला ड्यामेज भएका प्रेमीसँग बिहे गरिन् र आफ्नै मिर्गाैला दिइन्’, रोजगारीका लागि विदेश जाने नेपालीलाई एयरपोर्टबाटै ट्रयाकिङ गरौँ’ जस्ता अङ्ग्रेजी घुसेका शब्दावली र वाक्य बग्रेल्ती पाइन्छन् । ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ मै ‘लास्टै’ क्रियाविशेषण शब्द प्रविष्ट गरी त्यसको बनोट ‘लास्ट+ए’ देखाएर ‘ज्यादैस अत्यन्तस अति’ अर्थ दिँदा शुद्ध नेपाली प्रयोगकर्ता नै  छक्कै पर्ने काम पनि भइसकेको छ । यस्ता अन्य उदाहरण पनि हुन सक्छन् । साञ्चारिक नेपाली भाषामा वाक्यगठनको भद्रगोल उत्कर्ष वाच्यमा पुग्छ । अब कर्तृवाच्य र कर्मवाच्यको भेद पनि हट्न थालिसकेछ । 

न्यु मिडियाका रूपमा बढ्दै गइरहेका अनलाइन न्युज पोर्टलमा छिटो समाचार दिने नाममा वा अर्काभन्दा आफू अगाडि हुने नाममा ‘पोस्ट’ हुने समाचारमा हुने गल्तीको त झन् हिसाब गरी साध्य नै छैन । असम्पादित सामग्री राखेर आफूलाई अग्घा देखाउनपट्टि लागेर तिनले हाम्रो भाषाको हुर्मत नै लिएका छन् । नेपाली भाषामा समाचार उत्पादन गर्ने समाचारगृहहरूमा भाषिक पक्षबारे निष्कर्ष नै निकाल्ने ढङ्गले कत्तिको पो मन्थन भएको होला र खै ? आफ्नो गल्ती सच्याउनपट्टि लाग्नुभन्दा पनि “बुझे भइहाल्छ नि” भन्ने मौलाउँदो प्रवृत्ति झन् खतरनाक छ । 

नेपाल वा सङ्घीय– प्रदेश सरकार, स्थानीय तह, सरकारका विभिन्न निकायका पत्राचार, संसद्, अदालतका विज्ञप्ति, फैसलापत्र, विद्यालयहरूका परीक्षामा सोधिने प्रश्न आदिमा भएका वर्णविन्यासगत वा व्याकरणगत छ्याप्छ्याप्ती त्रुटि सामाजिक सञ्जालहरूमा ‘पोस्ट’ गरिएका भेटिन्छन् । त्यसरी औँल्याइएको बारे ती संस्थाहरूले चाल पाएका छन् कि छैनन्, थाहा छैन । सामाजिक सञ्जालहरूमै भाषाको भाँडभैलो त हेरिनसक्नुछ । हामीले प्रयोग गर्ने मोबाइल फोनमा अहिले युनिकोडको सुविधा पनि पाइन्छ । युनिकोडमा कुनै शब्द ‘क्लिक’ गर्दा त्यसका ‘अप्सन’ पनि हुन्छा् । प्रयोगकर्ताले जुन सजिलो लाग्छ, त्यही शब्द छान्छ र आफूले प्रयोग गर्ने ‘सोसल मिडिया’ मा खुसुक्क हाल्छ । ‘अप्सन’ दिइनाको अर्थ त “कुन शुद्ध छ त्यो चाहिँ राख वा प्रयोग गर है” भनेर सूचना दिइएको पो हो तर प्रयोगकर्ताले जुन अगाडि देखिन्छ वा सजिलो लाग्छ, उही हालिदिन्छ । उस । उनमा “भाव बुझे भइहाल्छ नि” भन्ने मानसिकता छ । प्रयोगकर्ताले जथाभाबी प्रयोग गरिदिँदा शुद्ध रूप खोज्नेको आँखा र दिमाग तिर्मिराइहाल्छ । सामाजिक सञ्जालको यही बेथितिले गर्दा ‘नेपाली भाषा शुद्धीकरण अभियान’ नै चलाइएको छ । त्यहाँ एकापसमा शुद्धाशुद्धिको छलफल वा बहस पनि छ । आपसी विचार वा तर्कहरू लेखेरै हुने गरेका छन् । त्यसमा कसैले शुद्ध लेख्छन्, कसैले अशुद्ध । अशुद्ध लेख्नेको जमात धेरै भएपछि कसैलाई कुनै शब्द वा वर्णविन्यास अशुद्ध भयो भनी सम्झाउन साध्य पनि नहुने रैछ । लेख्नेमध्ये कुन ‘शुद्धवाला’ हो भनी छुट्याउन गाह्रो हुँदो रैछ । 

नेपाली भाषाप्रति एकथरीमा सम्मान भाव छ तर तिनलाई शुद्धताबारे केही ज्ञान छैन । अर्काथरीमा सचेतता भाव त छ तथापि “काम चले भइहाल्यो नि” भन्ने प्रवृत्ति छ । अझ अर्काथरीमा भने न सम्मान, न त प्रयोगमा सतर्कता भाव छ । अझै अर्काथरी भाषाविद्, व्याकरणशास्त्रीहरूका दुईथरी कुराले अन्योलमा छन् भने पनि हुन्छ । यस्ता अनेकथरी नेपाली भाषाका प्रयोगकर्तालाई एकै धारमा ल्याएर हाम्रो शुद्धतालाई बचाइराख्ने उपाय के होला ? नेपाली भाषाको मानक कसले बनाउने ? सञ्चारमाध्यममा यसैगरी गुनासो मात्र गरिरहने कि बिरालाका घाँटीमा साँच्चिकै घन्टी बाँध्न कोही तम्सने ? नेपाल सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतको नेपाल प्रज्ञा–प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय नेपाली विभागको आयोजनामा भएका गोष्ठीले दिएका निष्कर्षमा पनि प्रशस्त विवाद भए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकै आयोजनामा अर्काे गोष्ठी गरे पनि “सरकारले नियम बनाएर भाषालाई हिँडाउने होइन, यसलाई स्वतस्फुर्त चल्न दिनुपर्छ, आफैँ बाटो खोज्दै हिँड्छ” भन्ने अर्काे समूह छँदै छ । नेपाली भाषाको बचाउका लागि अर्काे बृहत् गोष्ठी गर्ने गराउने कि यसको अवसानोन्मुख गतिप्रति गुनासो मात्र गर्दै जाने हो, जिम्मेवार सरकार, व्यक्ति, संस्थाले साँच्चिकै सोचेर कहिले कदम चाल्ने हो, प्रतीक्षाकै विषय हो । नेपाली भाषाको बाटो खोलेका आदिकवि भानुभक्त आचार्यप्रति सच्चा श्रद्धाञ्जलि नेपाली भाषाको शुद्ध प्रयोग गर्दा हुने हो, भूगोलका एकीकरणकर्ता पृथ्वीनारायण शाहसँग दाँज्दै भाषिक एकीकरणकर्ता भन्ने संज्ञा दिएर मात्र नहोला ।
 

टिप्पणीहरू