दर्शक कुट्ने आर्मीका खेलाडीको नाममा
आयोजकभन्दा क्लब बलियो भयो भने के हुन्छ ? जवाफ सहज छ, त्रिभुवन आर्मी क्लब र नेपाल भलिबल संघ हुन्छ । भलिबल संघ आर्मीसँग किन डराउँछ ? जे गर्दा पनि सहनुपर्ने संघलाई के को बाध्यता ?
यसको जवाफ भलिबल संघले कुनै दिन अवश्य नै देला ? संघ क्लब र खेलाडीका कर्तुतहरूको मौन साक्षी बसिरहन्छ, असार २५ गते राष्ट्रिय कभर्ड हल त्रिपुरेश्वरमा घटेको घटना दोहोरिरहन्छ । यी पंक्ति पढिरहँदा तपाईंंलाई लागिरहेको होला, पंक्तिकारले यो घटनामा आफूलाई अद्यावधिक गरेन । कुरा त्यसो हैन, ढिलो न्याय दिनु, न्याय नदिनु सरह मानिन्छ । न्याय नदिनु भनेको अन्याय गर्नु हो ।
हुन त नेपाल भलिबल संघले दर्शक कुट्ने खेलाडीलाई कारबाही गर्यो । तर निकै ढिलो गरी । लिग चरणको खेल भइरहेका बेला भएको घटनाको दोषीलाई प्रतियोगिता सकिएको दिन राति मात्रै कारबाही गरिएको सूचना आयो ।
दर्शकमाथि हातपात तथा खेलका क्रममा अनुशासनहीन गतिविधि गरेको भन्दै संघले आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपति कुँवरलाई ३ महिनाको निम्ति प्रतिबन्ध लगाएको छ । भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संघले हरिहजुर थापालाई राष्ट्रिय टोलीको कप्तानबाट पदमुक्त ग¥यो । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण भन्दै थापालाई कप्तानीबाट पद मुक्त गरिएको हो ।
असार २५ गते दर्शक कुट्न उत्रिएका खेलाडीलाई निरन्तर टोलीमा राखेर खेल खेलाउनु र प्रतियोगिता सकिएपछि कारबाही गर्नु के बाध्यता हो संघलाई ? हुन त दर्शकमाथि मुक्का बजाएका धनबहादुर त्यसपछिका खेलमा चल्न सकेनन् । अधिकांश समयमै बेञ्चमा थन्किए । कोर्टमा उत्रिए पनि उनको अनुहार टीठ लाग्दो देखिन्थ्यो ।
आर्मीकै बेञ्चबाट फिल्मी शैलीमा आफू बस्ने कुर्ची समर्थकतर्फ फ्याँकियाे । बिना जर्सीमा आर्मीका व्यक्तीले पिट्नसमेत खाेजेका थिए । अनुशासनकाे नामै थिएन ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा असार २५ गते सोमबार भएको खेलमा गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा थियो । त्यसअघिका दुई सेट जितेको हुँदा आर्मी सोझो सेटमा जित हात पार्ने योजनामा रह्यो । गण्डकीका भारतीय खेलाडी थारुन गोडाले प्रहार गरेको स्पाइक आर्मीका दुर्गाबहादुर खड्काको हातमा हल्का छुँदै बाहिर गएको देखियो । तर खेलका मुख्य रेफ्री चित्रजंग गुरुङले हातमा लागेको देखेनन् । टिभी रिप्लेमै पटक पटक हेर्नुपर्ने त्यो मुभ नांगो आँखाले गर्नु सहज पक्कै थिएन । त्यसैले रेफ्रीले आर्मीलाई अंक दिए । गण्डकीका खेलाडी र प्रशिक्षक चेक आउट भएको भन्दै असन्तुष्टि जनाउन थाले । कारण त्यही अंकले खेल चौथो सेटमा पुग्ने थियो । कोर्ट बाहिर रहेका कार्यवाहक कप्तान राजन दर्लामी मगर, प्रशिक्षक रमेश केसी, सुजन चोखाललगातका खेलाडीले सेकेण्ड रेफ्री अनिल गुरुङसँग असन्तुष्टि जनाएका थिए ।
गण्डकीका खेलाडी र अफिसियल रेफ्रीसँग निर्णयबारे असन्तुष्टि जनाइरहँदा आर्मीका खेलाडीलाई बाहिरबाट समर्थकले बोतलले हाने । बेञ्चकै पछि बसेका केहीले अपशब्द बोले । यसमा आर्मीका खेलाडी संयमित हुन सकेनन् । नेपाली राष्ट्रिय टिमका कप्तान थापा नै आक्रोशित हुँदै समर्थकतर्फ फर्केर कराउन थाले । उनले हातमा रहेको खेलाडी परिवर्तन कार्ड समर्थकतर्फ उज्याए । तर आर्मीका खेलाडी त्यत्तिकैमा रोकिएनन् । हरिहजुरसहित केही खेलाडी समर्थकप्रति झनै आक्रोशित भए । आर्मीका राजेन्द्र विष्ट, शरण सामरी र धनपति कुँवरले कोर्ट बाहिर गएर समर्थकलाई पिट्न खोजेका थिए । धनपतिलाई कोर्ट बाहिर गएर समर्थकलाई हात हाल्न लागेपछि फर्काइएको थियो ।
तर भट्टले समर्थकलाई हात नै हाले । धनबहादुरले जोडसँग एक मुक्का प्रहार गरेको प्रत्यक्ष प्रसारणमै देखियो । धनबहादुरको आक्रोश त्यत्तिकैमा रोकिएको थिएन । तर उनलाई अरुले समाएर कोर्टमा फर्काए । त्यतिमात्रै होइन कतिसम्म लज्जास्पद थियो भने आर्मीका एक समर्थकले उल्टै तिनलाई पिटेका थिए । अर्कोतर्फ आर्मीकै बेञ्चबाट फिल्मी शैलीमा आफू बस्ने कुर्ची समर्थकतर्फ फ्याँकियो । त्यसअघि बिना जर्सीमा भएका आर्मीका ब्यक्तिले समर्थकलाई खोज्दै पिट्नसमेत खोजेका थिए । आर्मीले अनुशासनको कुनै पनि मर्यादा कायम गरेको थिएन । कोर्टमा गण्डकीका खेलाडीसँग भलिबलमा भिड्नुपर्ने आर्मीका खेलाडी समर्थकसँग भिड्न समय र बल खर्चिदै थिए । यसले खेल नै रोकियो । नेपाल प्रहरीलाई सुरक्षा दिनै गाह्रो भयो । कहिलेकाहीँ म्याच रेफ्रीबाट गल्ती हुनसक्छ । त्यो त स्वभाविक हो । सुरुवाती दुई सेट हारेको गण्डकीले यो अडान लिनु स्वनभाविक थियो । अनुशासन बिना कुनै पनि खेलको कल्पना गर्न सकिँदैन । त्यहाँमाथि विभागीय टोली त झन् त्यो हुन सुहाउँदैन ।
समर्थकले जिस्क्याउनु वा कुनै वस्तुले प्रहार गर्नु राम्रो होइन । यदि, प्रहार गर्छन् भने पनि खेलाडी कहिल्यै प्रतिवादमा उत्रनु हुँदैन । खेलाडी र समर्थकले गर्ने व्यवहार निकै फरक हुनुपर्छ । समर्थकले आक्रोशमा विवेक प्रयोग नगर्न सक्छन् । तर खेलाडी सधैं चनाखो हुनुपर्छ । आर्मीले आफ्नो दम्भ देखायो । अनुशासनका सबै सीमा पार गर्यो । नेपालको भलिबलमा आर्मी सर्वाधिक लोकप्रिय टोलीमा पर्छ । आर्मीका खेलाडीलाई पछ्याउने हजारौं समर्थक र खेलाडी छन् । यसबाट उनीहरूले के सिक्छन् ? गत फागुनमा आईसीसी विश्वकप लिग २ क्रिकेटमा नेपालले युएईसँग हार्ने अवस्था आएपछि २५ हजारभन्दा बढी समर्थक भएको त्रिवि मैदानमा केहीले बोतल प्रहार गर्न थालेका थिए । तर नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सीलगायतले हात जोडेर त्यसो नगर्न आग्रह गरेपछि शान्त बनेको थियो ।
खेलाडीले देखाउनुपर्ने संयमता यही हो । नेपालमा देखिएको खेलप्रति दर्शकको मोहले कतिपय प्रतियोगिता नेपालमै होस् भन्ने धेरैको चाहना हुन्छ । विदेशी खेलाडी पनि नेपाली भूमिमा खेल्नका लागि लालायित हुन्छन् । तर आर्मीका खेलाडीले देखाएको यो हर्कतले धेरैलाई लज्जित बनाएको छ ।
नेपाल भलिबल संघले खेलाडीलाई कारबाही गरिदिऔं न त भनेर गरेजस्तो गरिदिएको छ । तर आर्मीका तर्फबाट अहिलेसम्म कारबाही भएको कुनै जानकारी आएको छैन । यतिसम्म कि आर्मीका टिम व्यवस्थापक, प्रशिक्षकसम्मले घटनाबारे लिखित अनुमति बिना बोल्न नमिल्ने भन्दै कुनै प्रतिक्रिया दिएनन् । बरु खेलाडीको गल्तीलाई ढाकछोप गर्नै लागि परे । आर्मीका खेल अधिकारी, के तिम्रा खेलाडीले लिखित अनुमति लिएर समर्थक कुटेका हुन् ? किन दर्शक कुट्ने खेलाडीलाई कारबाही गर्नुको साटो लगातार सेटमा राखेर खेलायौ ? हामीलाई कसैले पनि केही गर्न सक्दैनौ÷पाउँदैनौ भन्ने दम्भ हो ? घटनाको छानबिनका लागि समिति बनिसक्दा पनि खेलाडीलाई निलम्बन गर्नुपर्छ भन्ने सोच किन आएन ? दर्शक कुटेपछि बाँकी खेल जितिन्छ भन्ने लागेको हो ?
तर त्यसो भएन नि ! त्यसै भनिएको हैन नि समर्थकलाई बाह्राैं खेलाडी भनेर । दर्शक र समर्थकको साथले खेलाडीको प्रदर्शनमा ठूलो अर्थ राख्छ । त्यसको हेक्का सबैले राख्नुपर्छ । हो, नेपाली भलिबलमा आर्मीको प्रदर्शन उम्दा छ । बाँकी क्लब र खेलाडीले आर्मीको खेल कौशल सिकुन्, दर्शक कुट्ने कुरा कहिल्यै नसिकुन् ।
टिप्पणीहरू