कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा
ईलाका प्रशासन कार्यालय, खोटाङ बजारमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीहरु मारमा परेका छन् । कायममुकायम कार्यालय प्रमुख मोहनबहादुर राईको म्याद सकिएपछि प्रशासनबाट प्राप्त हुने सम्पूर्ण सेवा बन्द भएको छ ।
गत असार २६ गतेबाट नागरिकता वितरण, दलित, जनजाति प्रमाणिकरण र सिफारिसलगायतका सेवा रोकिएको सूचना अधिकारी लक्ष्मीप्रसाद ढकालले बताए । उनका अनुसार यसले गर्दा तीन वटा गाउँपालिकाका स्थानीय मर्कामा परेका छन् ।
सेवा बन्द भएपछि जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिकाका स्थानीयहरु ईलाकाबाट हुने कामका लागि जिल्ला प्रशासन कार्यालय, खोटाङ धाउन बाध्य उनको गुनासो छ । जिल्ला प्रशासनले नयाँ कर्मचारी पठाउने तयारी भइरहेको जनाएपनि त्यसको टुंगो लाग्न नसकेको उनको भनाइ छ ।
‘न म्याद थप गरिदिन्छन् न नयाँ अफिसर नै पठाउँछन् । शाखा अधिकृतको दरबन्दी छ तर शाखा अधिकृत नै छैनन् । कार्यालयबाट हुने सम्पूर्ण काम बन्द छ । नयाँ अफिसर कहिले आउने हुन् र काम अघि बढ्ने हो, टुंगो छैन्’, उनले भने ।
ईलाका प्रशासनको कामकाजका लागि गृह मन्त्रालयले सिनियर नायव सुब्बा मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको थियो । उनको म्याद गत असार २६ गतेबाट सकिएको छ । गृहले अर्को व्यवस्था नगरिदिँदा सम्पूर्ण सेवा प्रभावित बनेको छ ।
टिप्पणीहरू