सार्वजनिक जग्गा कब्जा गरेर बनाइएको संरचना हटाउन निर्देशन
पोखरा महानगरपालिकाले अनाधिकृत रुपमा निर्माण भएका भौतिक संरचना हटाउन निर्देशन दिएको छ ।
महानगरको १ नम्बर वडा कार्यालयले सार्वजनिक जग्गामा निर्माण गरिएका भौतिक संरचना आगामी ३५ दिनभित्र हटाउन भनेको हो । सार्वजनिक जग्गा कब्जा गरी संरचना निर्माण गरेको पाइएपछि सो हटाउन लागिएको वडाध्यक्ष साहारा प्रधानले बताइन् । उनका अनुसार वडाभित्र रहेको अधिकांश सार्वजनिक जग्गामा घर, टहरा बनाइएको छ । त्यस्तै, इजाजत नलिईकन विज्ञापन कम्पनीहरुले ठूल्ठूला होर्डिङ्ग बोर्ड राखेका छन् ।
साथै, उनले फुटपाथमा पसल सञ्चालन गरेर बसेकालाई पनि आफ्नो पेशा–व्यवसाय हटाउन आग्रह गरेकी छिन् । जथाभावी पसल राख्दा पैदलयात्रीलाई सास्ती भएको उनको भनाइ छ । ‘वडा नम्बर–१ अन्तर्गत रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना, घर, टहरा, होर्डिङ्ग बोर्ड, फुटपाथमा रहेका पेशा व्यवसायका व्यापार हटाउनका लागि सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र हटाउनुहुन सर्वसाधारणहरुको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गरिन्छ’, जारी सूचनामा उल्लेख छ ।
टिप्पणीहरू