सीटीईभीटीले खुलायो समकक्षताका लागि अनलाइन फाराम, परिमार्जित पाठ्यक्रम यसै वर्षबाट लागू
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले समकक्षताका लागि अनलाइन फाराम खुलाएको छ ।
आज सूचना प्रकाशित गर्दै सीटीईभीटीले समकक्षताका लागि आगामी भद्रौ १ गतेदेखि अनलाइन फाराम भर्न आह्वान गरेको हो । सीटीईभीटीले पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाद्धारा स्वदेश तथा विदेशमा अध्ययन गरी प्राप्त गरेको प्रि–डिप्लोमा तथा डिप्लोमा-प्रमाणपत्र तहको प्राविधिक विषयको समकक्षता अफलाइन फाराम भरी सेवा प्रवाह गर्दै आएको छ ।
सूचनामा आगामी भद्रौ १ गतेदेखि अनलाइन फाराम भरी तोकिएबमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र समकक्षतासम्बन्धी अन्य सेवा प्रदान गरिने उल्लेख छ ।
यस्तै, सीटीईभीटीले पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाद्धारा परिमार्जन गरिएका पाठ्यक्रमहरु पनि यसै शैक्षिक सत्रबाट लागू गरिने निर्णय भएको जानकारी गराएको छ ।
सीटीईभीटीका आङ्गिक, साझेदारी, टीईसीएस एंव सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा अनिवार्य रुपमा सो पाठ्यक्रमहरु डिप्लोमा तथा प्रि–डिप्लोमा तहमा अध्ययन अध्यापन गराउन निर्देशन दिइएको हो ।
परिमार्जित पाठ्यक्रमहरु परिषद्को वेबसाइटबाट सिधैं डाउनलोड गर्न वा परिषद्को प्रदेश कार्यालयमा सम्पर्क गरी तोकिएबमोजिमको मिति र समयमा भर्चुअल माध्यमबाट हुने प्रवोधीकरणमा सहभागी हुन पनि सूचनामा उल्लेख गरिएको छ ।
टिप्पणीहरू