कांग्रेस बैठक : मुख फरक, बोली देउवाकै
नेपाली कांग्रेस पार्टी छ र त नेपालको राजनीति राजनीतिजस्तो छ । पार्टी, पार्टीजस्तो छ । साँच्चै नेपाली कांग्रेस कांग्रेसजस्तो नहुँदो हो त साउन २ गतेदेखि सानेपामा जे भइरहेको छ त्यो बारेमा जनता जानकार हुने नै थिएनन् । अहिले देशको पहिलो र ठूलो पार्टीले के गरिरहेछ, जनताका बारेमा के सोच्छ, मतदाताका लागि के सोच्छ, जनजीविकाबारे के सोच्छ भन्ने सबैले जानेका छन् । नेपाली कांग्रेस पहिलो पार्टी मात्रै होइन, सरकारको प्रमुख साझेदार पनि हो, उसले प्रधानमन्त्रीको दलले भन्दा धेरै र महत्वपूर्ण मन्त्रालयहरू सम्हालेको छ । यसबाट उसले जनताको लागि धेरै गर्न सक्थ्यो ।
तर, सरकारमा बसेर गर्नुपर्ने जति काम गरेको छैन । किन त्यसो गरिरहेको छैन भन्ने बुझ्न, सानेपाबाट फेसबुक लाइभ भइरहेको केन्द्रीय समिति बैठकमा नेताहरूले राखेको धारणा सुन्दा पनि थाहा हुन्छ ।साउन १ गते सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्यो । कांग्रेसको विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्छ अनि महत्वपूर्ण निर्णय गर्छ । त्यही बैठकमा देउवाले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव ल्याए । तर, यो प्रस्तावले कांग्रेसलाई लोकतान्त्रिक पार्टी हो भन्ने भनाइलाई पुष्टि गर्ने बलियो आधार दिए पनि इतर पक्षले भने यसलाई देउवाको काउन्टरका रूपमा हेरेका छन् । हुन पनि देउवाको यो प्रस्तावमा देउवानिकट नेता कृष्णप्रसाद सिटौला नै असन्तुष्ट थिए ।
देउवाको पक्षमा महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्दम्बेले मात्रै सहमति जनाए । महामन्त्री गगन थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री जीवन परियार, फरमुृल्लाह मन्सुरसहितका नेताहरूले बैठक प्रत्यक्ष प्रशारण गर्न नहुने अडान राखे । सिटौलाले बैठकमा फरक प्रस्ताव भन्दै यो निर्णय सच्याउन भने पनि अन्ततः मंगलबारको बैठक प्रत्यक्ष सामाजिक सञ्जालमा प्रशारण भयो ।
देउवा शक्तिमा भएकाले उनको स्तुति गान गाउनु स्वभाविकै सुनिए पनि नेताहरूलाई बालकृष्ण खाँणको बचाउमा उत्रनु पर्नुको बाध्यता के छ कुन्नि ?
तर, देउवा यो निर्णयमा पुग्नुलाई धेरै जना सामाजिक सञ्जाल र सञ्चारमाध्यममा बढ्दो इतर पक्षको ‘पब्लिक स्टन्ट’ भएको ठान्छन् । बैठकमा कुनै पनि विषयमा असन्तुष्टि जाहेर नगर्ने, आफ्ना धारणा नराख्ने तर सार्वजनिक खपतका लागि बाहिर अनेक तर्क दिँदै हिँडेपछि देउवाले यो अस्त्र फ्याँकेकै हुन् । हुन पनि पार्टीभित्र देउवा बलियो छन् । यस्तो अवस्थामा आलोचना गर्नेको स्वर मधुरो सुनिने संस्थापन पक्षको विश्वास थियो । आखिर भयो पनि त्यही । दुई तिहाईभन्दा बढी केन्द्रीय सदस्य आफ्नो पक्षमा भएको केन्द्रीय समिति बैठक अंकगणितका हिसाबले टाउको दुखाइको विषय भएन । तर राजनीति गणितले मात्र चल्दैन भन्ने राम्ररी बुझेका उनले २०७९ मंसिरको चुनाव, पुस १० मा बनेको एमाले–माओवादीसहितको सत्ता समीकरण र राष्ट्रपति चुनाव कुनै पनि बेलामा बैठक बोलाएनन् ।
त्यसपछि भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे । देउवा पत्नी आरजु देउवा राणाको नामसमेत जोडिएको अडियो सम्वाद सार्वजनिक भयो । तत्काल बैठक बसेर खाँणलाई निलम्बन गर्नुपर्ने माग कांग्रेसमा नउठेको होइन तर मौन बसे । यी सबै प्रकरण थिग्रिएपछि देउवाले असार २७ मा केन्द्रीय कार्यसमिति बैठक बोलाए, प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि साउन २ गतेलाई सर्यो । केन्द्रीय समिति बैठकमा पहिलो दिन महामन्त्री गगनकुमार थापाले एक वर्षको कार्ययोजना पेश गरेपछि नेताहरूले निरन्तर धारणा राखिरहेका छन् । र, संस्थापन पक्षको दुई तिहाइभन्दा बढी उपस्थिति रहेको बैठकमा सभापति देउवा निकै सहज अवस्थामा देखिएका छन् । विधानअनुसार केन्द्रीय कार्यसमिति बैठक हरेक २/२ महिनामा बस्नुपर्ने हो । देउवाले एक वर्षसम्म बोलाएनन् । तर किन समयमा बैठक नबोलाएको भनेर प्रश्न गर्नेहरू निकै कम देखिए ।
पुस १० मा गठबन्धन किन जोगाउन सकिएन भन्ने प्रश्न पनि देउवाले सुन्नु परेन । पुस १० मा भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनमा पुग्दा फेरि जोडियो । संघमा कांग्रेससहितको सरकार छ, प्रदेशतर्फ चार वटामा मुख्यमन्त्री लिएको छ भने ३ वटा प्रदेशमा महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी छ । गठबन्धन गरेर चुनावमा गएकै कारण कांग्रेस पहिलो पार्टी भएको र केन्द्रदेखि प्रदेश सरकारमा महत्वपूर्ण हिस्सेदारी हुन पाएको देउवा पक्षीय नेताहरूको धारणा छ ।
भुटानी शरणार्थी प्रकरणमा खाँण मुछिएकामा पनि देउवामाथि प्रश्न गर्नेहरू देखिएनन् । बरु खाँणलाई निलम्बन गर्न हुन्न भनी खुलेर मत राख्नेहरू धेरै छन् । केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, ईश्वरी न्यौपाने, जीतजंत बस्नेत, गोपालमान श्रेष्ठ, महेन्द्र यादवलगायतले खाँण पक्राउ परेकै दिन गृहमन्त्रीलाई भेटेर बधाई दिएको भन्दै नेताहरूमाथि प्रश्न उठाए ।
खाँण पक्राउ परेकै दिन वैशाख २७ मा मधु आचार्य, गुरु घिमिरे, गोविन्दराज पोखरेललगायत नेताले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन आग्रह गरेका थिए । यो प्रकरणमा अहिले खाँण पुर्पक्षका लागि थुनामा गएपछि उनलाई निलम्बन गर्नुपर्ने माग महामन्त्री गगनकुमार थापालगायतले गर्दै आएका छन् । यो विषयमा देउवा मौन थिए । केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षका नेताहरूले अदालतले फैसला गर्न बाँकी रहेको भन्दै किन निलम्बन गर्ने भनेर प्रश्न गरिहेका छन् । बरु देउवाको स्तुतिगानमा केन्द्रीय सदस्यहरू व्यस्त छन् । बैठकमा सभापतिभन्दा महामन्त्री गगन थापामाथि बढी प्रश्न आएको छ । केन्द्रीय सदस्य मात्रै हैन, पार्टीका पदाधिकारी नै थापामाथि खनिएका छन् । आइतबारको बैठकमा सहमहामन्त्री भिष्मराज आङदम्बे थापामाथि प्रश्न आएकोमा मख्ख थिए । आङदम्बेले बल्ल महामन्त्रीहरू विश्वप्रकाश शर्मा र थापा नेताहरूजस्तो भएको भनेर व्यङ्ग्य गरिरहेका थिए । कांग्रेसमा देउवा कमजोेर भए भन्ने बाहिर देखाउन खोजिएको कुरा गलत हो भनेर देखाउन सकिएकोमा संस्थापन पक्षका नेताहरू खुशी छन् । कांग्रेसमा आफूलाई कुनै ‘च्यालेञ्ज’रहित ‘अभूतपूर्व समर्थन’ छ भन्ने सन्देश दिन देउवा सफल भएको भनेर उनी निकट नेताहरू नाक फुलाइरहेका छन् ।
बिहीबारको बैठकमा संस्थापन इतरका अजयबाबु शिवाकोटी र प्रकाश स्नेहीले खाँण बचाउको ‘काउण्टर’ दिए । स्नेहीले भ्रष्टाचारको प्रसंग आउनेबित्तिकै कांग्रेसले मुख, कान र आँखा बन्द गर्ने बताउँदा शिवाकोटीले त सरकार र खाँणमध्ये एक रोज्न नेतृत्वलाई चेतावनी नै दिए । आफ्नो पक्षको बचाउ र इतर समूहको आलोचना परम्परा बनिसकेको कांग्रेसमा खाँणको हकमा पनि त्यही भयो ।
तर, गम्भीर अभियोगमा पुर्पक्षका लागि थुनामा पुग्दासमेत कांग्रेसले उनीबारे समान धारणा बनाउन नसक्नु र मूल नेतृत्व त्यसप्रति अनिच्छुक रहनुले चाहिँ गलत सन्देश दिएको छ । यसै पनि १५६ सदस्यीय केन्द्रीय समिति बैठकमा संस्थापनइतर समूहका नेताहरू २०/२२ जना मात्र छन् । तिनीहरूले पनि स्पष्ट अडान र तर्क राख्न नसक्दा देउवाले जे चाहेका छन् केन्द्रीय समिति बैठकमा त्यही भएको छ ।
टिप्पणीहरू