उसले ल्याएको गणतन्त्र र तिमीले दिएको गाली
– जानुका धमला
बुधवार अर्थात् असार २७ गते गणतन्त्र स्थापनालाई पहिलो एसाल्टमा रहेर आफ्नो जिम्मेवारीको मोर्चालाई साहस, इमानदारी, बुद्धिमत्ता, कुशलता र सुजबुझपूर्वक पूरा गरी भौतिक संसारबाट बिदा लिनुभयो सीता दाहालले ।
इतिहासको विभिन्न कालखण्डमा सजिलै कहीँबाट पनि केही परिवर्तन र उपलब्धि प्राप्त भएको छैन । चाहे त्यो राजनीतिक, आर्थिक, सामाजिक वा साँस्कृतिक जुनसुकै परिवर्तन होस् । गणतन्त्र पनि सानो त्याग, समर्पण, योगदान बलिदानले स्थापना पक्कै भएको होइन । हजारौं छोरीहरू बिधवा भए, हजारौं लोग्ने मान्छे बिधुर बने, हजारौं बालबालिका आमा–बाबाविहीन भएर स्थापना भएको हो गणतन्त्र । नीच र तुच्छ सोच भएकाहरूले सीता दाहाल प्रचण्डको अर्धांगिनी मात्रै हो भन्ने हिसाबले टीकाटिप्पणी पनि गरे तर म यो भन्न चाहन्छु– यो मुलुकमा सीता जत्तिको राजनीतिक, पारिवारिक, सामाजिक त्याग गर्ने अरु कुनै नेताका श्रीमती छन् त ?
युद्धको बेलामा होस् वा शान्ति प्रक्रियापछि– प्रचण्डमाथि हुने सबै खतरासँग लड्ने नाम हो सीता दाहाल । युग परिवर्तनको सपना देख्ने श्रीमान्को साथमा रहन एउटा साधारण लेखपढ गर्न जान्ने स्त्रीको सानो सोच र चेतनालाई सम्भावना होला ? युद्धको समय पाइला–पाइला पड्कने एम्बुस । पुँजीवादीले जनयुद्धलाई तहसनहस बनाउन बनाएका रणनीतिहरू । प्रतिक्रियावादीले टाउकाको मूल्य तोक्दा समग्र पार्र्टीपंक्तिलाई अगाडि बढाउने कुरा अहिले स्वर्गीय सीता दाहालको योगदानमा प्रमाणपत्र लिनेहरूको दिमाग, सोच, चेतनाभन्दा निकै माथिको थियो ।
विवाहपश्चात् श्रीमती, बुहारी, आमा बनेर गर्नुपर्ने सम्पूर्ण कर्तव्य पूरा गरेर जीवनसाथीले शुरु गरेको परिवर्तनमा बायाँपट्टि उभिई तिमीसँगै म पनि छु भन्न सानोतिनो हिम्मतले सम्भव हुँदैन । सीता दाहालका कारण धेरै पटक जटिल अवस्थाबाट तत्कालीन माओवादी पार्टी विघटन हुनबाट बचेको थियो । बाबुराम र प्रचण्डबीचको अन्तरविरोधलाई हल गर्ने सवालमा पनि उहाँको विशेष भूमिका थियो !
शान्तिका नक्कली ठेकेदारहरू, तिमीहरूले जनयुद्ध देख्यौ तर जनयुद्ध गर्न कसरी बाध्य पारिएको थियो त्यो देखेनौ । तिमीहरूले प्रचण्ड देख्यौ, प्रचण्डको टाउकाको ५० लाख मूल्य तोक्ने जंगी शासकलाई देखेनौ । तिमीले ५ हजारको ठाउँमा १७ हजारको झुटो लाञ्छना लगायौ तर १२ हजारभन्दा बढी सर्वसाधारण जनता शाही सेना/प्रहरीको अमानवीय र क्रूर दमनबाट मारिएको देखेनौ ।
तिमीले आजीवन ज्यानमारा, माओवादी र आतंककारी लेख्यौ तर ११ वर्षको नाबालक दिलबहादुर रम्तेलजस्ता हजारौं विद्यार्थीलाई कक्षाकोठाबाट निकालेर ड्याम कि ड्याम गोली हानेको देखेनौ । मेल गैरीमा कन्हैया सिंहले गरेको खत्रीबन्धुको कत्लेआम र नरसंहार देखेनौ । खारातिर शान्त झुपडीमा प्रहरीले गरेको आगजनी र १७ जना निर्दोष गाउँलेलाई जिउँदै जलाएर क्रूरतापूर्वक गरिएको हत्या देखेनौ । आतंककारीको आरोपमा तीनमहिने सुत्केरीलाई लखेटीलखेटी गोली बर्साएको देखेनौ । मैना सुनारजस्ता निर्दोष चेलीहरूलाई सामूहिक बलात्कारपछि योनी र स्तनमा संगिन रोपेको देखेनौ । खेतमा काम गरिरहेका किसान, साहुको भारी बोक्दै गरेका मजदुर ज्यामी, परीक्षा दिन सदरमुकाम पुगेका विद्यार्थी र साँझ बिहानको छाक टार्ने पिरलोले आफैँ मर्न लागेका दुखियालाई अकारण गिरफ्तार गरेर पशुवत् कठोर यातनापछि पानी माग्दा मुखमा पिसाब फेर्दै गरेको देखेनौ । धारोमा नुहाउन गएका साधारण व्यक्तिलाई घरमा छोराछोरीसँग खेल्दै बसेको गरिब मजदुरलाई आतंककारी भन्दै मारेको देखेनौ ।
भूमिगत हुन बाध्य बनाएको देखेनौ तर कुनै सुराकीको सफाया गर्दा उसलाई निर्दोष सर्वसाधारण देख्यौ । प्रचण्डको सत्ता देख्यौ, सदियाैँदेखि दबिएका महिला, दलित र उत्पीडित समुदायलाई दिलाएको अधिकार देखेनौ । अकारण र अनायासै निस्किएको होइन विद्रोहको आवाज, ख्यालठट्टामै उठाएको होइन जनताले बन्दुक ! कुनै केटाकेटीको खेल थिएन, जनयुद्ध/जनविद्रोह ! एकपटक ठण्डा दिमागले सोच यदि प्रचण्ड नजन्मिएको भए ? यदि प्रचण्डले गणतन्त्रको निम्ति बन्दुक नबोकेको भए ? कहाँ हुन्थ्यो तिम्रो वाक स्वतन्त्रता ? कसरी गर्न पाइन्थ्यो मुलुकको कार्यकारी प्रमुखलाई गाली ? ओ, संवेदनाहीन मानिसहरू सबैभन्दा पहिले तिमीहरू मान्छे बन्न सिक !
हार्दिक श्रद्धासुमन कमरेड सीता दाहाल !
टिप्पणीहरू