किन धेरै ढोङ गर्छाै कमरेड !
‘हामी पाखण्डी नै हौँ । उमेरले मभन्दा केही मात्रै पुराना हुन् बाबुराम, प्रचण्ड, ओली, माधव, झलनाथ, अशोक राईहरू । तैपनि हामीबीचको समानता के हो भने हामीले व्यहोरेको राजनीतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक अवस्था लगभग एउटै हो । हामी एउटै जस्तो कारणले राजनीतिमा, सामाजिक आन्दोलनमा, आर्थिक तथा साँस्कृतिक लडाइँमा लागेका थियौं । यदि, कसैले होइन भन्छ भने म बहस गर्न तयार छु ।’
अल्लि पहिलेको कुरा हो । म स्वयंले भोगेको त होइन तर मेरा अनन्य मित्रले भोगेको पीडा । डाक्टर केशरजंग रायमाझी दरबारको प्रतिनिधिका रूपमा स्थापित भैसकेका थिए र उनी ०४६ सालको जनआन्दोलनपछि बनेको सरकारमा शिक्षामन्त्री थिए । ती मित्र केही काम विशेषले उनीकहाँ गएका रहेछन् । बातचितको दौरान उनलाई पिसाब लागेछ । बडो धक मानेर आफ्नो समस्या बताएछन् । कुरा सुनेपछि डाक्टर केशरजंग रायमाझीले आफैँ ट्वाइलेटसम्म लगेर देखाएछन् । पिसाब फेर्न गएका मित्र उनको व्यवहार देखेर तीन छक खाएछन् । ती मित्र केही दिन पहिले डाक्टर प्रकाशचन्द्र लोहनीकहाँ पनि गएका थिए । त्यहाँ उनलाई पिसाब लाग्दा लोहनीले बाहिरको ट्वाइलेट देखाएर पठाएछन् । अहिले पनि हाम्रा कम्युनिष्ट नेताहरूले हामीलाई बाहिरकै ट्वाइलेट देखाउँछन् ।
डाक्टर बाबुराम भट्टराई र मैले बाँचेको समय र परिस्थिति लगभग उस्तै हो । हामीबीचको फरक के हो भने उनी एसएलसी परीक्षामा प्रथम स्थान हासिल गरेर बोर्डफष्र्ट कहलिए । अरु कुरामा हामीबीच त्यस्तो कुनै भिन्नता छैन । मैैले पनि धान रोपेको छु, मकैको उकेरा हालेको छु, माछा मारेको छु, मेला पर्म गएको छु । खोला तरेको छु । गंगटा, भोटीमाछा खाएको छु । अर्थात् खेतमा गलगला खेल्नेदेखि धान काटेर दौंरी गर्नेसम्मको काम गरेको छु । उनले पनि मैलेजस्तै काम गरेरै पढेको हुनुपर्छ । हामी सबैलाई थाहा छ कि तराईमा थारूले मुसा खान्छन्, घोंगी खान्छन् भनेर । पहाडमा अरिँगाल खान्छन्, दुम्सी, खरायो, कछुवा खान्छन् । डाक्टर भट्टराईलाई थारू गाउँमा गएर वाकवाकी लाग्ने गरी मुसाको मासु खानुपर्ने बाध्यता किन आइलाग्यो होला ? मेरो भनाइको आशय के हो भने हामी कसैले पनि अभिनय गरेर जनतालाई गुमराहमा राख्नु हुँदैन । के भट्टराईलाई देशको समस्याबारे थाहा थिएन ? मुसाको मासु खाँदैमा सामाजिक, साँस्कृतिक समस्याको समाधान हुँदैन भन्ने थाहा थिएन ? हामी सबैले खोला तरेकै हो, धान रोपेकै हो, मकै, गहुँ छरेकै हो, पिँडालु उब्जाएकै हो । अरिँगाल पोलेर खाएकै हो, भीरमौरी काढेकै हो र मुसा पनि खाएकै हो । त्यसकारण डाक्टर बाबुरामलाई मुसा खान गरिबको घरमा जानुपर्ने कुनै दरकार थिएन । किन त्यस्तो गरे होलान् भनेर अहिलेसम्म पनि मैले मेसो पाउन सकेको छैन ।
अहिले के छ भने जनताको घरदैलोमा प्रचण्ड जान्छन्, ओली जान्छन्, देउवा जान्छन् र उनीहरूको नाम लिएर अरु छुटभैयाहरू पनि जान्छन् । यी छुटभैयाहरूले फेरि मुसा खान्नन्, ब्रोइलर कुखुरा खान्नन् । लोकल कुखुरा मुख्य खुराक हो यिनीहरूको । जनताको आम्दानी छैन, पैसा आउने कुनै बाटो छैन । तर, यिनलाई नखुवाई हुन्न । नखुवाए संगठनमा पछि पार्छन्, अवसरबाट वञ्चित गर्छन् र एक्ल्याउँछन् । मैले भन्न खोजेको कुरा के हो भने मुसा खानु ढोङ हो र लोकल कुखुरा खानु पनि ढोङ नै हो । यसरी तिनले देशको सामाजिक, साँस्कृतिक अवस्थालाई बिद्रुप पारेका छन् ।
हामीले भन्न खोजेको कुरा के हो भने राज्यले न्यूनतम कुरा तोकोस् र त्यसलाई दृढतापूर्वक लागू गरोस् । शिक्षामा जनताले गर्नुपर्ने खर्च कति हो ? स्वास्थ्योपचारमा कति हो ? कृषिमा कति हो ? यस्ता अनेकौं विषय छन् जसमा जनताले कति खर्च गर्नुपर्ने हो ? न राज्यलाई, न सेवाप्रदायकलाई, न त जनता, कसैलाई पनि थाहा छैन । मेरो भनाइ के हो भने मुसा खाने नौटंकी हामीले गर्ने होइन । जिल्ला भ्रमण गरेर कार्यकर्तालाई ऋणमा पार्ने होइन । सिँञ्चाइ, बिजुली, मल, शिक्षा र स्वास्थ्य, ऋण प्राप्ति र ब्याजदर आदिमा जायज कुराकानी होस्, ठगिन नपरोस् । एउटै ऋणको ब्याज विनोद चौधरीलाई सस्तो र विनोद पासीलाई महँगो किन ? अथवा मैले कुखुरा पाल्नको निम्ति ऋण लिँदा १४ प्रतिशत ब्याज तिर्नुपर्ने तर भाटभटेनीले ऋण लिँदा नौ दशमलव ९ प्रतिशत ब्याजदर किन ? राष्ट्रबैंकका कर्मचारीलाई निब्र्याजी ऋण किन ? घर बनाउन र गाडी किन्न निब्र्याजी ऋण तर खेती किसानी गर्ने किसानलाई, व्यवसायीलाई चर्को ब्याज ठोक्ने ? यस्तो विभेद गर्न हुन्न । सबैलाई न्यायोचित लाग्ने काम गर्नुपर्छ । र, यस्तो गर्ने राज्यको नेतृत्व गरिरहेकाहरूले हो ।
हामीले सिरियस भएर कुरा गर्ने भनेको किसानको हो, गिट्टी कुट्ने मजदुरको हो, अस्पतालमा सुइ लाइदिने अनमीको हो, खलाँसीको हो, पियनको हो, ड्राइभरको हो । घरघरमा भाँडा माझ्ने मजदुरको हो र सारमा भन्दा शोषित, पीडित जनताको हो । तर, के हामी शासक मात्रै हो केवल शासन गर्ने र आफ्नो हितको कुरा गर्ने ? यदि, त्यस्तो होइन भने खोइ त यिनको हितमा बोलेको ? विनोद चौधरीको निम्ति हामीले बोल्दिनुपर्छ र ? सुन तस्कर आरोप लागेकाको पक्षमा, ललिता निवासको जग्गा फिर्ता गर्नेको पक्षमा, भुटानी शरणार्थीलाई विदेश पठाउने काण्डमा परेकाको पक्षमा हामीले बोल्दिनुपर्छ र ? पर्दैन । हुने खानेलाई न महँगीले छुन्छ, न बेरोजगारीले छुन्छ । स्कूल कलेजको फि जतिसुकै महँगो होस्, तरकारी र खाद्यान्न जतिसुकै महँगो होस् अथवा पेट्रोल जतिसुकै महँगो होस् त्यसले उनीहरूलाई के फरक पार्छ ? तर, यही कुराले आममानिसको भान्सामा भात थोरै पाक्छ, दाल पातलो हुन्छ, मासु पाक्दैन र छोराछोरीहरूको स्कूलको रिजल्ट रोकिन्छ । के यो कुराको थोरै पनि अनुभूति प्रचण्ड, माधव, ओलीहरूलाई होला ? र घनश्याम, वर्षमान, पृथ्वी सुब्बाजस्ता कामरेडहरूलाई पनि होला ? मेरो ब्रह्मले त देखिराख्या छैन । छ भने जनतालाई थाहा दिनुहोला ।
टिप्पणीहरू