रोपाइँको सिजनमा चामल आयातको चिन्ता

रोपाइँको सिजनमा चामल आयातको चिन्ता

भारतले साउन ४ गतेदेखि चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनलयले बासमतीबाहेक अरु सबै प्रकारका चामल निर्यातमा रोक लगाएको जानकारी दिएको हो । 

भारतले विश्वका ५० भन्दा बढी मुलुकमा चामल निर्यात गर्दै आइरहेको छ । तर, यो वर्ष धानको उत्पादनमा कमी आउने र युक्रेन र रुसबीचको तनावले खाद्य संकट बढ्न् भएपछि भारतले आन्तरिक बजारमा मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले चामल निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ । 

भारतको उक्त निर्णयपछि पछिल्लो दुई सातामा नेपालमा चामलको मूल्य ह्वात्तै बढेको छ । चामलमा कालोबजारी सुरु हुन थालेको उपभोक्ताहरु बताउँछन् । भक्तपुरको सूर्यविनायक बस्दै आएकी सिर्जना तामाङले चामलको मूल्य अचानक बढेको बताइन् । उनले भारतको निर्णयपछि यहाँका व्यापारीहरुले चामलमा कालोबजारी सुरु गरेको दाबी गरिन् । 

‘असारसम्म १८ सय रुपैयाँमा पाइएको जिरा मसिनो चामल अहिले अचानक २३ सय पुगेको छ । गोदाममा चामल छ । तर, व्यापारीहरुले कालोबजारी सुरु गरेका छन्,’ उनले भनिन् । महिनाभरि दुःख गरेर कमाएको पैसा अहिले चामल किन्न समेत अपुग हुने अवस्था आएको उनको भनाई छ । त्यस्तै, काठमाडौंको नयाँ बानेश्वरकी सीता अर्याल पनि चामलमा कालोबजारी बढेको आशंक गर्छिन् । उनले व्यापारीहरुले चामलको मूल्य बढाएको अनुभव आफूलाई भएको बताइन् । 

‘भारतबाट चामल प्रतिबन्धको खबर आउनासाथ व्यापारीहरुले रातारात मूल्यवृद्धि गरेका छन् । केही दिन अघिसम्म १६–१७ सयमा पाइने एक बोरा जिरा मसिनो चामल अहिले २ हजारदेखि २५ सय रुपैयाँसम्म पुगेको छ,’ उनले प्रश्न गरिन्, ‘पैसा हुनेले त जतिसुकै महंगो भएपनि खालान् अनि पैसा नहुने गरिब जनता चाहिँ भोकभौक मर्ने ?’

उनी थप्छिन्, ‘महिनाभरि काम गरेर बल्लतल्ल १० देखि १५ हजार हातमा पर्छ । अनि त्यो रकमले घरभाडा तिर्नु कि, खाद्यान्न किन्नु कि, सवारी भाडा तिर्नु ?’  नेपाललाई अहिले पनि कृषि प्रधान मुलुक भन्ने गरिएको छ । तर, गत वर्ष भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालका अधिकांश मैदा र सोसँग सम्बन्धित उद्योग बन्द हुनुपर्ने अवस्था सिर्जना भएको थियो । 

गत वर्षको वैशाख ३१ गते भारतले अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य बढेपछि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर, नेपाल सरकारको कुटनीतिक पहलपछि पाँच महिनापछि गहुँ निर्यातमा लगाइएको प्रतिबन्ध हटाइएको थियो । 

अहिले भारतले चामल निर्यातमा रोक लगाएपछि अधिंकाशले नेपालमा खाद्य संकट निम्तिने अनुमान लगाउन थालेका छन् । कृषि प्रधान मुलुक भनेपनि नेपालमा भारतबाट ठूलो परिमाणमा चामल आयात गर्दै आइएको छ । भारत विश्वमा सबैभन्दा धेरै धान उत्पादन गर्ने देशहरुमध्ये एक हो । 

नेपालले गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै १६ खर्ब ११ अर्बको चामल आयात गरेको भन्सार विभागले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी भारतबाट १० खर्ब २७ अर्बको आयात भएको हो । यति ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको असर सोझै नेपालमा नपर्ने कुरै भएन ।

हाल मुलुकभर ७७ प्रतिशत मात्र रोपाइँ सकिएको तथ्याङ्क प्राप्त भएको छ । जुन गत वर्षको तुलनामा १३ प्रतिशत कम हो । गत वर्षको यो अवधिसम्म कुल ९० प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो । तर, पर्याप्त मनसुन नहुँदा यो वर्ष रोपाइँमा समेत ढिलाई भएको छ । 

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जय मुलुकमा खपत हुने कुल चामलको करिब २० प्रतिशत आयात हुने गरेको बताउँछन् । उनका अनुसार नेपालमा करिब ७० लाख मेट्रिक टन चामल खपत हुन्छ । त्यसमध्ये १५ लाख मेट्रिक टनभन्दा धेरै चामल आयात हुने गरेको छ ।  

भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धलाई चुनौतीभन्दा पनि अवसरको रुपमा लिनुपर्ने उनको ठम्याई छ । भन्छन्, ‘गत वर्ष केही मात्रामा खाद्यान्न उत्पादनमा वृद्धि भएको देखियो । तर, मुलुक अझैपनि २० प्रतिशत खाद्यान्न आयातमै भर परेको छ । अहिले भारतले बासमतीबाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तत्काल समस्या आइहाल्ने देखिँदैन । तर, मन्त्रालयले यसलाई चुनौतीभन्दा पनि अवसरको रुपमा हेरेको छ । यसबाट हामीले उत्पादकत्वमा वृद्धि गर्नेछौं ।’

सरकारका मुख्य सचिव डा.वैकुण्ठ अर्यालले हाल बजारमा खाद्य उपलब्धताको सुनिश्चितता गर्न सरकारी र निजी क्षेत्रको सहभागितामा उपलब्ध गोदाम समेत प्रयोग गरी आवश्यक खाद्यान्न भण्डारणको व्यवस्थापन गर्न निर्देशनसमेत दिएको प्रवक्ता सञ्जयले जानकारी दिए । 

उनले थपे, ‘अस्ति मुख्यसचिवज्यूको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ६६ औं बैठक बसेको थियो । बैठकमा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापनबारे छलफल भयो । उहाँले बजारमा खाद्य उपलब्धताको सुनिश्चितता गर्न सरकारी र निजी क्षेत्रको सहभागितामा उपलब्ध गोदामसमेत प्रयोग गरी आवश्यक खाद्यान्न भण्डारणको व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।’

टिप्पणीहरू