बिहान भाटभटेनी अगाडि नारा लगाएका ठेकेदारहरु दिउँसो बानेश्वरको धर्नामा

बिहान भाटभटेनी अगाडि नारा लगाएका ठेकेदारहरु दिउँसो बानेश्वरको धर्नामा

निर्माण सम्पन्न भएका आयोजनाहरुको अरबौं रकम भुक्तानी नपाएको भन्दै केही समययता आन्दोलन चर्काइरहेका निर्माण व्यवसायीहरु संसद भवन अगाडि धर्ना दिएका छन् । निर्माण व्यावसायी महासंघको अगुवाइमा बिहान प्रधानमन्त्री निवास बालुवाटार घेर्न पुगेका ठेकेदारहरु अपराह्न बानेश्वरमा धर्ना बसेका हुन् । 

सांसदहरुलाई आफ्ना मागबारे ध्यानाकर्षण गराउन नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको विस्तारित सडकमा जम्मा भएका करिब चार-पाँच दर्जनको संख्यामा रहेका ठेकेदारहरुले चर्को नारावाजीसमेत गरेका थिए । सेफ्टि हेलमेट र ज्याकेट लगाएर महासंघका अध्यक्ष रवि सिंह, सल्लाहकार तथा पूर्वअध्यक्ष यक्षध्वज कार्की, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी), कार्यवाहक महासचिव शिवहरि घिमिरे, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठलगायत उपस्थित थिए । 

त्यसक्रममा प्रदर्शनकारी ठेकेदारहरुले 'निर्माण कार्यको भुक्तानी गर', सबै निर्माण कार्यको म्याद थप गर', 'सम्पूर्ण ठेक्काको मूल्य समायोजन गर', 'अव्यवहारिक माइलस्टोन खारेज गर', बीमा निर्देशिका, २०७८ खारेज गर', 'सार्वजनिक खरिद ऐन, नियमावली संशोधन गर'जस्ता नारा लगाएका थिए । 

गत साउन ८ गतेदेखि चरणवद्ध आन्दोलन थालेको महासंघले आज बिहान प्रधानमन्त्रीको निवास घेराउ गर्न पुगेका थिए । तर, प्रहरीले भाटभटेनी मन्दिर नजिकै रोकेपछि त्यही उभिएर नारावाजी गरेका थिए । 

ठेक्काको भुक्तानी सहजीकरण, म्याद थप, सार्वजनिक खरिद अनुगमनलगायत नौ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको महासंघले यसअघि आफ्ना मागबारे ज्ञापनपत्र बुझाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । त्यस्तै, सातै प्रदेशमा मुख्यमन्त्री र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पनि अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको थियो ।
 

टिप्पणीहरू