नागरिकता किन्दै, मिठाई पसल खोल्दै

नागरिकता किन्दै, मिठाई पसल खोल्दै

नेपाली नागरिकता लिने भारतीय दिन दुई गुणा, रात चौगुणा बढिरहेको देख्दा एक राष्ट्रप्रेमी नेपालीको मन छिया–छिया हुँदो रहेछ । नीति–निर्माता र प्रशासकहरूले पैसाको प्रलोभनमा परी कसरी भारतीयलाई नेपाली नागरिकता दिँदा रहेछन् र यस्ता भारतीय कुन अनुपातमा बढिरहेका छन्, एउटा कहालीलाग्दो तथ्य पस्कँदै छु । 

भक्तपुर, मध्यपुर थिमीको बासिन्दा हुँ । सटर र कोठा खाली थियो, खोज्नेहरू अनेकन आए । कतिलाई भाडा चित्त बुझेन, कतिलाई अन्य विषय । घरबेटीका आफ्नै तनाव, कोठामा बस्ने कतिपय सामान चोर्नेदेखि छोरी नै भगाएर हिँड्नेसम्मका भेटिएका छन् । कोठा पैसासँग जोडिएको विषय त हो तर त्यसमा बस्ने मान्छेको व्यवहारप्रति पनि घरबेटीलाई चासो हुँदोरहेछ, भाडा समयमा दिन सक्छ कि सक्दैन, कस्तो छ आनीबानी र स्वभाव, स्थायी रूपमा बस्छ वा बिरालाले गुँड सारेझैँ गरिरहन्छ । यस्तै चिन्ता हुन्छ घरधनीलाई । 

जब वाणिज्य, आपूर्ति तथा संरक्षण विभागको टोलीले कौशलटार स्विटका मालिक उमेशकुमार गुप्तालाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात, व्यवसाय दर्ता प्यान, खरिद बिक्री बिल लिई सात दिनभित्र वाणिज्य विभागमा उपस्थित हुन पत्र काट्यो, त्यसपछि उनी फरार भए ।

यस्तैमा तराईमूलका एक व्यक्ति डेरा खोज्दै आए, कौशलटारतिरै मिठाई पसल चलाउँदा रहेछन्, सीता खत्रीको घरमा सटर लिएर । तीन महिनादेखि बस्न थाले मेरो घरमा । ‘कौशलटार स्विट एण्ड चाट हाउस’का अलावा कोटेश्वरमा लक्ष्मी स्विट हाउस र नजिकै फलफूल पसल पनि । झण्डै १७ वर्षदेखि नेपालमै रहेर व्यापार व्यवसाय गर्दै आएको । व्यापारीलाई नै घर भाडामा दिन पाए समयमा पैसा पाइने विश्वास । घर वीरगञ्ज भन्थे । तीन महिनापछि पो थाहा लाग्यो उनी भारतीय नागरिक रहेछन्, झुक्याएर नेपाली नागरिकता लिएका । जब वाणिज्य, आपूर्ति तथा संरक्षण विभागको टोलीले कौशलटार स्विटका मालिक उमेशकुमार गुप्तालाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात, व्यवसाय दर्ता प्यान, खरिद बिक्री बिल लिई सात दिनभित्र वाणिज्य विभागमा उपस्थित हुन पत्र काट्यो, त्यसपछि उनी फरार भए । अनि बल्ल पो उघ्रियो भ्रमको पर्दा । यसरी नेपालबाट नागरिकता लिएर मिठाई पसल चलाउने उनी एक्ला नभई अरू ९ जना रहेछन्, ती पक्राउ परिसकेका छन् । मेरो घरमा कोठा लिई बस्ने गुप्ता फरार छन् । 

घरः भारतको बिहार, नागरिकता नेपालको, व्यवसायः राजधानीमा मिठाई पसलका अलावा अन्य । उत्तर प्रदेश, बलिया जिल्ला, इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भीमपुरा थाना बेल्थरा रोड स्थायी घर भएकाहरूले पनि यस्तै झुटा विवरण पेश गरी नेपालको नागरिकता लिएको भेटिएको छ । उनीहरूले १७ वर्षअगावै ०६३ सालमा प्रशासनलाई प्रभावमा पारेर नागरिकता लिएको देखिन्छ । यसरी नागरिकता लिने उमेशका आफन्त परिवारसहित १० जना छन् । प्रहरीले झण्डै तीन महिना लामो अनुसन्धानबाट दक्षिणतिरका १० जनाले नेपाली नागरिकता लिएको भेटेपछि उनीहरूलाई पक्राउ गरेको छ । 

यस्तो धन्दामा उमेशसहित ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता, ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मीनादेवी गुप्ता, ५२ वर्षीय राजेशकुमार गुप्तालगायत छन् । बिहारका यी दश जनाले जन्मसिद्ध नागरिकता लिएर काठमाडौं, ललितपुर, भक्तपुरमा मिठाई पसलका अलावा अन्य व्यापार व्यवसाय गर्दै आएका थिए । नेपाली नागरिकको हैसियतमा घरजग्गा र प्रशस्त बैंक ब्यालेन्स ।

छोराछोरीको कागजी विवरणसमेत नेपाली नागरिकको हैसियतमा । विभिन्न समयमा टोली स्थलगत रूपमा खटिएको समय पारेर उनीहरूले जिल्ला प्रशासन कार्यालय रूपन्देही, बारा, पर्सालगायतबाट नागरिकता लिएको र उनीहरूसँग २०२१ देखि अहिलेसम्म पनि भारतीय मतदाता परिचयपत्रसमेत रहेको प्रहरीले फेला पारेको छ । उमेश गुप्ताले ०६३ साल माघ ३० गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता हात पारेका हुन् । उनको नागरिकता नम्बर ३४–३०२२–२६ रहेको छ । विश्वनाथ गुप्ताका छोरा उमेशको जन्ममिति २०३२ भदौ ३ र ठेगानामा वीरगञ्ज वडा नम्बर ७ उल्लेख छ । उनको नागरिकतामा प्रशासकीय अधिकृत किरणनिधि तिवारी र टोली प्रमुख राजकुमार अधिकारीको हस्ताक्षर छ । उनको नागरिकता बनेपछि विभिन्न मितिमा अन्यले पनि उही शैली अपनाउँदै नागरिकता लिएका थिए । मध्यपुर थिमी नगरपालिकाका वडाध्यक्ष कृष्णहरि आचार्यले ०७९ चैत १ गते कौशलटार स्विट एण्ड चाट हाउस व्यवसाय दर्ताको प्रमाणपत्र दिएका छन् । व्यवसायको चुक्ता पुँजी ५ लाख राखिएको छ । 

व्यापार व्यवसाय मात्र होइन, प्रशासनमा समेत दोहोरो नागरिकता लिनेको बोलवाला भेटिन्छ । कुनै एक सर्वसाधारणले भूलवश, एकैपटक नेपालको दुइटा नागरिकता लिएको फेला परेमा ऊ ठाडै जेल जान्छ तर कसैले एकैपटक एउटा हातमा विदेशको र अर्काे हातमा नेपालको नागरिकता लिएको भेटिएको छ । के त्यस्तो अपराध क्षम्य हुन्छ ? एक जना राष्ट्रसेवक यी व्यापारीले झैँ एकै पटक बिहार र नेपालबाट नागरिकता लिएर सरकारी उच्च सेवामा कार्यरत छन् । ती उपसचिव हुन्– रवीन्द्रलाल दास । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत कार्यरत छन् । उनै दास र परिवारले समेत दोहोरो नागरिकता लिएको भन्दै प्रम कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियारलगायत सरकारी निकायलाई गुहारिएको छ । दासले बिहार खजौली ठेगानामा भारतीय नागरिकता लिएका छन् भने जिल्ला प्रशासन कार्यालय पर्साबाट समेत नेपाली नागरिकता लिएर उपसचिवस्तरको सरकारी जागिर खाइरहेका छन् । उनका अलावा आमा इन्द्रकला, पिता नारायण र पत्नी माल्विकाले समेत जिप्रका पर्साबाटै नेपाली नागरिकता लिएको भेटिएको छ । उनीहरूसँग दोहोरो नागरिकता छ भनेर पटक–पटक जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा निवेदन परिसक्यो । निवेदन मात्र होइन, छानबिनका लागि पत्र पनि काटिए तैपनि यस्तो सेटिङ छ कि न उनको नागरिकता खारेज हुन्छ न त केही कारबाही हुन्छ । 

यी त प्रतिनिधि पात्र मात्र हुन् । नागरिकता रानीको जन्मोत्सवमा बाँडिएको चकलेट होइन, आउनेजति सबैलाई बाँड्दै जाने । पछिल्लो ऐनपछि झण्डै ६ लाखले नेपाली नागरिकता पाउने बाटो खुले पनि यसबाट कम्तीमा १६ लाखको हातमा नागरिकता पुग्ने मधेशकै नेताहरू बताउँछन् । यसरी लाखौं भारतीयको हातमा नागरिकता पुग्दा नेपालको अस्तित्व र स्वाभिमान कहाँ पुग्ला ? कतै हामी नेपाली नै अल्पमतमा पर्ने स्थिति त आउँदै छैन ? चिन्ताको विषय बनेको छ ।
 

टिप्पणीहरू