मकैको खोस्टाबाट पुतली (फोटो फिचर)

मकैको खोस्टाबाट पुतली (फोटो फिचर)
सुन्नुहोस्

मकैको खोस्टाबाट बनेको पुतली र गुडियाभन्दा धेरैलाई आश्चर्यचकित लाग्न सक्छ । प्लास्टिकको खेलौना पाइने जमानामा मकैको खोस्टाबाट पुतली र गुडिया कसले बनाउँछ ? भन्ने पनि लाग्छ । ललितपुरमा दिदीबहिनीले मकै खोस्टाबाट पुतली र गुडिया बनाउँदै आएका छन् । 

पाटनको हाखाचुसिका नानी गल्ली शुरु हुने मोडको दुई घर पार गरेपछि पुगिन्छ, ‘सिस्टर्स क्रियसन एण्ड क्याफे ।’ आफूसँग भएको कलालाई व्यवसायिक बनाउनका लागि उनीहरुले क्याफे सञ्चालनमा ल्याएका हुन् । पहिले तीन दिदीबहिनीले संयुक्त रुपमा सो क्याफे चलाएका थिए । 

हाल क्याफे लक्ष्मी नकर्मी आफैंले सञ्चालन गरिरहेकी छिन् । उनले म्यागेजिनमार्फत् मकैको खोस्टाबाट गुडिया बनाउन सिकेकी हुन् । अमेरिकामा ‘कर्न हस्क’ बाट गुडिया बनाउने गरेको देखेपछि उनलाई पनि सिक्न मन लाग्यो । कलाकृतिमा पहिल्यैदेखि रुची भएकी उनले त्यहीबाट प्रेरित भएर यो व्यवसाय थालेकी हुन् । 

‘नेपालमा मकैको खोस्टा यत्तिकै फालिएको हुन्छ । म्यागेजिनमा यसको उपयोग भएको देखेपछि बनाउने सोच आयो । दिदीबहिनी मिलेर गुडियाका विभिन्न आकृति बनाउन शुरु गर्यौं । शुरुवाती दिनमा बिग्रियो । तर, गल्तीबाट सिक्दै आफ्नो कलालाई निखार्यौं । यो पेशामा लागेको तीन दशकभन्दा धेरै भइसकेको छ,’ उनले भनिन् । 

अन्य दुई जनाको विवाह भएपछि उनी एक्लिएकी छन् । तरपनि उनले यो पेशा छोडेकी छैनन् । पाँच जना सहयोगी राखेर व्यवसाय सञ्चालन गरिरहेकी छन् । अधिकांश बोल्न र सुन्न नसक्नेलाई तालिम दिएर उनले दक्ष बनाएकी छन् । काठको धुलो, मकैको खोस्टा, सुत्ला, कपडा, लोक्ता कागज, तारलगायत वस्तुको प्रयोग गरेर गुडिया तयार पार्ने गरिएको छ ।

 

टिप्पणीहरू