कायम मुकायम प्रधानन्यायाधीशविरुद्ध उजुरी दिन सकिने
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध प्रमाण हुने जो कोहीले उजुरी दिन सक्ने छन् । उहाँको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको जनाउँदै संसदीय सुनुवाइ समितिको बैठकले उक्त जानकारी गराएको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध सूचना प्रकाशित भएपछि उजुरी दिन सकिने निर्णय गरेको हो । उहाँलाई गत बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो ।
अब उहाँविरुद्ध १० दिनभित्र उजुरी दिन सकिने छ । तर त्यस्ता उजुरीमा प्रष्ट आधार र प्रमाण हुनुपर्ने जनाइएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण गत शनिबारदेखि प्रधानन्यायाधीशबाट अवकाश हुनुभएको हो । संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नुहुनेछ ।
टिप्पणीहरू