वामपन्थी नै हैनौं भने किन कमरेड भनिरहने !
जो बाइडेन, ऋषि सुनक, नरेन्द्र मोदी आ–आफ्नो देशका कार्यकारी प्रमुख हुन् तर यिनीहरूमध्ये कोही पनि सम्बद्ध दलका अध्यक्ष होइनन् । ओली, देउवा, प्रचण्ड, माधवहरू भने आ–आफ्नो दलका अध्यक्ष/महासचिव हुन् र देशको प्रधानमन्त्री बनेका पनि हुन् । आजकै दिनको कुरा गर्दा प्रचण्ड माकेको अध्यक्ष तथा देशको प्रधानमन्त्री हुन् । साथै, मन्त्रिमण्डलमा सामेल रहेका अधिकांश मन्त्री पनि अपवादबाहेक तत्तत् दलमा केन्द्रीय पदाधिकारीको हैसियतमा छन् । राजनीतिक आबद्धताभन्दा बाहिरका र विषयविज्ञहरूले कुनै पनि मन्त्रिमण्डलमा यदि कुनै स्थान पाएका थिए वा छन् भने पनि त्यो कुरा एउटा अपवाद होला । समग्रमा भन्दा दलभित्र पद र प्रभावमा रहेकाहरूले अर्थात् शक्तिको अभ्यास गर्नेहरूले नै सरकारमा पनि स्थान पाएका हुन् भन्ने कुरामा दुईमत छैन ।
यस्तो किन हुन्छ ? केही समयपहिले देउवाले कांग्रेसलाई फुटाएर अर्को दल बनाई त्यसको अध्यक्ष स्वयं बने । पछि सोही दलको अध्यक्षका हैसियतमा प्रधानमन्त्री पनि बने । प्रचण्डले सम्म एकपटक बाबुराम भट्टराईलाई बाध्यतामा परेर प्रधानमन्त्री बन्न दिएका थिए । त्यतिबेला बाबुराम भट्टराई पार्टीको अध्यक्ष नबनी प्रधानमन्त्री बनेका थिए । यो पनि एउटा अपवाद हो ।
तत्कालीन नेकपामा दुई जना अध्यक्ष रहने र एउटाले पार्टी सञ्चालन गर्ने, अर्कोले सरकारको नेतृत्व गर्ने भन्ने सहमति थियो । तर, पछि दुवै जनाले प्रधानमन्त्री पदको आकांक्षा राखेका कारण विभाजनको अवस्थामा पुग्यो । नेकपा (एमाले) पनि ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै जिम्मेवारी आफैँमा हुनुपर्ने, अरू हुन नहुने साथसाथै अरू सदस्य तथा पदाधिकारी पनि आफ्नै हिसाबले चल्नुपर्ने जिद्दी गरेकाले विभाजनमा पुगेको हो । उपेन्द्र यादव र बाबुराम भट्टराईबीच अध्यक्ष पदकै निम्ति उत्पन्न टकराव र विवादका कारण फुट भएको थियोे । विवेकशील साझा, राप्रपा आदि दलसमेत आफू नै दलको अध्यक्ष हुनुपर्ने जिरह गरेकाले विभाजित भएका हुन् ।
मान्छेले गमेर कुरा र व्यवहार गरेको देखिन्न । ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैको निम्ति मरिहत्ते नगरेको भए र प्रचण्डले पनि (सहमतिअनुसारकै भनेर मान्दा पनि) यदि आधा कार्यकालको निम्ति प्रधानमन्त्री बन्ने चाहना नराखी दोस्रो अध्यक्ष बनेर बस्न चाहेको भए सायद नेकपा विभाजित हुनबाट जोगिन सक्थ्यो (हुन त अदालतको फैसलाले विभाजन भएको हो हेर्दाखेरी) । सही तरिकाले कार्यक्षेत्र विभाजन गरेर जिम्मेवारी तोकिएको भए अन्य दल पनि फुट्नबाट जोगिन सक्ने थिए । घटनाक्रम हेर्दा जुनसुकै दलमा पनि यदि विभाजन भएको छ भने त्यो पदलोलुपताकै कारणले भएको छ । सैद्धान्तिक तथा वैचारिक मतभेदका कारण त विभाजन भएकै देखिन्न ।
ओलीजीलाई ‘बा’ नै भनेको ठीक छ, किन भनेर व्याख्या गरिरहनु पर्दैन । शेरबहादुर देउवालाई कांग्रेसीजनले दाइ भनेर संबोधन गरेजस्तै हामीले पनि उहाँहरूलाई दाइ किन नभन्ने ?
भन्दा दुःख लाग्ला तर ओलीजी आजको दिनमा पनि मलाई त्यही खेलौना चाहिन्छ भन्नेजस्तो बालजिरहबाट ग्रस्त हुनुहुन्छ । सत्तरी वर्षे प्रावधान लागू र खारेज गर्नुको अन्तर्यमा लुकेको मूल कारण पनि यही हो । माधव, प्रचण्ड, उपेन्द्र, बाबुराम र सानाभन्दा साना दलहरू माले, नेमकिपा, मशाल र सबैभन्दा सानो विप्लव सि अनि आहुतिको दलका नेताहरूमा पनि समस्या यही हो । फरक मात्राको मात्रै हो । यसरी हेर्दा यदि यी नेताले पदलोलुपता त्याग्ने हो र एक व्यक्ति एक पदमा इमानदारीपूर्वक जाने हो भने टुटफुटबाट घिस्रिरहेका वामपन्थी दललाई एकताबद्ध गर्दै देशको ठूलो र प्रभावशाली शक्ति बनाउन सम्भव छ भन्ने नै देखिन्छ । केवल पदलोलुपता र शक्तिको आशक्ति राख्नु भएन ।
एक जना आदरणीय व्यक्तित्वले मेरो वक्तव्यमा कमेन्ट गर्दै लेख्नुभएको छ ‘मलाई कमरेड भनेर नबोलाउनु’ उहाँको यो टिप्पणी मेरो निम्नलिखित वक्तव्यमा थियो– ‘यथास्थितिभन्दा माथि उठेर अलिकति प्रोग्रेसिभ हुन पनि धेरै कठिन रहेछ । वामपन्थी हुन अरू कठिन, समाजवादी हुन अझै कठिन र कम्युनिष्ट हुन त झन् मुस्किल । जति घोत्लियो, मान्छेहरू उति छद्मभेषी देखिने ! हैट गाँठे, कसरी दावा गर्दा हुन् म यो हुँ वा ऊ हुँ भनेर ?’
उमेरले ६ दशक पार गरिसकेको एक होनहार वामपन्थी व्यक्तित्वले यस्तो टिप्पणी गर्नु हामी सबैका निम्ति लाजले शिर झुकाउनुपर्ने कुरा छ । के हामी साँच्चिकै वामपन्थी हौं त ? समाजवादी हौं त ? अथवा कम्युनिष्ट हौं त ? हामी हो वा होइनौं भन्ने कुरा केही कुरालाई मानक बनाएर हेर्न सकिन्छ । पहिलो कुरा, हाम्रो साँस्कृतिक चरित्रलाई हेरौं । हाम्रो लवाइ, खवाइ, रवाफ र संगत कस्तो छ ? शिक्षा र स्वास्थ्य प्रणाली कस्तो छ ? हाम्रो बजेट नीति र बजेट कस्तो छ ? बजार नीति, कृषि नीति कस्तो छ ? बैंकिङ प्रणाली कस्तो छ ? भूउपयोग नीति कस्तो छ ? कहीँ–कतै वामपन्थी, समाजवादी झल्को देखिन्छ ? जातीय छुवाछुत सकियो ? महिला विभेद सकियो ? श्रम कानुन कस्तो छ ? सहकारी कसरी चलेको छ ? यहाँ कहीँ–कतै प्रगतिशीलताको बिज मात्रै पनि भेटिन्छ ? भेटिन्न । के नाकले हामीले आफूलाई वा अरूलाई मिलाएर म वा हामी यस्तो हुँ र उस्तो हुँ भनेर भन्छौं गाँठे । जब हामी वामपन्थी पनि होइनौं भने किन कमरेड भनेर बोलाउनु त ।
हामीले मान्छौं ओली, झलनाथ, माधव, प्रचण्ड, बाबुराम, उपेन्द्र, विप्लव, मोहनविक्रमजस्ता मानिसले उहिले पार्टी निर्माण गर्न र वामपन्थी आन्दोलनलाई बलियो बनाउन धेरै दुःख गर्नुभएको हो । उहाँहरूमध्ये केही असाध्यै गरिब पनि हुनुहुन्थ्यो । अझ केही त सर्वहारा नै हुनुहुन्थ्यो । तर, आज कोही पनि गरिब हुनुहुन्न । सर्वहारा हुने त झन् कुरै भएन । उहाँहरू सबैको आर्थिक जीवनमा धेरै उन्नति भएको छ, छलाङभन्दा हुन्छ । के खाऊँ, के लाऊँ र कहाँ बसौं भन्ने समस्याबाट धेरै माथि उठ्नुभएको छ जुन असाध्यै राम्रो पक्ष हो । अब उहाँहरू सर्वहारा त होइन नै र गरिब पनि होइन बरु धनी मान्छे हो । तर, देशमा धेरै जनता अहिले पनि सर्बहारा छन्, गरिब छन् र सुकुम्बासी नै छन् ।
के खाने, के लाउने, कहाँ बस्ने भन्ने समस्याबाट घेरिएकै छन् । यसकारण मेरो पनि तपाईंहरूप्रति प्रश्न छ, ‘हामीले पनि यहाँहरूलाई कमरेड भनेर किन संबोधन गर्ने ? वर्गीय सम्बन्ध कतै जोडिन्छ हामी बीचमा ? ओलीजीलाई ‘बा’ नै भनेको ठीक छ, किन भनेर व्याख्या गरिरहनु पर्दैन । शेरबहादुर देउवालाई कांग्रेसीजनले दाइ भनेर संबोधन गरेजस्तै हामीले पनि उहाँहरूलाई दाइ किन नभन्ने ? कम्तीमा वर्गीय नाता त प्रष्टिन्छ ।
टिप्पणीहरू